औद्योगिकरण र व्यवसायिक कृषिको जग बसाल्न भूमिको उपयोग उत्पादनसँग जोडौंः विनोद चौधरी

Advertisement

काठमाडौं । उद्योगपति एवं सांसद विनोद चौधरीले देशको आर्थिक विकासको लक्ष्यसँग जोडेर भूमिसम्वन्धी कानून निर्माण हुनुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधिसभामा भूमिसम्वन्धी आठौं संशोधन विधेयकमाथि आफ्नो धारणा राख्दै चौधरीले भूमिको उपयोग उत्पादन बृद्धिका लागि हुनुपर्ने बताए ।

इन्डस्ट्रियल पार्क, एजुकेशन सिटी र कमर्सियल फार्मिङ जस्ता अवधारणा कार्यान्वयन गर्न आवश्यक पर्ने भूमि सहजरुपमा उपलब्ध हुने गरि कानून निर्माण गर्न उनले सरकारलाई सल्लाह पनि दिए । उत्पादनशील उद्योगहरूमा लगानी अभिबृद्धि गरि उत्पादन बृद्धि गर्नु अहिलेको सबैभन्दा महत्वपूर्ण जिम्मेवारी हो भन्दै चौधरीले त्यसका लागि उत्पादनशील क्षेत्रमा लगानी गर्नेहरुलाई सहज रूपमा जग्गा उपलब्ध गराउने वातावरण तयार गर्न आग्रह गरे ।

उनले कुल ग्राहस्थ उत्पादन (जिडिपी)मा उत्पादनशील क्षेत्रको योगदान १२ प्रतिशतबाट घटेर ६ प्रतिशत पुगेको तथ्य प्रस्तुत गर्दै भने– यस्ता समग्र पक्षलाई ध्यानमा राखेर मात्रै हामीले भूमिसम्वन्धी कानून बनाउनुपर्छ । अन्यथा नेपालमा लगानीकर्ताहरूको मनोवल अरू खस्किन सक्छ ।

औद्योगिक र शैक्षिक सस्थाहरूको स्वामित्वमा रहेको तर उपयोग गर्न बाँकी रहेको जग्गा फिर्ता गर्ने सोँच राख्नु सहि नभएको बताउँदै चौधरीले औंद्योगिक क्षेत्रले दिर्घकालिन सोँचका साथ मास्टर प्लान तयार गर्ने र तत्काल केही जग्गा उपयोग नभएको जस्तो देखिए पनि भविष्यको औद्योगिक विस्तारका लागि त्यो जग्गा अपरिहार्य रहने भएकाले यसतर्फको दृष्टिकोणमा नै परिवर्तनको खाँचो रहेको बताए ।

उनले यदि औद्योगिक प्रयोजनले लिएको जग्गा उपयोग हुन सकिरहेको छैन भने राज्यले किन यस्तो भयो ? भनेर लगानीकर्ताको कुरा सुन्नुपर्छ र उसलाई सहजीकरण गरिदिन सक्नुपर्छ भन्दै भने, ‘हामीले के बुझ्नुपर्छ भने लगानीकर्ताले उद्योगका लागि लिएको जग्गामा कदापी घर बनाएर बस्दैन । उत्पादन बढाउनकै लागि उसले त्यो जमिनको प्रयोग गर्छ ।’

चौधरीले आजको विश्वमा विस्तार भइरहेका आर्थिक क्षेत्र र कमर्सियसल फार्मिङका उदारहण प्रस्तुत गर्दै जमिनको खण्डिकरणबाट देशलाई औद्योगिकरण र व्यवसायिक कृषिको जग बसाल्न सम्भव नभएको बताए । मुलुक आर्थिक समृद्धिको योजनामा अगाडि बढिरहँदा उत्पादन बृद्धिको आधारभूत पक्ष भूमिको उपयोगसम्वन्धी अवधारणालाई देशको वृहत्तर आर्थिक विकाससँग जोडेर अगाडि बढ्न आवश्यक रहेको भन्दै उनले यसका लागि यो सही समय भएको पनि बताए ।

Advertisement

Advertisement

Advertisement