ताप्लेजुङ दुर्घटनाप्रति निजी क्षेत्रले पनि शोक जनायो

Advertisement

काठमाडौं । निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरुले ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनाप्रति शोक प्रकट गरेका छन् । नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्शले उक्त घटनाप्रतिश दुःख व्यक्त गरेका हुन् ।

ताप्लेजुङको पाथीभरा मन्दिर नजिक बुधबार भएको एयर डाइनेष्टीको हेलिकप्टर दूर्घटनामा पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारी, पर्यटन व्यवसायी आङछिरिङ शेर्पा र नागरिक उड्डयन प्राधिकरणका उच्च अधिकृतहरूसहित सात जनाको निधन भएको थियो ।

महासंघले यस खवरले आफू स्तव्ध भएको भन्दै दुर्घटनाबाट मुलुकलाई अपुरणीय क्षति पुग्न गएको बताएको छ । महासंघले यस दुःखद घडीमा, दुर्घटनामा परी ज्यान गुमाउनेहरूको परिवारजनमा पर्न गएको असह्य पीडाप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।

परिसंघले अकल्पनीय र अप्रत्याशित दुर्घटनाबाट देशले अपुरणीय क्षति व्यहोनु परेको बताएको छ । नेपालले एक उदीयमान मुलुक र जनताका लागि सदैव समर्पित, विकासप्रेमी युवा राजनीतिज्ञ, नेपालको पर्यटन एवं उड्डयन क्षेत्रको विकासमा समर्पित एक सफल उद्यमी तथा कर्तव्यनिष्ठ राष्ट्र सेवकहरु गुमाउनुपरेको परिसंघको भनाई छ ।

यस्तै चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले पर्यटन क्षेत्रमा केही गरौं भन्ने सोच भएको युवा राजनीतिज्ञसहित पर्यटन व्यवसायी, राष्ट्रसेवक कर्मचारीसहित सात जनाएको अकल्पनीय निधनबाट मुलुकलाई ठूलो क्षति भएको बताए ।

उनले मन्त्री अधिकारीले अघि बढाएका पर्यटन विकासका कामलाई सफल बनाउन सरकार लाग्नुपर्ने बताए । श्रेष्ठले शोकको यस घडिमा मृतकका परिवारजनलाई धैयधारणको लागि आग्रह पनि गरे ।

Advertisement

Advertisement

Advertisement