फिलिपिन्सको ग्रीनर्जी सोलुसनद्धारा ५५० मेगावाट सौर्य ऊर्जा उत्पादन गर्न प्रस्ताव

Advertisement

काठमाडौं । फिलिपिन्सको ग्रीनर्जी सोलुसनले नेपालका सातै वटा प्रदेशमा ५ सय ५० मेगावाटको सौर्य ऊर्जा (सोलार) आयोजना निर्माण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव कम्पनीले लगानी बोर्ड नेपालमा दर्ता गराएको छ । बिहीबार कम्पनीको तर्फबाट अध्यक्ष रुथ पी ब्रीनसले हस्ताक्षर गरेको प्रस्ताव बोर्डमा दर्ता भएको हो ।

यो कम्पनी फिलिपिन्समा २५ वर्षदेखि नवीकरणीय ऊर्जाका आयोजनाको निर्माणमा संलग्न छ । कम्पनीले फिलिपिन्समा सरकारसँगको सहकार्यमा ७ सय मेगावाटभन्दा बढीको सोलार आयोजना निर्माण गरिसकेको छ ।

फिलिपिन्सको यो कम्पनीले सातै प्रदेशमा ५५० मेगावाटको सोलार आयोजना निर्माण गर्ने गरी प्रस्ताव गरेको कम्पनीका अपरेसन डाइरेक्टर नगेन्द्र चुडालले जानकारी दिए । उनका अनुसार कम्पनीले प्रदेश–१ को सुनसरीमा १ सय मेगावाट, प्रदेश–२ को सर्लाहीमा १ सय, प्रदेश–३ को चितवनमा १ सय, प्रदेश–४ को तनहुँमा ५०, प्रदेश–५ को नवलपरासीमा ५०, प्रदेश–६ को जुम्लामा १ सय र प्रदेश–७ को दिपायलमा ५० मेगावाटको सोलार आयोजना निर्माण हुनेछन् ।

कम्पनीले प्रतिमेगावाट सोलारका लागि ३९ रोपनी जग्गा आवश्यकता हुने भएकोले सबै सोलार आयोजनाका लागि २१ हजार ४ सय ५० रोपनी जग्गा तथा प्रतिमेगावाट १६ करोड बराबर करिब ८८ अर्ब लगानी आवश्यक रहेको अनुमान गरेको छ । कँडेल सबै लगानी फिलिपिन्स कम्पनीले नै लगानी गर्ने तथा यतिधेरै लगानीमा बन्न लागेको नेपालकै पहिलो हुने बताउँछन् । हाइब्रिड प्रविधिको सो सोलार ब्याट्री ब्याकअप राखेर २४ घण्टाका लागि उपयोग गर्न सकिनेछ । कम्पनीले सर्भे अनुमतिपत्र (लाइसेन्स) दिएपछि चार वर्षभित्र निर्माण गरिसक्ने लक्ष्य राखेको छ ।

Advertisement

Advertisement

Advertisement