ओली र प्रचण्डलाई बाहिर बस्न डर लाग्या हो ? सैनिक मुख्यालय गएर बसे हुन्छः गजुरेल

Advertisement

काठमाडौं । नेकपा (क्रान्तिकारी–माओवादी) आबद्ध देशभक्त जनगणतान्त्रिक मोर्चाका राष्ट्रिय अध्यक्ष सिपी गजुरेलले प्रधानमन्त्री केपी ओली नेतृत्वको वर्तमान सरकारविरुद्ध अर्को सशक्त जनआन्दोलन गर्नुपर्ने बेला आईसकेको बताएका छन् ।

शुक्रबार रिपोर्टर्स क्लबमा पुष्पलाल अध्ययन समाज, जनसमाजवादी पार्टी, नेपाल र राष्ट्रिय जागरण परिषद, नेपालले संयुक्त रुपमा आयोजना गरेको ‘सरकार र विप्लव नेकपाबीच वार्ता र शान्तिपूर्ण समाधानको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रममा प्रमुख वक्ताको रुपमा गजुरेलले सरकार र विप्लवबीचको वार्तालाई लिएर नेपाली जनता अहिले असाध्यै द्धिविधामा रहेको बताए ।

गजुरेलले भने, ‘पछिल्लो समय सरकार र विप्लव समूहबीच वार्ता चलिरहेको हल्ला छ । दुवै पक्षबाट वार्तालाई लिएर वक्तव्यहरु आएका छन् । तर, जनता भने पुरै कन्फ्युजनमा छन् । साँच्चै वार्ता होला त ? भनेर ।’

उनले भीडन्तहरु हुँदै गए देश आन्तरिक गृहयुद्धमा रुपान्तरण हुने खतरा पनि औंल्याए । गजुरेलले भने, ‘अहिलेको परिस्थिति ल्याउनको लागि ओलीजीको सरकार जिम्मेवार छ ।’ उनले विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाउनु नै गलत भएको पनि टिप्पणी गरे । गजुरेलले भने, ‘प्रतिबन्ध लगाउनु नै हुँदैनथियो । संविधानमा पनि यो कुरा निषेध गरिएको छ ।’

एनसेलको मुख्यालयमा भएको प्रेसर कुकर बमकाण्डलाई लिएर सरकारले विप्लवमाथि प्रतिबन्ध लगाएको उनले सुनाए । गजुरेलले भने, ‘घट्ना हुनु दुःखद् हो । त्यस घट्नामा संलग्न दोषीलाई बरु अदालती कारबाही गरेको भए हुन्थ्यो ।’

उनले सत्तारुढ दल नेकपाका अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डलाई असुरक्षा भएको भए थप सुरक्षाकर्मी राखे हुन्छ भन्ने अभिव्यक्ति पनि दिए । गजुरेलले भने, ‘बालुवाटारको हेडक्वार्टरमा असुरक्षित भए ओलीजी भद्रकालीमा रहेको मिलिटरी हेडक्वार्टरमा गएर बसे भैगयो नि । तर, पार्टीमाथि प्रतिबन्ध लगाउने काम गर्नुहुँदैन् । यो गलत छ ।’

गजुरेलले सरकारले विप्लव नेतृत्वको नेकपालाई शान्तिपूर्ण कार्यक्रम गर्नसमेत बन्देज लगाएकोमा आक्रोश पोखे । उनले भने, ‘सरकारले शान्तिपूर्ण कार्यक्रम पनि गर्न दिएन । विप्लवजीहरुसँग कि त राजनीति छोड्नुपर्ने विकल्प हुन्छ कि त भूमिगत हुनुपर्ने । होईन भने बादलहरुजस्तै आत्मसमर्पण गर्नुपर्नेथियो । तर, राजनीति गर्नेले त्यसो गर्दैन् । भूमिगत भएर पनि राजनीति सञ्चालन गर्नुपर्छ ।’
वर्तमान सरकारले सुनियोजित ढंगले अहिलेको परिस्थिति सिर्जना गरेको उनको गम्भिर आरोप छ । अहिले सरकारले फेक ईन्काउन्टरको नाममा निहथ्था नागरिकको हत्या गर्ने काम गरेको पनि गजुरेलको आरोप छ । उनले भने, ‘यस्तो खालको हत्या त जनयुद्ध र पञ्चायताकालिन अवस्थामा पनि हुँदैनथियो ।’

ओली सरकारले अहिले मुलुकमा फाँसीवाद लागु गरेको पनि उनले गम्भिर टिप्पणी गरे । गजुरेलले भने, ‘दुई तिहाई बहुमत भएको सरकारले चुनावको बेला गरेको नारा पनि पुरा गर्न सकेको छैन । जे–जे गर्छु भनेर चुनावको बेला बोलेको थियो, ठिक त्यसको उल्टो गरेको छ ।’

सरकारले सुरुमै जनतालाई महँगी उपहार दिएको पनि उनले आरोप लगाए । उनले भने, ‘त्यतिमात्रै होईन, तीन तहमा कर बढायो । अब त जन्मिनपनि डर लाग्न थाल्यो । र, मर्नपनि डराउनुपर्ने भयो । जन्मेदेखि मृत्युसम्म कर तिर्नुपर्ने भयो ।’ त्यस्तै, सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको पनि गजुरेलले आरोप लगाए । उनले थपे, ‘साँढे तेत्तिस केजी सुन प्रकरणमा पनि यो सरकारले अहिलेसम्म एकजनालाई पनि कारवाही गर्न सकेन । अहिले त जनताले त्यो सुन गृहमन्त्रीसँग छ भन्नेखालको अनुमान गर्न थालिसकेका छन् ।’

निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणमा पनि अहिलेसम्म एकजनालाई कारवाही गर्न नसकेको उनको आरोप छ । गजुरेलले भने, ‘निर्मलाको दिउँसै बलात्कारपछि हत्या भयो । तर, प्रहरीले दोषी पत्ता लगाउन सकेन । प्रहरीले विप्लवका भूमिगत नेताहरु खोजीखोजी पक्राउ गर्नसक्छ । तर, बलात्कारीलाई पक्राउ गर्न सकेन् । किन सक्दैनथियो ? सक्दथ्यो, तर पक्राउ गर्दा ठूलाबडाहरु नै पर्ने थिए । त्यही भएर प्रहरीले पक्राउ गरेन । अहिलेको नेकपाका नेतृत्व गर्ने मान्छे नै यसमा संलग्न छन् ।’

त्यस्तै, यो सरकार आएपछिमात्रै देशमा भू–माफीयाहरु सलबलाएको र देशका महत्वपूर्ण ठाउँका जग्गाहरु निजीकरण गर्ने काम भएको उनको टिप्पणी छ । गजुरेलले भने, ‘प्रधानमन्त्री बस्ने निवासको जग्गा नै व्यक्तिको नाममा बनाईसकेछन् । पशुपतिनाथको साँढे सत्र सय रोपनी जग्गा पनि व्यक्तिको नाममा बनाउने काम भएको छ । तर, सरकार बेखबर छ । हुँदाहुँदै सिंहदरबार पनि माफीयाहरुले आफ्नो नाममा बनाईसके । यस्तो काम त यसअघि कहिल्यैपनि भएको थिएन् । भूमाफीया गर्ने काममा नेकपाका शक्तिशाली नेताको संलग्नता छ । सम्पूर्ण परिपत्र मिलाउने काम उनले नै गरेको खुल्न आएको छ ।तर, दोषीहरु अहिलेसम्म कोहीपनि कारबाहीमा आएनन् ।’

लगातार ठूला ठूला काण्ड घटाउँदापनि सरकारको गलत हर्कत नरोकिएको र गुठी विद्येयक ल्याएर गुठीका जग्गा पनि कब्जा गर्न खोजेको उनले सुनाए । गजुरेलले भने, ‘तर, गुठी काण्डमा काठमाडौंमा २०६२–०६३ सालको जस्तै जनआन्दोलनको झल्को दिने आन्दोलन भएकोले ओली सरकारको होष उडेको थियो । त्यही भएर आन्दोलनसामू सरकारले घुँडा टेकेको कुरा हाम्रोअगाडि छर्लङ छ ।’

पछिल्लो समय विषादी प्रकरणमा पनि सरकारले गम्भिर त्रुटि र जनताको स्वास्थ्यमाथि खेलबाड गरेको गजुरेलको आरोप छ । उनले भने, ‘यो सरकारले विषादी चेकजाँचपछिमात्रै भारतबाट आउने तरकारी भित्र्याउने भनेर निर्णय गर्दा हामी पनि खुशी भएका थियौं । कहाँबाट सरकारलाई यस्तो बुद्धि आयो भनेको त त्यो कुरा १२ दिनपनि टिकेन् ।’

उनले उक्त प्रकरणमा प्रधानमन्त्री ओलीले कसैको दबाबमा परेर आफूहरुले विषादी परीक्षण स्थगित नगरेको भनेर दाबाका साथ सार्वजनिक रुपमा बोलेपनि त्यसको तीन दिनपछि माफी मागेको सुनाए । गजुरेलले थपे, ‘प्रधानमन्त्रीले पछि माफी माग्नुभयो । उहाँले मलाई त मन्त्रीले झुक्याए । सचिवले झुक्याए भन्नुभयो । यदि झुक्याएकै भए किन कारबाही गर्नुभएन त ? उहाँलाई झुक्याउने कर्मचारीलाई किन खारेज गर्नुभएन त ?’

उनले तीन चौथाई बहुमत भएपनि यो सरकार यही पाराले अब नटिक्ने चेतावनी दिए । गजुरेलले थपे, ‘किनकी यो सरकार फाँसीवादी चरित्रमा अघि बढिरहेको छ ।’ उनकाअनुसार ओली सरकारले वार्ता भंग गरिसकेको छ । उनले भने, ‘हिजो सरकारका प्रवक्ता सञ्चारमन्त्री गोकुल बाँस्कोटाले वार्ता भंग भएको कुरा बोलिसके । यस्तै हो भने मुलुक अब द्वन्द्वको बाटोमा अघि बढ्छ ।’

फरक प्रसँगमा उनले नेपाल ईण्डो–प्यासिफिक स्ट्राटेजीमा सहभागी भैसकेको पनि सुनाए । गजुरेलले भने, ‘त्यही भएर अहिले चीनको सिमा नाका मुस्ताङमा अमेरिकी र नेपाली सैनिकले संयुक्त सैन्य अभ्यास गरेको कुरा भर्खरै आएको छ । यसले चीन चिढ्याएको छ । चीनको गम्भिर चासो छ । अब नेपाल विदेशीहरुको रणभुभी बन्नेवाला छ । मैले यो खतरा देखेको छु ।’

उनले अहिलेको व्यवस्था, संविधान र सरकारमाथि नै प्रश्नचिन्ह खडा भएको सुनाए । गजुरेलले भने, ‘ओलीलाई पनि यही व्यवस्थाले प्रधानमन्त्री बनाएको हो । यो हाम्रो लागि दुर्भाग्य हो । त्यसैले सरकारविरुद्ध अब सशक्त जनआन्दोलनको आवश्यकत्ता छ ।’

Advertisement

Advertisement

Advertisement