आहा रारा गोल्डकप फागुन ९ गतेदेखि आयोजना हुने

Advertisement

पोखरा । यस वर्षको आहा रारा गोल्डकप फागुन ९ देखि १९ सम्म पोखरा रंगशालामा संचालन हुने भएको छ । यस वर्ष हुन लागेको प्रतियोगिता १७ औं संस्करणको हो ।

साहारा क्लब पोखराले आयोजना गर्ने योप्रतियोगितामा पुरस्कार राशि पहिलेकोभन्दा वृद्धि गरिएको छ। विजेताले ८ लाख १ हजार र उपविजेताले ४ लाख १ हजार रुपौयाँ नगद पुरस्कार जित्ने छन्।

प्रतियोगितामा सहभागी हुने क्लबलाई आकर्षण गर्न र प्रतियोगितालाई थप महत्वपूर्ण बनाउन पुरस्कार राशि वृद्धि गरिएको आयोजक सहरा क्लब पोखरा अध्यक्ष केशवबहादुर थापाले बताए। गत संस्करणमा विजेताले ७ लाख १ हजार र उपविजेताले ३ लाख ५१ हजार पुरस्कार पाएका थिए।

नयाँ प्यारापिट निर्माण गर्ने भन्दै पोखरा रंगशालाको प्यारापिट एक वर्ष अघिदेखि भत्काइए पनि अहिलेसम्म नयाँ निर्माणको काम अघि बढेको छैन। पोखरामा संचालन हुने फुटबल प्रतियोगितामा २०—२५ हजार दर्शक फुटबल हेर्न आउने भए पनि नयाँ बन्ने प्यारापिट १७ हजार क्षमताको हुने बताइएको छ।

नयाँ बन्ने प्यारापिट कम्तीमा ४०—५० वर्षका लागि सोचेर बनाइनु पर्ने भए पनि अहिले नै अपुग हुने गरी निर्माण भएकोमा पोखरेलीले विरोध गरेका छन्। हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा हुँदै आएको प्रतियोगिताबाट १ करोड ३० लाख आम्दानी हुने र खर्च कटाएर ३२ लाख बचत हुने विश्वास रहेको क्लबका महासचिव विश्वराज बरालले बताए।

Advertisement

Advertisement

Advertisement