नेपाली चियाको अन्तर्राष्ट्रिय बजारमा माग बढ्दै, पाँच बर्षमा १३ अर्बको निर्यात

Advertisement

काठमाडौं । बढ्दो सहरीकरण र कृषि श्रमिकको अभावमा कृषियोग्य भूमि घट्दो दरमा रहे पनि चियाले ओगटेको क्षेत्र भने निरन्तर बढ्दो क्रममा रहेको छ । नेपालमा मौलाउँदो चिया संस्कृति र विदेशमा बढ्दो मागका कारण चिया रोपणको क्षेत्र, उत्पादन र निर्यातसमेत बढ्दो दरमा देखिएको हो ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो पाँच वर्षमा मात्र १२ अर्व ९४ करोड ४० लाख रकम बराबरको चिया निर्यात भएको छ । गत वर्ष मात्र ३ अर्व २५ करोड मूल्य बराबरको १५ हजार ६८५ टन निर्यात भएको छ । बोर्डले २३ औं राष्ट्रिय चिया दिवसको अवसरमा चियासम्बन्धी तथ्यांक सार्वजनिक गरेको छ । आइतबार ‘समृद्ध नेपाल र सुखी नेपालीको अभियानमा चिया उद्योगको विकास र संरक्षण गरौं’ भन्ने मूल नाराकासाथ चिया दिवस मनाइएको छ । चिया दिवसको अवसरमा आयोजित कार्यक्रममा कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनालले उत्पादन तथा बजारीकरणलाई प्रवद्र्धनलाई सरकारले प्राथमिकतामा राखेको बताए ।

बोर्डका अनुसार पछिल्लो पाँच वर्षमा मात्र थप साढे ८ हजार हेक्टर क्षेत्रमा चिया रोपिएको हो । आर्थिक वर्ष ०७०(७१ मा २० हजार हेक्टरमा चिया खेती भएकोमा निरन्तर बढ्दै गत वर्ष मुलुकभर २८ हजार ५९५ हेक्टर क्षेत्रमा चिया रोपिएको छ । आर्थिक वर्ष ०७१।७२ मा २६ हजार १६५ हेक्टरमा चिया रोपिएकोमा आव ०७२।७३ मा २७ हजार ६८८ हेक्टरमा र आव ०७३।७४ मा २८ हजार २४१ हेक्टरमा चिया खेती गरिएको थियो । पूर्वका झापा, इलाम, पाँचथर, धनकुटा र तेह्रथुम जिल्लाहरु केन्द्रीत हरेको चिया खेती हाल दोलखा, रामेछाप, सिन्धुपाल्चोक, ललितपुर, कास्की, लमजुङलगायत जिल्लाहरुमा समेत उत्साहजनक रूपमा विस्तार भएको छ ।

पछिल्लो पाँच वर्षअघिको तुलनामा वार्षिक उत्पादनमा ७ हजार सात सय मेटनले बढोत्तरी भएको छ । आव ०७०(७१ मा २१ हजार ७६ टन उत्पादन भएकोमा गत वर्ष मात्र २४ हजार ८०४ मेट्रिक टन चिया उत्पादन भएको बोर्र्डले जनाएको छ । नगद आम्दानी हुने भएको र स्वदेश तथा विदेशमा पनि बजार प्रयाप्त रहेकाले चियाखेतीमा किसानहरुको आकर्षण बढ्दो देखिएको बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमले बताए । “श्रमिकको ज्याला व्यवस्थापन र अन्तर्राष्ट्रियस्तरमा बजारीकरणको चुनौतीका रूपमा लिएका छौं,” उनले भने, “देखिएको किसान, मजदुर र उद्योगीका समस्या समाधान गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय बजार विस्तारमा हामीले निरन्तर कार्यक्रमहरु गर्दै आएका छौं ।”

नेपालमा विशेषगरी अर्थोडक्स र सिटिसी चिया उत्पादन गरिँदै आएको छ । उत्पादित चियामध्ये १८ हजार ८ सय मेटन सिटिसी ५ हजार ९ सय मेटन अर्थोडक्स चियाको उत्पादन भएको अवस्था थियो । चिया उत्पादन हुने क्षेत्रमध्ये १३ हजार ९ सय २७ हेक्टरमा साना किसानले चिया उत्पादन गरिरहेका छन् । “साना चिया किसानहरुको संख्या करिब १५ हजार १ सय पुगेको छ,” बोर्डका योजना अधिकृत गौरव लुँइटेलले भने, “हाल तराईमा ३२ वटा सिटिसी र २ वटा अर्थोडक्स चिया प्रशोधन केन्द्रहरु र पहाडमा ३१ वटा ठूला तथा मझौला अर्थोडक्स चिया प्रशोधन केन्द्र सञ्चालनमा रहेका छन् ।” बोर्डले तीनै तहका सरकारसँग सहकार्य गरेर चिया प्रवद्र्धनका काम गरिरहेको बताए ।

पछिल्लो समयमा स्पेसियल्टी र ग्रीन टिको माग परिपूर्ति गर्न एक सयभन्दा बढी लघु चिया प्रशोधन केन्द्र सञ्चालनमा आएको बोर्डले जनाएको छ । “विदेशमा स्पेसियाल्टी र ग्रीन टीको अत्यधिक माग छ, हामीले जति उत्पादन गरे पछि विदेशमा विक्री गर्न सक्छौ तर गुणस्तरमा भने ध्यान दिनुपर्छ,” युवा उद्यमी चिरण दाहालले भने । उनले राजधानीको ठमेलमा खोलेको टिबार चियालयमा स्पेसियल्टी र ग्रीन टि खानेहरुको भीड नै लाग्ने गरेको देखिन्छ । उनी चिया निर्यातसमेत गर्छन् । चिया उद्योगले मात्र करिब ६० हजार श्रमिकलाई प्रत्यक्ष रोजगारी दिइरहेको तथ्यांक छ । चिया प्रवद्र्धनका लागि नेपाली अर्थोडक्स चियाको ट्रेडमार्क कार्यान्वयनका लागि निर्देशिका तयार भइसकेको बोर्डले जनाएको छ ।

कारोबार दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement