पाँच वर्षमा एक खर्बका मोबाइल आयात

Advertisement

काठमाडौं । विगत पाँच वर्षमा नेपालमा करिब एक खर्ब रुपियाँ बराबरका मोबाइल सेट आयात भएको छ । दूरसञ्चार सेवाको पहुँच विस्तार भएसँगै मोबाइलको प्रयोग बढ्दा यसको आयात उकालो लागिरहेको तथ्याङ्कले देखाउँछ ।

भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७१/७२ देखि चालू आर्थिक वर्षको १० महिनासम्म ९३ अर्ब ६० करोड रुपियाँ बराबरको मोबाइल आयात भएको छ । चालू आवको बाँकी दुई महिनामा यो रकम थप बढ्ने छ ।

विभागको तथ्याङ्क अनुसार आव २०७१/७२ मा ११ अर्ब ७८ करोड रुपियाँ बराबरको मोबाइल आयात भएको थियो । त्यसको अर्को वर्ष आव २०७२/७३ मा १८ अर्ब २० करोड रुपियाँको मोबाइल आयात भएको तथ्याङ्कले देखाउँछ । मोबाइल आयातको क्रममा एकै पटक चार अर्ब रुपियाँले बढेर आव २०७३/७४ मा भने २२ अर्ब ६६ करोड पुगेको छ ।

पछिल्लो पाँच वर्षमा सबैभन्दा बढी आव २०७४/७५ मा मोबाइल आयात भएको देखिन्छ । तथ्याङ्क अनुसार अघिल्लो आवमा २४ अर्ब ८७ करोड रुपियाँको मोबाइल नेपाल भित्रिएको छ । चालू आवको १० महिनामा भने यसको आयात १६ अर्ब चार करोड रुपियाँ पुगेको छ ।

दूरसञ्चार सेवा प्रदायकहरूले नेटवर्कको पहुँच बढाउँदै लगेपछि मोबाइलको आयातमा पनि त्यसै अनुसार प्रभाव देखिएको तथ्याङ्कले देखाउँछ । नेपालमा अहिले नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमले मोबाइलमा आधारित दूरसञ्चार सेवा प्रदान गर्दै आएका छन् ।
गोरखापत्रबाट

Advertisement

Advertisement

Advertisement