मुलुकलाई आर्थिक रुपले सबल र आत्मनिर्भर बनाउनका लागि लगानीको आवश्यक छ: अर्थमन्त्री खतिवडा

Advertisement

काठमाडौं।  अर्थमन्त्री युवराज खतिवडाले लगानीकर्ताको सानो लगानीले पनि नेपालमा ठूलो प्रभाव पर्न सक्ने बताउँदै लगानी अनुकुल वातावरण बनेकाले निर्धक्कका साथ नेपालमा लगानी गर्न विदेशी लगानीकर्तालाई आव्हान गरेका छन  ।

सरकारले अघि सारेको समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य हासिल गर्नका लागि स्वदेशी पूँजी र प्रविधि प्रर्याप्त नभएकाले विदेशी लगानीका लागि आव्हान गरिएको बताएका छन्।

काठमाण्डौमा आजदेखि सुरु भएको लगानी सम्मेलन २०१९का सहभागीलाई स्वागत गर्दै अर्थमन्त्री खतिवडाले स्थिर सरकारसँगै देशमामा संघीयताको सफल कार्यान्वयन भइसकेकाले लगानीका लागि उपयुक्त वातावरण बनेको बताए ।

लगानी सम्मेलनका संयोजक समेत रहेका अर्थमन्त्री खतिवडाले विदेशी लगानी सम्बन्धी कानुनी जटिलताको पनि अन्त्य भएको तथा लगानीका दृष्टिले प्रसस्त संभावना बोकेको देश भएकाले निर्धक्कका साथ लगानी गर्न आग्रह गरे ।

उनले लगानी सम्बन्धी कानुन परिमार्जन गरिएको, संभावनाका परियोजनाहरु नै प्रस्ताव गरिएको तथा सरकारी निजी साझेदारी अवधारणा अनुसार काम गर्न सरकार तयार रहेको भन्दै भौतिक पूर्वाधार निर्माण, औद्योगीकरण, रोजगारीमा वृद्धि तथा निर्यातमा वृद्धि गरी आयात प्रतिस्थापन गर्दै मुलुकलाई आर्थिक रुपले सबल र आत्मनिर्भर बनाउनका लागि लगानीको आवश्यकता परेको बताए  ।

उनले दोहोरो अंकको आर्थिक वृद्धि हासिलसँगै दीगो विकासको लक्ष प्राप्तिका लागि सरकार प्रतिबद्ध रहेको र यही अनुसार लगानी सम्बन्धी कानुन परिमार्जन तथा कर प्रणालीलाई पारदर्शी र सहज बनाउँदै लगिएको बताए  ।

सम्मेलनमा पूर्व अर्थमन्त्री डा. रामशरण महतले नेपालले व्यहोर्दै आएको व्यापार घाटा कम गर्न विदेशी लगानी आवश्यक रहेको  बताएका छन् । लगानी सम्मेलनमा बोल्दै डा. महतले हाल नेपालमा ठूलो व्यापार घाटा रहेको र त्यसलाई घटाउन स्वदेशी र विदेशी लगानी दुवै महत्वपूर्ण रहेको उनले बताए ।

आर्थिक समृद्धिका लागि स्वदेशी लगानीले मात्र नपुग्ने भएकाले वैदेशिक लगानी भित्र्याउन आवश्यक रहेको उनको भनाई छ । दुई दशकदेखि नेपालीले भोगेको राजनीतिक तथा प्राकृतिक अप्ठेरो अन्त्य भएको र अबको बाटो आर्थिक समृद्धिलाई बनाउनुपर्ने डा. महतले जोड दिए ।

Advertisement

Advertisement

Advertisement