धुलिखेल र सूर्यविनायकबाट झण्डै दुई दर्जन जुवाडे पक्राउ, साढे सात लाख नगद बरामद

Advertisement

काठमाडौं । प्रहरीले भक्तपुर र धुलिखेलबाट झण्डै दुई दर्जन जुवाडे पक्राउ गरेको छ । प्रहरीले उनीहरुबाट साढे सात लाख रुपियाँभन्दा बढि नगद पनि बरामद गरेको छ ।

भक्तपुर प्रहरीले सूर्यविनायक नगरपालिका ५ सल्लाघारीस्थित एक घरबाट १३ जना जुवाडेलाई पक्राउ गरेको छ । उनीहरुबाट छ लाख एक हजार ६५० रुपियाँ नगद पनि जफत गरेको छ । विशेष सुराकीका आधारमा गएको प्रहरीले शनिबार नगदसहित पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसरका प्रवक्ता रेवतीरमण पोखरेलका अनुसार जुवाडेहरुलाई तास खेलिरहेकै अवस्थामा पक्राउ गरिएको हो । उनीहरुबाट १२ बुक तास, दुई थान चेक पनि बरामद भएको छ । जुवाडेहरुलाई भक्तपुर परिसरमा राखी अनुसन्धान भइरहेको जनाइएको छ ।

त्यस्तै, प्रहरीले धुलिखेलको एक होटलबाट आठ जुवाडेलाई पक्राउ गरेको छ । नर्थपोल होटलमा तास खेलिरहेको बेला शनिबार बेलुका उनीहरुलाई पक्राउ गरिएको हो । जुवाडेहरुबाट एक लाख ५७ हजार नगद पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी दिपक गिरीका अनुसार लुकिछिपी होटलमा तास खेलाइरहेको भन्ने सूचनाका आधारमा छापा मार्ने क्रममा उनीहरुलाई पक्राउ गरेको जानकारी दिए।

पक्राउ पर्नेमा दिपेन्द्र धिताल, नारायण भुजेल, रामेश्वर तिमल्सिना, सुमन तिमल्सिना, नवराज सुवाल, सुवास गिरी, अमृत भण्डारी, कुमार गिरी छन् ।

Advertisement

Advertisement