अब प्रभु–पेमार्फत भुक्तानी गरी सिभिल अस्पतालको टिकट काट्न सकिने

prabhu-pay-civil-hospital

काठमाडौं । अब प्रभु–पेमार्फत मिनभवनस्थित सिभिल अस्पतालको टिकटको रकम भुक्तानी गर्न सकिने भएको छ । यसले सरकारी अस्पतालमा बिरामी जाँच गर्ने भन्ने बित्तिकै लामो लाइन बस्नुपर्ने भन्ने अवस्थाको अन्त्य गर्ने भएको छ ।

अस्पतालको ओपिडी टिकट लिन बिरामी तथा बिरामीको आफन्तले घन्टौं लाइनमा बस्नुनपर्ने भन्दै प्रभु–पेले टिकट काट्न बिरामी तथा उनीहरुका आफन्त अस्पतालमा समेत पुग्नुनपर्ने जनाएको छ । घरमै बसेर प्रभु–पेमार्फत रकम भुक्तानी गरी टिकट काट्न सकिने छन् ।

प्रभु–पे मोबाइल वालेटमार्फत अस्पतालको ओपिडी टिकट काट्ने व्यवस्थाको सुरुवात सिभिल अस्पतालबाट भएको हो । मेडिफ्लो सोलुसनले प्रभु–पे मोबाइल एपमार्फत घरमा नै बसेर टिकट काट्न सक्ने प्रविधिको विकास गरेको हो । उक्त प्रविधिबाट टिकट काट्ने व्यवस्था सुरु गर्ने सिभिल अस्पताल पहिलो भएको जनाइएको छ ।

मेडिफ्लोले अन्य अस्पतालमा पनि यो सेवा विस्तार गर्दै लैजाने यसका सिईओ सुरेन्द्र न्यौपानेले बताए । उनका अनुसार मेडिफ्लोले अहिले यो सेवा प्रभु–पे मोबाइल बालेटसँगको सहकार्यमा सुरु गरेको छ ।

अस्पतालले बिरामीको सहजताका लागि प्रविधिको प्रयोग गर्दै प्रभु–पे मोवाइल वालेटमार्फत टिकट काट्ने व्यवस्था सुरु गरेको अस्पतालका कार्यकारी निर्देशक प्राडा दीर्घराज आरसीले जानकारी दिए । उनले भने, ‘अस्पतालमा ओपिडीको टिकट लिनका लागि निकै लामो लाइन बस्नुपर्ने बाध्यता छ, हामीले विभिन्न प्रविधिको प्रयोगमार्फत यसलाई व्यवस्थित बनाउने काम गरिरहेका छौं ।’
आरसीका अनुसार अस्पतालमा हाल दैनिक आठसय बिरामी ओपिडीमा आउने गरेका छन् । अहिले यो सेवामार्फत टिकट काट्नका लागि मोबाइल प्रयोगकर्ताले प्रभु–पे मोबाइल बालेट नामक एपलाई डाउनलोड गर्नुपर्छ । प्रभु–पे मोबाइल बालेटबाट यो सेवा लिने ग्राहकको लागि बिशेष सहुलियतको ब्यबस्था गरिने प्रभु टेक्नोलोजीका जीेएम खुशल रेग्मीले जानकारी दिए ।

प्रभु–पे वालेटमा रजिष्टर भएपछि आफ्नो विभिन्न बैंकबाट रकम जम्मा गर्न सकिनेछ । त्यसपछि उक्त एपमा रहेको हस्पिटल भन्ने बटनमा क्लिक गर्नुपर्ने हुन्छ । हस्पिटल बटन भित्र प्रवेश गरेपछि निजामती अस्पतालमा क्लिक गर्नुपर्ने हुन्छ । सिभिल अस्पताल क्लिक गरेपछि त्यहाँ वा पूरानो ओपिडी भन्ने विकल्प आउछ । त्यसमा पूरानो हो भने पूरानो र नयाँ हो भने नयाँ ओपिडी छान्ने । त्यसपछि आफूले जाँच गर्न चाहेको विभाग र डाक्टर तथा मिति छान्नुपर्ने हुन्छ । उक्त प्रक्रिया पछि बिरामीले आफ्नो विवरण भर्नुपर्ने हुन्छ । सबै विवरण भरिसकेपछि टिकटको मूल्य आफ्नो प्रभु पे मोवाइल वालेटमा रहेको ब्यालेन्सबाट काटिनेछ ।

अस्पतालले हाललाई जनरल ओपिडी टिकट काट्नका लागि अघिल्लो दिन बिहान ७ बजेदेखि परीक्षण गर्ने दिन बिहान ७ बजेसम्म राखेको छ । तर, यो समय पनि क्रमशः आवश्यकता अनुसार बढाउँदै लैजाने कार्यकारी निर्देशक आरसीले जानकारी दिए ।

उनकाअनुसार पेइङ क्लिनिकतर्फ मोबाइलमार्फत टिकट काट्नका लागि भने हाललाई अघिल्लो दिन बिहान १० बजेदेखि परीक्षण गर्ने दिन बिहान १० बजेसम्मका लागि तोकिएको छ । यो समयपनि विस्तारै बढाउँदै लैजाने कार्यकारी निर्देशक आरसीले बताए ।

यसका साथै अस्पतालले अस्पताल हातामा एटिम मेसिन जस्तै ‘किओस्क मेसिन’बाट पनि टिकट लिन सक्ने व्यवस्था समेत गरेको छ । यसगरी, अस्पतालले ल्याब रिपोर्टहरु अनलाइनमा हेर्न सकिने व्यवस्था समेत सुरु गरेको छ ।