नेपाल राष्ट्र बैंकले ६ अर्बको विकास ऋणपत्र निष्काशन गर्ने

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबार ६ अर्ब रुपियाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ। बैंकले सरकारका लागि आन्तरिक ऋण उठाउने लक्ष्यका साथै सरकारले गर्ने विकास निमार्णकालागि आवश्यक रकम जुटाउनका लागि विकास ऋणपत्र जारी गरेको हो ।

मंगलवार निष्काशन हुने विकास ऋणपत्र २०८७ ’ख’ को अवधि ११ वर्ष रहेको छ। इच्छुक खरीदकर्ता प्रतिस्पर्धी र अप्रतिस्पर्धी रुपमा सहभागी हुन सक्नेछन् । प्रतिस्पर्धी खरीदकर्तालाई निष्काशित रकमको ८० प्रतिशत अर्थात ४ अर्ब ८० करोड र अप्रतिस्पर्धीलाई २० प्रतिशत अर्थात १ अर्ब २० करोड छुट्याइएको छ ।

बोलकबोल प्रक्रियाबाट बिक्री हुने सो ऋणपत्रमा ऋणपत्र खरिदको लागि बैंक तथा वित्तीय संस्था, गैर बैंक बित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले नेपाल राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागमा आवेदन दिनुपर्नेछ ।

इच्छुकले जेठ ७ गते दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सफ्टवेयर मार्फत बोलपत्र पेश गर्नुपर्नेछ । ऋणपत्रमा न्यूनतम ५० हजार र बढीमा निष्काशित रकमको सीमा नबढाई पचास हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्म माग गर्न सकिनेछ । ऋणपत्र जेठ ८ गते निष्काशन हुनेछ भने २०८७ जेठ ८ गते ऋणपत्रमा गरिएको लगानी साँवा सहित फिर्ता हुनेछ ।

सरकारले चालु वर्षमा १ खर्ब ७२ अर्ब रुपियाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखेको छ । केन्द्रीय बैंकको चौथो त्रैमासमा मात्रै ८६ अर्ब ऋण उठाउने लक्ष्य छ ।

Advertisement

Advertisement

Advertisement