निर्मला हत्या प्रकरणः कस्ले रोक्दैछ सत्य बाहिर ल्याउन ?

Advertisement

उल्टाखाम (कञ्चनपुर) । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक वर्ष पुगेको छ। तर अझै प्रहरी–प्रशासन हत्यारानजिक पुग्न सकेको छैन।

निर्मलाको हत्यारा पत्ता नलाग्दा पीडा कम नभई झनै बल्झिँदै गएको उनका आमा–बुबा बताउँछन्। न्याय खोज्दाखोज्दै वर्ष बिते पनि अझै न्याय पाउन नसक्दा पीडा थपिँदै गएको निर्मलाकी आमा दुर्गादेवी बताउँछिन्। ‘निर्मला हत्याको वर्ष दिन भइसक्दा पनि प्रहरीले किन हत्यारा पत्ता लगाउन सकेन,’ उनले नागरिक संवाददातासँग भनिन्, ‘निर्मलाको हत्यारा पत्ता नलाग्दा वर्ष दिनसम्म पनि पीडा आलै छ।’ निर्मलाको यादले रातभर पोलिरहने बताउँदै उनले थपिन्, ‘निर्मलाकै यादमा रुँदारुँदै आँसु पनि सकियो।’ हत्यारा पत्ता लागे आफूले न्याय पाएको महसुस हुने उनी बताउँछिन्।

निर्मला हत्याको एक वर्षसम्म आफूले सरकारसँग न्याय मागेको उनका बुबा यज्ञराज बताउँछन्। ‘मैले सुरुदेखि नै सरकारसँग अरु केही मागिनँ, मात्र न्याय मागें,’ उनले भने, ‘हत्याको एक वर्ष बितिसक्दा पनि न्याय नै पाइएन।’ अपराधी पत्ता लागेर छोरीको कसरी हत्या भयो भन्ने थाहा पाएको भए सन्तुष्टि हुने उनी बताउँछन्। ‘हत्यारा पत्ता लाग्यो, उसलाई जेल सजाय भयो भनेर आत्मसन्तुष्टि हुन्थ्यो,’ यज्ञराजले भने, ‘हत्यारा पत्ता नलाग्दा छोरीको आँसुले पोलेको महसुस हुन्छ।’

आफूले असम्भव कुरा नमागेको बताउँदै उनले भने, ‘मैले निर्मलालाई ज्यूँदो बनाइदेऊ भनेर त माग गरेको छैन, हत्यारालाई खोजेर कानुनी दायरामा ल्याइदेऊ भनी एउटै माग गरेको हुँ।’ निर्मला हत्याको अनुसन्धान शून्य रहेको उनी बताउँछन्। ‘सरकारले निर्मलाको हत्यारा पत्ता लगाउने आश अब मरिसक्यो,’ उनले भने, ‘न्यायको भिख मागिरहेको छु, सरकारले न्याय दिन नसक्ने भए हामीलाई पनि मारिदिए हुन्थ्यो।’ हरेक पटक जिल्ला प्रहरी कार्यालय पुग्दा आज यतिजनाको रगत जाँच गरियो, भोलि यतिको भनी प्रहरीले संख्या सुनाउने काममात्रै गरेको उनले बताए।

निर्मलाको हत्यारा अहिलेसम्म पत्ता नलाग्नु दुःखद भएको छिमेकी मञ्जु भट्ट बताउँछिन्। उनले भनिन्, ‘कस्ताकस्ता घटना त पत्ता लाग्छन् तर निर्मलाको हत्यारा अहिलेसम्म पत्ता किन लागेन ?’ उनले निर्मलाको हत्यामा ठूलै व्यक्तिको हात हुन सक्ने आशंका गरिन्। ‘निर्मलाको हत्यामा गरिब व्यक्ति संलग्न हुन्थ्यो भने अहिलेसम्म समातिइसक्थ्यो,’ उनले भनिन्, ‘एक वर्ष बितिसक्दा पनि निर्मलाको हत्या अनुसन्धानकै गर्वमा रहनु पनि शंकाको घेरामा छ।’

निर्मला पढ्ने सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक जगन्नाथ पाण्डे प्रहरीको प्रभावकारी अनुसन्धान नहुँदा हत्यारा पत्ता लाग्न नसकेको बताउँछन्। अधिकारकर्मी मीना भण्डारीले अहिलेसम्म सरकारकाले अपराधी सार्वजनिक गर्न नसक्नुमा आशंका जन्मेको बताइन्। उनले भनिन्, ‘प्रहरीले अनुसन्धान गरिरहेका छौं भन्छ तर उपलब्धि केही देखिँदैन।’ अर्की अधिकारकर्मी हेलेन श्रेष्ठले पीडित पक्ष नै कमजोर भएका कारण निर्मलाको न्यायको आवाज कमजोर भएको बताइन्। ‘न्याय र सत्यभन्दा पनि आर्थिक चलखेलले प्रभाव पार्ने प्रवृत्ति देखिँदा मन निराश हुन्छ,’ उनले भनिन्, ‘पैसाले धारणा बदलिने प्रवृत्ति बढेकाले न्यायका पक्षमा आन्दोलन गर्न र बोल्न पनि मन लाग्न छोड्यो।’

घटनास्थल अझै अनिश्चित
कञ्चनपुर जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) दिनेश आचार्यले सबै कोणबाट अनुसन्धान जारी रहेको र अहिलेसम्म ठोस कुनै कुरा पत्ता लाग्न नसकेको बताएका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) र जिल्लास्थित प्रहरी टोलीले पनि निर्मला हत्याकाण्डको अनुसन्धान जारी राखेका छन्। वास्तविकता पत्ता लाग्न नसक्दा अनुसन्धान टोली पनि निरन्तर फेरिएका छन्। अहिले सिआइबीका प्रहरी उपरीक्षक गणेश चन्द नेतृत्वको टोलीले अनुसन्धान गरिरहेको छ भने जिल्लास्थित प्रहरी टोली पनि अनुसन्धानमै खटिएको छ।

‘निर्मलाको हत्याका बारेमा अहिलेसम्म कुनै ठोस प्रगति हुन सकेको छैन,’ एसपी आचार्यले भने, ‘हामी सबै कोणबाट अनुसन्धानमै छौं।’ निर्मलाको बलात्कार र हत्या कुन ठाउँमा भएको हो भन्ने कुरामा पनि प्रहरी अनुसन्धानले निकर्ष निकाल्न सकेको छैन। ‘निर्मलाको बलात्कारपछि हत्या उखुबारीमा नै भएको हो वा बाहिर कुनै ठाउँमा बलात्कारपछि हत्या गरेर त्यहाँ फालिएको हो, अहिलेसम्म खुल्न सकेको छैन,’ उनले भने, ‘निर्मलाको बलात्कार एक व्यक्तिले गरेको हो वा सामूहिक बलात्कार हो भन्ने पनि स्पष्ट हुन सकेको छैन।’ निर्मलाको भेजाइनल स्वाबमा एकजनाको स्पोमा फेला परेकोले बलात्कार एकजनाले गरेको अनुमान गरिए पनि यसैका आधारमा घटनामा एकजनामात्रै संलग्न भनी निष्कर्ष निकाल्न नसकिने प्रहरीको भनाइ छ। ‘एकजनाको स्पोम फेला परे पनि सामूहिक बलात्कार भएको होइन भन्न सकिँदैन’, आचार्यले भने।

नागरिक दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement