सात अर्बको तरकारी आयात हुँदा जम्मा ११ करोडको निर्यात

Advertisement

काठमाडौं । पाँच महिनामा तीन अर्बको आलु, दुई अर्बको प्याज, २४ करोडको गोलभेँडा र सवा करोडको बन्दा–काउली आयात

तर, बजारमा ४० रुपैयाँ किलो पर्ने बन्दा बिचौलियाले दुई रुपैयाँमा पनि नकिनेपछि किसान आफैं तरकारीबारीमै डोजर लगाउँछन्

पाँच महिनामै सवा तीन अर्बको आलु आयात
आलु भारत र बंगलादेशबाट आयात हुने गरेको छ । आलुबाट उत्पादित विभिन्न खाद्यवस्तु भने भारत र बंगलादेशबाहेक चीन, बेल्जियम, मलेसियालगायत विश्वका थुप्रै मुलुकबाट आयात हुन्छ । चालू आवको पाँच महिनामा भारतबाट तीन अर्ब २० करोड रुपैयाँको आलु आयात भएको छ । त्यस्तै, बंगलादेशबाट ५१ लाख रुपैयाँबराबरको आलु आयात भएको विभागको तथ्यांक छ । अघिल्लो वर्ष भारतबाट तीन अर्ब ३७ करोड र बंगलादेशबाट १७ करोडको आलु आयात भएको थियो । स्वदेशी आलु उत्पादन बिस्तारै बढ्दै गएको छ । व्यवसायीका अनुसार अहिले स्वदेशी उत्पादनले ६ महिनाको माग धान्ने गरेको छ । सरकारी तथ्यांकअनुसार नेपालमा वार्षिक ३० लाख ८८ हजार टन आलु उत्पादन हुने गरेको छ । तर, बाह्रै महिना आयात हुने तरकारी तथा फलफूल व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेले बताए ।

प्याजका लागि भारत र चीनमा निर्भर
प्याज भने नेपालमा भारत र चीनबाट आयात हुने गरेको छ । यद्यपि, अघिल्लो वर्ष भने इस्ले अफ म्यान नामक मुलुकबाट समेत आयात भएको देखिन्छ । चालू आवको पाँच महिनामा भारतबाट दुई अर्ब १९ करोडको प्याज आयात भएको छ । अघिल्लो आवमा भने भारतबाट तीन अर्ब ९ करोड, चीनबाट ५६ करोड ३६ लाख र इस्ले अफ म्यानबाट ११ लाख रुपैयाँको प्याज आयात भएको थियो । प्याजको उत्पादन वृद्धि गर्न सरकारको कुनै कार्यक्रम छैन । व्यवसायीका स्वदेशी उत्पादनले १ महिनाको माग पनि धान्न सक्दैन । ‘हाम्रो उत्पादन कुल मागको ५ प्रतिशतजति मात्र छ,’ व्यवसायी घिमिरेले भने ।

करोडौँको गोलभेँडा आयात
नेपालमा सबैभन्दा बढी गोलभेँडा भारतबाट आयात हुने गरेको छ । यद्यपि, सानो परिमाणमा चीन, इटलीलगायत मुलुकबाट पनि गोलभेँडा आउने गरेको छ । भन्सार विभागका अनुसार गत पाँच महिनामा नेपालले भारतबाट २४ करोड रुपैयाँको गोलभेँडा आयात गरेको छ । त्यस्तै, चीनबाट १६ लाख र इटलीबाट २३ लाख रुपैयाँको गोलभेँडा आयात गरेको विभागको तथ्यांक छ ।

व्यवसायीका अनुसार कुल मागको ६० प्रतिशत गोलभेँडा स्वदेशी उत्पादनले धान्ने गरेको छ । अर्थात् वर्षभरमा सात महिना स्वदेशकै गोलभेँडा खपत हुने स्थिति बनेको छ ।

सवा करोडको काउली र बन्दा आयात
चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा नेपालमा ३५ लाख ८९ हजार रुपैयाँबराबरको २ लाख ५८ हजार केजी काउली आयात भएको छ । त्यस्तै, २ लाख ६० हजार रुपैयाँबराबरको २३ हजार केजी बन्दा आयात भएको छ । अघिल्लो आर्थिक वर्ष ०७४र७५ मा नेपालमा ६५ लाख ६९ हजार रुपैयाँबराबरको ४ लाख ५४ हजार केजी काउली र ६१ लाख २४ हजारको ५ लाख ७६ हजार केजी बन्दा आयात भएको भन्सार विभागको तथ्यांक छ ।

काउली र बन्दामा मुलुक आत्मनिर्भर छ । कहिलेकाहीँ थोरै मात्रामा आयात हुने गरेको व्यवसायीले बताए । ‘काउली, बन्दा, मूला र हरियो सागपातमा मुलुक आत्मनिर्भर छ,’ घिमिरेले भने ।

चीनबाट वर्षमा साढे चार अर्बको र भारतबाट ९३ करोडको स्याउ आयात, अमेरिकाबाट अढाई करोडको स्याउ आयो
तर, जुम्ला, हुम्लाका स्याउले बजार पाएन, एक रुपैयाँको पनि नेपाली स्याउ निर्यात भएन

  • स्याउ चीन, भारत, इटली, थाइल्यान्ड, नामिबिया र अमेरिकाबाट आयात हुन्छ । चालू आर्थिक वर्षको पाँच महिनामा नेपालले चीनबाट १ अर्ब ३१ करोड, भारतबाट १ अर्ब २५ करोड, नामिबियाबाट ६९ हजार र इटलीबाट २ लाख ३९ हजार रुपैयाँको स्याउ आयात गरेको छ । अघिल्लो आवमा चीनबाट ४ अर्ब ६६ करोड, भारतबाट ९३ करोड ७६ लाख, अमेरिकाबाट २ करोड ६१ लाख, इटलीबाट ४ लाख ९६ हजार र थाइल्यान्डबाट २ लाख ५१ हजार रुपैयाँको स्याउ आयात भएको विभागको तथ्यांक छ । मुलुकमा उत्पादित स्याउले कुल मागको ५ प्रतिशत पनि धान्न सकेको छैन । अहिले स्याउ उत्पादनमा सरकारले विशेष कार्यक्रम ल्याएको छ । १ वर्षमै उत्पादन दिने १ लाख स्याउका बिरुवा आयात गरी किसानलाई वितरण गर्ने सरकारी योजना छ ।

  • चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा नेपालमा ५ अर्ब ७१ करोडको फलफूल आयात भएको छ । भन्सार विभागका अनुसार सबैभन्दा बढी २ अर्ब ५६ करोडको स्याउ आयात भएको छ । त्यस्तै, ५९ करोडको केरा, १७ करोडको आँप, ३२ करोडको सुन्तला र ३० करोडको कागती आयात भएको छ । विभागका अनुसार अघिल्लो आर्थिक वर्षमा नेपालमा ९ अर्ब रुपैयाँबराबरको फलफूल आयात भएको थियो । गत वर्षमा ५ अर्ब ६३ करोडको स्याउ, ५३ करोडको केरा, ८९ करोड ४७ लाखको अंगुर, १६ करोड १२ लाखको खरबुजा, १ करोडको भुइँकटहर, ९ करोडको नासपाती, ५२ करोडको आँप, ५७ करोडको सुन्तला, ४३ करोडको कागती, ४० करोडको नरिवल, १ अर्ब ४० करोडको अन्य फलफूललगायत आयात गरेको थियो । सोही अवधिमा चिया र कफीमै १८ करोड ६८ लाख रुपैयाँ बिदेसिएको छ ।

  • तर, फलफूलमा मुलुकले प्रगति गर्दै आएको व्यवसायी बताउँछन् । व्यवसायीका अनुसार अहिले ७५ प्रतिशत माग स्वदेशी उत्पादनले धानिरहेको छ ।


विदेशबाट एक अर्ब ८२ करोडको दूध आयात तर, नेपाली किसानले बजार नपाएर सडकमा पोख्छन् दूध

भारतदेखि बेल्जियम, बेलारुस, बेलायत,अस्ट्रेलियासम्मको दूध नेपाली बजारमा

नेपाली किसान उचित मूल्य र बजार नपाएको भन्दै सडकमै दूध पोख्न बाध्य छन् । बजारमा भने विश्वका थुप्रै मुलुकबाट पाउडर, क्रिम, लिक्विडलगायत विभिन्न रूपमा दूध आयात हुने गरेको छ । पछिल्ला पाँच महिनामा नेपालले ४४ करोड रुपैयाँबराबरको दूध आयात गरेको छ । यस अवधिमा भारतबाट ३२ करोड, बेलारुसबाट ३ करोड, बेल्जियमबाट १ करोड, पोल्यान्डबाट २ करोड, न्युजिल्यान्डबाट ७७ लाख, बेलायतबाट ८९ लाख, स्विडेनबाट ९९ लाख, अस्ट्रेलियाबाट ५६ लाख, नेदरल्यान्डबाट ३८ लाख, मलेसियाबाट ३१ लाख र थाइल्यान्डबाट १२ लाख रुपैयाँबराबरको दूध आयात भएको छ । अघिल्लो आवमा नेपालले कुल १ अर्ब ८२ करोड रुपैयाँबराबरको दूध आयात गरेको थियो ।

दूधमा मुलुक आत्मनिर्भरउन्मुख छ । अहिले वार्षिक रूपमा २० लाख ७० हजार मेट्रिकटन उत्पादन भइरहेको राष्ट्रिय दुग्ध विकास बोर्डका निमित्त कार्यकारी निर्देशक बाबुकाजी पन्तले बताए । उनका अनुसार आत्मनिर्भर हुन २५ लाख मेट्रिकटन उत्पादन चाहिन्छ । ‘व्यावसायिक पशुपालन बढ्दै गएका कारण दूधमा आत्मनिर्भर हुने स्थिति छ,’ उनले भने ।

नयाँ पत्रिका दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement