विच्याट र अलिपे भुक्तानीप्रदायकको काम गर्ने स्वीकृति माग्न राष्ट्र बैंक पुगे

Advertisement

काठमाडौं। विच्याट र अलिपेले भुक्तानीप्रदायकको काम गर्ने स्वीकृति माग्न राष्ट्र बैंक पुगेका छन् । चीनका दुई भुक्तानीप्रदायक कम्पनीले नेपालमा सेवा सञ्चालनका लागि नेपाल राष्ट्र बैंकसँग स्वीकृतिका लागि निवेदन दिएका छन्।

यी कम्पनीहरुले नेपालमा बैधानिक कारोबारका लागि स्वीकृति नपाउँदै आफ्नो सेवा सुरु गरेको भन्दै राष्ट्र बैंकले अबैधानिक रुपमा, विच्याट, अलीपे लगायतबाट भइरहेको भुक्तानीलाई पूर्णतया प्रतिबन्ध लगाइसकेको छ।

पछिल्ला महिनामा काठमाडौंको ठमेल र पोखरामा सञ्चालित केही होटल तथा पर्यटनसँग सम्बन्धित व्यवसायमा विच्याट पे, अलिपेजस्ता एपमार्फत भुक्तानी कारोबार भइरहेको समाचार सार्वजनिक भएका थिए । यस्ता कारोबारका लागि नेपालमा कानुनी व्यवस्था छैन । यस्तो प्रणालीमार्फत के कति रकमको कारोबार भएको छ त्यसको तथ्यांक भने राष्ट्र बैंकसँग छैन ।

नेपालमा दर्ता नभएका यस्ता एपमार्फत कारोबार बढ्दै गएपछि राष्ट्र बैंकले त्यसमा रोक लगाएको हो । राष्ट्र बैंकले सोमबार सूचना जारी गरी विच्याट पे, अलि पे जस्ता विदेशी मुलुकबाट जारी भएको भुक्तानी गेटवेमार्फतको कारोबारमा रोक लगाएको हो ।

‘यस्ता कारोबारबाट विदेशी विनिमय अपचलन हुने भएकाले कसैले यसरी कारोबार गरेको पाइएमा कानुनबमोजिम कारबाही हुनेछ,’ राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।

बैंक स्रोतका अनुसार विच्याट र अलिपे नेपालका केही बैंकसँग मेलेर बैधानिक रुपमा कारोबार गर्न खोजेको देखिएको छ । स्वीकृति नलिइ कारोबार गर्दा विदेशी विनिमय अपचलनको मुद्दा लाग्ने भएकाले पनि उनीहरु बैधानिक हुन खोजेका छन् ।

Advertisement

Advertisement

Advertisement