भ्रष्टाचार प्रकरणमा मुछिएका आफ्ना पूर्वआयुक्तविरुद्ध मुद्दा दायर गर्ने अख्तियारको निर्णय

Advertisement

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार प्रकरणमा मुछिएका आफ्नै पूर्वआयुक्त राजनारायण पाठकविरुद्ध विशेष अदालतमा मुद्दा दायर गर्ने निर्णय गरेको छ । पाठकले नेपाल इन्जिनियरिङ कलेका सञ्चालक लम्बोदर न्यौपानेसँग ७८ लाख रुपियाँ घुस लिएको तथ्य बाहिरिएको थियो ।

उक्त घटनाको भिडियो र अडियो बाहिर आएपछि अख्तियारले पाठकको छानविन गर्न छुट्टै टोली नै बनाएको थियो । सोही टोलीको अनुसन्धानका आधारमा अख्तियारका बैठकले मंगलबार भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय गरेको हो। निर्णय अनुसार पाठक र नेपाल इन्जिनियरिङ कलेका सञ्चालक लम्बोदर न्यौपानेलाई विपक्षी बनाई ७८ लाखको मुद्दा दायर गर्ने निर्णय भएको अख्तियारले जनाएको छ ।

अख्तियारले सोही प्रकरणको बयानका लागि पाठक र न्यौपानेलाई पनि बोलाएको थियो । बयान लिने क्रममा न्यौपाने भने फरार भएका छन् । उनी अहिले भारतमा रहेको प्रहरीको अनुमान छ । लामो समयदेखि विवादमा रहेको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेज सामाजिक संस्थाअन्तर्गत रहे पनि यसलाई निजी बनाउन न्यौपानेले प्रयास गर्दै आएका थिए । सोही विषयमा अख्तियारमा परेको मुद्दा मिलाइदिने बहानामा पाठकले उनीसँग ७८ लाख रुपियाँ घुस लिएका थिए । घुस लिएको तथ्य बाहिर आएसँगै चौतर्फी दबाबपछि पाठकले राजीनमा दिएका थिए ।

Advertisement

Advertisement

Advertisement