केसरी फिल्मको पाँच दिनको कमाई ८६ करोड

काठमाडौँ । बलिउड सुपरस्टार अक्षय कुमारको नयाँ फिल्म ‘केसरी’ ले पाँच दिनमा घरेलु बजारमा कुल ८६ करोड ३२ लाख भारु कमाएको छ ।

मार्केट एनालिस्ट तरन आदर्शका अनुसार, फिल्मले पहिलो दिन २१ करोड ६ लाख, दोस्रो दिन १६ करोड ७० लाख, तेस्रो दिन १८ करोड ७५ लाख, चौथो दिन २१ करोड ५१ लाख र पाँचौ दिन ८ करोड २५ लाख कलेक्सन गरेको छ । होलिको अवसर पारेर रिलिज भएको फिल्म सय करोडको आँकडा पार गर्ने सम्भावना देखाएको छ ।

पहिलो दिन २१ करोड ६ लाख कमाउँदै यस फिल्मले २०१९ को सबैभन्दा ठूलो ओपनिङको रेकर्ड आफ्नो नाम गरेको छ । तीन दिनमा ५० करोडको आँकडा पार गर्ने पनि यो यस वर्षको पहिलो फिल्म बनेको छ । चार दिनमा ७५ कमाउने र ओपनिङ विकेन्डमा सबैभन्दा बढी कमाउने फिल्म पनि ‘केसरी’ बन्न सफल भएको छ ।

फिल्ममा अक्षयले हवलदार ईशर सिंहको भूमिका निभाएका छन् । उनको अपोजिटमा परिणिति चोपडा छिन् । सारागढीको ऐतिहासिक युद्धमा आधारित छ, जसमा ब्रिटिश इन्डिया आर्मीका मात्र २१ सिख सैनिकले १० हजार अफगानीसँग लडाइँ लडेका थिए । फिल्मको निर्माण करण जौहरको प्रोडक्सनले गरेको हो ।