एनसेलको आम्दानी र नाफा दुवै घट्यो

Advertisement

काठमाडौँ । टेलिकम सेवा प्रदायक एनसेलको आम्दानी र नाफा दुवै घटेको छ । एनसेलको मातृ कम्पनी आजियटाले सार्वजनिक गरेको सन् २०१८ को वार्षिक प्रतिवेदनमा नेपाल सरकारले बढाएको करको दायराका कारण नाफा घटेको दाबी गरिएको छ । एनसेलले गत वर्ष ५७ अर्ब ५० करोड आम्दानी गरेको थियो । सबै कर भुक्तानीपछिको नाफा १५ अर्ब ३० करोड मात्रै भएको तथ्यांक सार्वजनिक गरिएको छ ।

यो आम्दानी र नाफाको तथ्यांक सन् २०१७ को भन्दा कम हो । सन् २०१७ मा एनसेलले ५८ अर्ब बढी आम्दानी गरी करिब १९ अर्ब नाफा कमाएको थियो ।चालु आर्थिक वर्षमा सरकारले भ्वाइस सेवातर्फको दूरसञ्चार सेवा दस्तुर ११ प्रतिशतबाट बढाएर १३ प्रतिशत र्पुयाएको थियो ।

यस्तै टेलिकम कम्पनीको डाटातर्फ पनि १३ प्रतिशत दूरसञ्चार सेवा दस्तुर लगाउने निर्णय गरेको थियो । डाटामा सरकारले एकैपटक १३ प्रतिशत दस्तुर लगाउने निर्णय गरे पनि एनसेलसहित नेपालमा सञ्चालित सेवा प्रदायकले यसको मूल्य बढाएका छैनन् । एनसेलले पनि सरकारले थप गरेको सेवा शुल्क आफ्नै आम्दानीबाट तिर्ने घोषणा गरेको थियो ।

यो वर्ष टेलिकम कम्पनीको कर्पोरेट करको दायरा पनि २५ प्रतिशतबाट बढाएर ३० प्रतिशत र्पुयाएको छ । यसलाई पनि कम्पनीले आफ्नो नाफा घट्नुको कारण मानेको छ । नेपालमा सञ्चालित अधिकांश टेलिकम कम्पनीको आईएलडीबाट हुने आम्दानी घट्दो छ ।

अहिले इन्टरनेटको माध्यमबाट एप प्रयोग गरी भ्वाइस र भिडियो कल गर्न मिल्ने भएकाले उपभोक्ताले बिरलै मात्र अर्को देशको नम्बरमा फोन गर्नुपर्दा टेलिकमको नेटवर्क प्रयोग गर्छन् । यस्तो आम्दानीमा ३३ प्रतिशतले कमी आएको प्रतिवेदनमा उल्लेख गरिएको छ । वाषिर्क आम्दानीमा १ प्रतिशत र नाफामा १९ प्रतिशतले कमी आएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

Advertisement

Advertisement

Advertisement