जोमसोम विमानस्थल १६ दिनपछि सुचारु, तोकिएको समयअघि नै कालोपत्रे

Advertisement

मुस्ताङ । मुस्ताङ जिल्लाको एकमात्र विमानस्थल करिब १६ दिनपछि सुचारु भएको छ। बढ्दो पर्यटकको चापलाई मध्यनजर गर्दै विमानस्थलअन्तर्गतको धावनमार्ग कालोपत्रेको काम सुचारु भएको थियो । विमानस्थल आवश्यक मर्मत सुधार र कालोपत्रे गर्ने गरी काम अगाडि बढाएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको हो।

आयोजना प्रमुख इन्जिनियर कृष्णप्रसाद पौडेलका अनुसार विमानस्थल कालोपत्रेका लागि नौ करोड १२ लाख ६८ हजार छुट्याइएको थियो। एपेक्स कन्स्ट्रक्सनले निर्माणको जिम्मा पाएको धावनमार्ग कालोपत्रेसँगै कालीगण्डकी नदी नियन्त्रणका लागि तटबन्ध निर्माण, धावनमार्ग आसपास ढल निर्माण र टेक्सवेलगायत काम भएको उनले बताए।

उनले भने, ‘हामीले तोकिएको समयभन्दा चार दिनअघि नै कालोपत्रेको काम सम्पन्न गरेका छौं।’ आगामी असोजभित्र निर्माणका सबै काम सक्नुपर्ने भए पनि चार महिनाअघि नै सकेको भएको उनले बताए। करिब आठ सय १५ मिटर लामो धावनमार्गको आवश्यक सुधारसँगै करिब दुई सय १५ मिटर दक्षिण–पश्चिमपट्टीको भू–भागलाई स्लो डाउन गर्ने काम भएको समेत उनले बताए।

१६ दिनपछि आज जोमसोम विमानस्थलमा करिब १७ वटा उडान भएको छ। तारा एयरलाइन्सले १२ र समिट एयरलाइन्सले पाँच उडान भएको नेपाल नागरिक उड्डयन प्राधिकरण जोमसोमका प्रमुख भानुभक्त कोइरालाले बताए। उनका अनुसार स्थानीय व्यवसायीलाई नै विशेष मध्यनजर गरेर विमानस्थल मर्मत कार्य चाँडै सम्पन्न भएको हो। उनका अनुसार अब भोलिदेखि नियमित उडान हुनेछ। धावनमार्ग कालोपत्रेको काम सबै सकिए पनि थप मार्किङलगायत काम केही प्रतिशत मात्र बाँकी भएको कोइरालाले बताए।

धावनमार्ग कालोपत्रेपछि अब सर्वसाधारणले सहजरुपमा सेवा पाउने कोइरालाको भनाइ छ। उनले भने, ‘केही दिन असहज भए पनि अब भने नियमित उडानले स्थानीय जनतलाई पनि थप टेवा पुग्नेछ।’ अब दोस्रो र तेस्रो मुलुकका पर्यटनमात्र नभइ आन्तरिक पर्यटक तथा स्थानीयलाई समेत विशेष प्राथमिकतामा राखिने उनले बताए।

‘स्थानीयकै लागि भनेर यति धेरै मेहनत गरेका हौं,’ उनले भने। स्थानीय होटल व्यवसायीमात्र नभइ अन्य व्यवसायीलाई समेत ध्यानमा राखेर विमानस्थल निर्माण कार्य अगाडि बढाएको उनको भनाइ छ। ‘यसमा सहयोग गर्ने सबै धन्यवादको पात्र हुनुहुन्छ, यतिमात्र होइन हामी भोलिदेखि नै नियमित उडानमा स्थानीयलाई नै बढी प्राथमिकतामा राख्नेछौं,’ उनले भने।

नियमित उडान हुने भएपछि मुस्ताङका सबै व्यवसायी हौसिएका छन्। सदरमुकामस्थित होटल ताजका प्रोप्राइटर तृष्णा शेरचनले अब नियमित उडान हुने भएपछि सदरमुकाम आसपासका क्षेत्रमा चहलपहल हुने बताइन्। सबैभन्दा बढी भारतीय पर्यटक मुस्ताङ घुम्न आउने भएकाले व्यापार व्यवसाय बढ्ने उनले बताइन्।

‘आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल सून्य रहेको अवस्थामा अब केही फरकपन आउनेछ। करिब १५ दिनभन्दा बढी सदरमुकाम आसपासका स्थानमा सुनसान थियो,’ उनले भनिन्, ‘अब व्यवसायी आफ्नो काम सम्हाल्नतर्फ लागेका छन्, विमानस्थलको सुधारसँगै समग्र मुस्ताङले नयाँपन पाउने भएको छ।’

नागरिक दैनिकबाट ।

Advertisement

Advertisement