सुरुङमार्ग बनाउन चिनियाँ लगानी जुटाएको पूर्वाधार कम्पनीमा नयाँ सञ्चालकहरु

Advertisement

काठमाडौं । काठमाडौं–हेटौंडा सुरुङमार्ग निर्माणको जिम्मा पाएको नेपाल पूर्वाधार विकास कम्पनीमा अधिकांश सञ्चालकहरु बाहिरिएका छन् ।

गएको शनिबार विशेष साधारणसभा गरेको कम्पनीले अर्को बार्षिक साधारणसभा नभएसम्मका लागि पाँच सदस्यीय तदर्थ सञ्चालक समिति बनाउने प्रस्ताव पास गरेको थियो । सभाले भवन भट्टलाई संयोजक तोक्नुका साथै बाँकी सञ्चालकहरु चयन गर्न अधिकार दिएको थियो ।

सोही अनुसार बार्षिक साधारणसभाबाट नयाँ सञ्चालक समिति निर्वाचित नभएसम्मका लागि भट्ट नेतृत्वमा सुवाश ठकुरी र नविन कँडेललाई सञ्चालक चयन गरिएको छ । बाँकी दुई जना सञ्चालक नयाँ लगानीकर्ताबाट चयन गरिने ठकुरीले जानकारी दिए ।

काम चलाउ सञ्चालक समितिमा यसअघि अध्यक्ष भइसकेका कुशकुमार जोशी र लाल केसी पनि रहने बताइए पनि भट्टले उनीहरुलाई ल्याएनन् । यसअघि सञ्चालक रहेका नुगलआनन्द बैद्य, सुकुन्तलाल हिराचन, जयराम लामिछानेलगायतले भने सहमतिमा पद छोडेका थिए ।

भट्ट गैरआवासीय नेपाली संघका अध्यक्ष पनि हुन् । कम्पनीमा सबैभन्दा धेरै लगानी गरेका भट्टले यसअघि संघको निर्वाचनको बेला कम्पनीको अध्यक्षबाट राजीनामा दिए पनि संघको चुनाव जितेपछि उनी फेरि अध्यक्षमा कायम रहन सफल भएका छन् ।

निजी क्षेत्रबाट पहिलो पटक पूर्वाधार क्षेत्रमा लगानी हुन लागेको काठमाडौं–हेटौंडा सुरुङमार्ग परियोजना पूर्वाधार कम्पनीले पाए पनि यसअघि तोकिएको समयमा आन्तरिक मुलुकभित्रबाट लगानी जुटाउन नसकेपछि आयोजना अन्योलमा परेको थियो ।

अहिले भने चिनियाँ कम्पनी पावर चाइनाले ९५ प्रतिशत लगानी गर्ने सहमति जनाएपछि आयोजना बन्ने आशा बढेर गएको छ । केन्द्र र प्रदेश राजधानीलाई जोड्ने महत्वपूर्ण सडक भएकोले प्रदेश ३ सरकारले यो आयोजना निर्माणलाई महत्व दिँदै आएको छ ।

Advertisement

Advertisement

Advertisement