'भारतको दबाबसामु सरकार लम्पसार पर्थो भनेर गाली गर्नुभन्दा गमलामा एउटा खुर्सानी रोपे हुन्छ'

Advertisement

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले कम्युनिकेसन ग्यापका कारण प्रधानमन्त्री झुक्किएको बताएका छन्।

मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा बास्कोटाले तरकारीको बिषादी परीक्षण रोक्न भारतीय दूतावासले पठाएको पत्रबारे कम्युनिकेसन ग्याप हुँदा बेखबर हुनुपरेको बताएका ह्न् ।

पत्रकार सम्मेलनमा ‘प्रधानमन्त्रीलाई बुमराहमा राखेर देश कसले चलाइरहेको छ’ भनेर सोधिएको प्रश्नमा उनले भने, ‘संवैधानिक व्यवस्थाअनुसार देश चलाउने प्रधानमन्त्रीले नै हो। तर यहाँ विभिन्न निकाय र विभाग हुन्छ । कहीँ कहीँ कम्युनिकेसन ग्याप हुनसक्छ ।’

कसैले झक्याउँछ भने त्यसमा प्रधानमन्त्रीको दोष हुन्छ र ? भन्दै बास्कोटाले प्रधानमन्त्रीको गल्तीको प्रतिरक्षा गरे । उनले तरकारीको विषादी परीक्षण, मेलम्ची खानेपानी आयोजना, चिनी प्रकरणमा प्रधानमन्त्री ओली झुक्किएको स्वीकार गर्दै उनले त्यसमा प्रधानमन्त्री दोषी नरहेको बताए । तरकारीको परीक्षण रोक्न भारतीय दूतावासको पत्र परराष्ट्र मन्त्रालयमा आइसक्दा पनि कहाँको पत्र ? के को पत्र ? भन्दै ओलीले कुनै पत्र नआएको जिकिर गरेका थिए । मिडियाले उक्त पत्र नै सार्वजनिक गरेपनि उनले सार्वजनिकरुपमै बिहीबार माझी मागेका थिए ।

झुक्याउनेलाई लगेर रुखमा झुण्ड्याउन मिल्दैन भन्दै मन्त्री बास्कोटाले प्रधानमन्त्रीलाई जानकारी दिनेले कमजोरी गरेको बताए । उनले आफूले सञ्चार मन्त्रालयअन्तर्गतका गतिविधि सूचना विभागको महानिर्देशकलाई सोध्ने गरेको बताउँदै मन्त्री तथा प्रधानमन्त्रीको सुचनाको स्रोत कर्मचारी नै भएको र यस विषयमा कर्मचारीबाटै कमजोरी भएको तर्क गरे ।

मन्त्री बाँस्कोटाले तरकारी तथा फलफूलको बिषादी परीक्षण गर्ने कुनै देशप्रति लक्षित विषय नभएको बताउँदै विश्व व्यापार संगठनले नै विषादीमा खाद्य र अखाद्य वस्तु बनेर स्पष्ट उल्लेख गरेको र संगठनमा भएका सबै देशले पालना गर्नुपर्छ भनेको बताए । विषादी परीक्षण नेपालले मात्रै नभएर भारतले पनि गर्न पाउने बाँस्कोटाको भनाई छ ।

उनले विषादी परीक्षणको मुद्दालाई राष्ट्रसंघसँग नजोड्न आग्रह गर्दै भने, ‘फेसबुकमा सरकार भारतसामु लम्पसार पर्यो भनेर लेख्नुभन्दा गमलामा एउटा खुर्सानीको बोट रोप्ने अभियान चलाऔं।’

Advertisement

Advertisement