नेता र प्रशासकले सिंहदरबार छिर्नासाथै आफूलाई मालिक ठान्छन्ः धनराज गुरु

Advertisement

काठमाडौं । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले देशमा सुशासन कायम गर्नका लागि गैरकानूनी कारोबारहरुलाई बन्द गर्नुपर्ने बताएका छन् । 

बुधवार १३५ औँ मे दिवसको कार्यक्रममा उनले देशमा सुशासन कायम गर्न गैरकानूनी कारोबारहरुलाई बन्द गर्नुपर्ने बताएका हुन् । गुरुङले गैरकानूनी ढोकाहरु सबै बन्द गर्नुपर्ने बताए । 

Advertisement

गैरकानूनी ढोकाहरु बन्द गरेमात्रै मुलुक ठिक ढंगले चल्ने उनले बताए । गुरुङले विभिन्न काण्डमा मुछिएकाहरुलाई काम समातेर उठबस गरेर मात्रै देश नबन्ने बताए । उनले मजदुर र श्रमिकको पसिना बिना सिंहदरबार नचल्ने भन्दै सिंहदरबार छिर्नासाथ कोही पनि मालिक नहुने बताए । 

गुरुङले भने, ‘भ्रममा छौँ, सिंहदरबार पुगेपछि हामी आफैँले चलाइरहेका हुन्छौँ । श्रमिकको पसिना बिना सिंहदरबार चल्दैन । अरु ७ वटा सिंहदरबार पनि चल्दैनन् । अरु ७५३ वटा उपसिंहदरबार पनि बनाएका छौँ त्यो पनि चल्दैनन् । मजदुर र श्रमिकको पसिना बिना कुनै सिंहदरबार चल्दैन भन्ने मान्यता बनाएर अगाडी बढ्यौँ भने मात्रै यो मुलुक हामीले भनेजस्तो, चाहेजस्तो, रहर गरेजस्तो समृद्ध, समुन्नत नेपाल बनाउन सकिन्छ ।’ 

उनले थपे, ‘सिंहदरबार छिरेपछि मालिक हो कि जस्तो भइहाल्छौँ हामी । यो पनि गलत छ । वास्तवमा हामी कोही मालिक होइनौँ । प्रधानमन्त्री, मन्त्री, सांसद भएपनि वा सचिवहरु, मुख्यसचिव जो–जो, जे–जे भएपनि हामी सबै श्रमिक नै हौँ । देशको श्रमिक हौँ । जनताको श्रमिक हौँ । जनताको भरिया हौँ भन्ने कुरा नेताहरुले नबुझिदिदाँ पनि जनताले दुःख पाएका छन् । श्रमिक र मजदुरले दुःख पाएका छन् । यो खास कुरा नबुझ्दाखेरी नै सुशासन कायम गर्न सकिरहेका छैनौँ । सुशासन बेगर समुन्नत नेपालको गन्तव्यमा पुग्न सकिँदैन । सुशासनका लागि दुई, चारवटा काण्डमा मुछिएकाहरुलाई कान समातेर उठबस गरेर मात्रै देश बन्दैन । गैरकानूनी कारोबारजति सबै बन्द गर्नुपर्छ । गैरकानूनी ढोकाहरु सबै बन्द गर्नुपर्छ । तबमात्रै मुलुक ठिक ढंगमा पुग्छ । ठिक ढंगले चल्छ ।’

गुरुङले श्रमिकको निर्यात नगरी देशमै श्रमको सिर्जना गर्न सबै एकजुट हुनुपर्ने बताए । उनले देशमा लगानीको वातावरण बनाउनुपर्ने बताए । 

Advertisement

Advertisement