तनहुँकाे एउटै वडाका किसानले  बेचे पाँच करोडकाे सुन्तला

Advertisement

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका–२, उमाचोकका किसानले यसवर्ष सुन्तला बिक्री गरेर पाँच करोड रूपियाँभन्दा बढी रकम भित्र्याएका छन् । गत वर्षभन्दा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको उमाचोक सुन्तला ब्लक सञ्चालक समितिले जनाएको छ ।

समितिका अध्यक्ष निर्मल अधिकारीका अनुसार गत वर्ष चार करोड ५० लाखको बिक्री भएकोमा यस वर्ष पाँच करोड बढीको बिक्री भएको छ । यसवर्ष दाना ठूला लागेका र धेरै फलेकाले बढी आम्दानी भएको अधिकारी बताउँछन् । 

Advertisement

बिक्रीका लागि कुनै समस्या नभएको र ठेकदार गाउँमै आएर व्यापारीले सुन्तला खरिद गरी लगेको उहाँको भनाइ छ । यहाँ उत्पादित अधिकांश सुन्तला काठमाडौंका व्यापारीले लैजाने गरेका छन् ।

सुन्तला खरिदका लागि व्यापारी बगैँचासम्म पुग्ने गरेका छन् । काठमाडौंका अलवा पोखरा, नारायणगढ लगायत जिल्लामा यहाँको सुन्तला बिक्री हुने गरेको छ । यसका साथै जिल्लाकै आँबुखैरेनी, डुम्रे, दमौली, दुलेगौडा, खैरेनीटार, भिमादलगायत ठाउँमा समेत उमाचोकको सुन्तला बिक्री हुने कृषकहरु बताउँछन् ।

सुन्तला मीठो र दाना पनि ठुला भएकाले सुन्तलाका ठेकेदारहरु  गाउँसम्मै लिन आउने गरेको अध्यक्ष अधिकारीले जानकारी दिए । यहाँको ब्लक क्षेत्रमा १५० हेक्टर जमिनमा सुन्तला खेती भइरहेको र २३५ घर आबद्ध भएका छन् भने ३० हजारभन्दा विरुवा लगाइएको समितिले जनाएको छ ।

तनहुँका किसानले मनग्य आम्दानी गर्दै आएका छन् । यसवर्ष मूल्य र उत्पादन बढेपछि किसान खुसी भएका छन् । यो वर्ष यहाँका कृषक यस वर्ष ३० करोड रुपियाँ आम्दानी लिएका छन् । उत्पादन र मूल्यामा वृद्धि सुन्तला खेतीमा विस्तार भएकोले गत वर्षभन्दा चार करोड सुन्तला बढी बिक्री भएको कृषि ज्ञान केन्द्र तनहुँका सूचना अधिकारी किरण परियारले बताए । 

खेतीबाट राम्रो अम्दानी हुन थालेपछि यस खेतीतर्फ आकर्षित हुन थालेकाले जिल्लामा सुन्तला उत्पादनमा वृद्धि हुँदै गएको परियारले बताए । परियारले भने, ‘‘गत वर्ष २६ करोड रुपियाँ आम्दानी गरेका थिए यस वर्ष चार करोड वृद्धि भएर ३० करोड बिक्री भएको छ ।’

जिल्लामा आर्थिक वर्ष २०७९/८० मा एक हजार छ सय ८७ हेक्टरमा खेती गरिएकोमा नौ हजार आठ सय छ मेट्रिक टन सुन्तला उत्पादन गरि २६ करोड आम्दानी गरेको यो वर्ष तथ्याङ्क सङ्कलनका क्रममा चार करोड रुपियाँ आम्दानीमा वृद्धि भएको पाइएको सूचना अधिकारी परियारको भनाइ छ । 

आव २०७८/७९ मा नौ हजार पाँच सय दश मेट्रिक टन सुन्तला उत्पादन भएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार मनग्य आम्दानी हुन थालेपछि कृषक सुन्तला खेतीमा आकर्षित हुँदै गएका छन् । जिल्लाका आठ हजार पाँच सय ७० हेक्टर क्षेत्रफलमा सुन्तला खेती विस्तारको सम्भावना रहेको छ । केन्द्रले सुन्तला खेती कृषकलाई बगैँचा व्यवस्थापनमा सहयोग गर्दै आएको छ । कृषकलाई प्रोत्साहन गर्न बगैँचामै पुगेर पनि आवश्यक परामर्श दिईने गरिएको छ ।

देवघाट गाउँपालिका–२ र ३, आँबुखैरेनी गाउँपालिका–५, म्याग्दे गाउँपालिका–४, व्यास नगरपालिका–७, १३ र १४, भिमाद नगरपालिका–८ र ९, बन्दीपुर गाउँपालिका–३, ऋषिङ गाउँपालिका–३ र घिरिङ गाउँपालिकामा सुन्तला खेती विस्तारको सम्भावना छ । कृषकलाई उत्साहित बनाउनका लागि बगैंचा व्यवस्थापना मद्दत गरिएको कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख गोपालप्रसाद लामिछानेले जानकारी दिए । उनले खाल्टो खन्न, सिँचाइका लागि पोखरी बनाउन, अनावश्यक हाँगाहरु काट्ने मेसिन तथा घरदैलोमा ने पुगेर प्राविधिक ज्ञान दिने गरिएको बताए । 

Advertisement

Advertisement