काठमाडौं । तस्करहरुले सेटिङमा ल्याएको सुपारी, पोस्ता दानालगायतका सामग्रीहरु भन्सार विभागले लिलामी प्रक्रिया सुरु गरेको छ । लामो समयसम्म भन्सार र्याडमा सामान रहेपछि विभागले चेकजाँच गरी लिलामी प्रक्रिया अघि बढाएको हो ।
विभागले सुख्खा भन्सार कार्यालयअन्तर्गत रहेका कन्टेनरहरुको भौतिकरुपमा परीक्षण गरी सामान लिलामी प्रक्रिया सुरु गरेको हो । यसरी भन्सार र्याडमा तीन सयभन्दा बढी कन्टेनरको भौतिक परीक्षण गर्दा सुपारी, पोस्तालगायत सामग्री भेटिएको थियो ।
सामान दाबी गर्न र भन्सार छुटाएर लैजान कार्यालयले सूचना समेत निकालेको थियो । सूचनामा व्यवसायीहरुले कुनै पनि चासो नदिएपछि लिलामी प्रक्रिया सुरु गरेको विभागको भनाई छ ।
लिलामी सूचना अनुसार कार्यालयले पोस्ता दानाको प्रतिकिलो मूल्य एक हजार ९०१ रुपियाँ तोकेको छ भने सुपारीको आठ सय रुपियाँ तोकिएको छ ।
यो सामान खरीद गर्न कार्यालयमा गोप्य सिलबन्दीसहित निवेदन दिनुपर्नेछ । ती सामान सेटिङमा छुटाउनका लागि तस्करहरुले ठूलो प्रयास गरेको विभागका कर्मचारीहरुको भनाई छ । सेटिङबारे
भन्सार विभागको ‘वाइड एरिया नेटवर्क’ (वान) शाखाले पत्ता लगाएर जाँचपास गर्न रोक लगाएको थियो ।
सुख्खा बन्दरगाह कार्यालयको प्रमुखमा डा. रामप्रसाद मैनाली गएपछि सामानको अनुगमन गरी लिलामीमा राखेका हुन् । भन्सारमा जुनसुकै प्रकृतिको महसुल चुहावटलाई कडाईका साथ नियमन गरिरहेको विभागका महानिर्देशक शोभाकान्त पौडेलले बताए ।