जथाभावी पार्किङ गरे दुई पाङ्ग्रे लिन बग्गीखाना पुग्नुपर्ने

Advertisement

काठमाडौं । काठमाडौं नगर प्रहरीले काठमाडौंका विभिन्न स्थानमा जथाभावी रुपले पार्किङ गर्ने नौ हजार सात सय २५ वटा मोटरसाइकल तथा स्कुटर (दुई पाङ्ग्रे)लाई कारवाही गरेको छ ।

नगर प्रहरीले महानगरीय ट्राफिक प्रहरी महाशाखासँगको सहकार्यमा काठमाडौँको पुतलीसडक, दरबारमार्ग, लाजिम्पाट, बानेश्वर, कोटेश्वर, कलङ्कीलगायतका फुटपाथ क्षेत्रमा अवैध रुपमा पार्किङ गर्ने मोटरसाइकल तथा स्कुटरलाई नियन्त्रणमा लिएर कारवाही गरेको हो ।

नगर प्रहरीले यसरी पार्किङ गर्ने मोटरसाइकल तथा स्कुटरलाई कागजपत्र हेरेर एक हजार जरिवना गर्दै आएको छ । नगर प्रहरीले चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म ९७ लाख २५ हजार राजश्वसमेत सङ्कलन गरेको छ । नगर प्रहरीले जथाभावी पार्किङ गर्ने मोटरसाइकल तथा स्कुटरलाई नियन्त्रणका लागि १५ नगर प्रहरी खटाएको छ भने उनीहरुलाई ट्राफिक प्रहरीले सहयोग गर्दै आएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले भने मोटरसाइकल तथा स्कुटरलाई मादक पदार्थ सेवन (मापसे), लेन अनुशासन कारवाही, हर्न कारवाही, सिसी क्यामरा कारवाही, हेल्मेट नलगाउनेलाई कारवाही गर्दै आएको छ ।

यातायात व्यवस्था विभागका अनुसार २०७५ फागुनसम्म काठमाडौँ उपत्यकामा नौ लाख २१ हजार ९१७ मोटरसाइकल तथा स्कुटर सञ्चालनमा रहेका छन् ।

Advertisement

Advertisement

Advertisement