राजतन्त्र फर्किन खोजेको संकेत गर्दै प्रचण्डले भने– जनहितमा काम नगरे सत्ता उल्टिनसक्छ

Advertisement

ललितपुर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले राजतन्त्र फर्किन सक्न भन्दै सचेत गराएका छन् । प्रोग्रेसिभ इञ्जिनीयरिङ एशोसिएशनको प्रशिक्षण कार्यक्रममा शुक्रबार उनले जनहितलाई केन्द्रमा राखेर काम नगरे सत्ता उल्टिनसक्ने बताएका हुन् ।

अर्का अध्यक्ष केपी ओली उपचारका लागि सिंगापुर गएपछि पार्टीको कार्यकारी अधिकारसमेत पाएका प्रचण्डले अहिलेको सत्ता उल्टाउन प्रयास भइरहेको भन्दै जनताको पक्षमा काम नगरे त्यसलाई उल्टाउन सहयोग मिल्ने बताए । सत्तामा जानुअघि जनतासँग गरेको प्रतिवद्धता भुल्दै जाने र आफ्नै योगदानलाई बिर्सदै जाने हो भने प्राप्त उपलब्धि सजिलै गुम्न सक्ने उनको भनाई छ

नेता प्रचण्डले कम्युनिष्ट सरकारको कार्यशैली वास्तविक कम्युनिष्टको जस्तो हुन नसकेको स्वीकार गर्दै कम्युनिष्ट चिन्तन र विचारभन्दा भिन्न बुर्जुवाकरण हुँदै जाने हो भने सत्ता परिर्वतन हुन समय नलाग्ने बताए । उनले पुर्वी युरोप, सोभियत संघको उदाहरण दिँदै कम्युनिष्ट नेताले सत्तामा पुगेपछि कम्युनिष्ट चिन्तन र सिद्धान्तको कार्यशैली बिर्सन नहुने सुझाव पनि दिए ।

राजसंस्था पुनस्थापित हुन लागेको भन्दै पछिल्लो समयमा सामाजिक सञ्जालदेखि सार्वजनिक कार्यक्रममा बहस सुरु भएपछि ठूला चार दल मिलेर संघीय गणतन्त्र जोगाउन एक हुने निर्णय गरेका थिए । प्रचण्डले कार्यक्रमा भनmे ‘कम्युनिष्ट नेता नै राजा महाराजा जस्तो हुँदै गएपछि राजा महाराजका विरुद्ध लडेका जनताहरु कम्युनिष्ट पनि राजा महाराजा जस्ता भए, यिनलाई पनि लखेट्नुपर्छ भन्ने बिडम्बना हामीले देख्यौं इतिहासमा । हामी कहाँ पनि यसो हेर्दा लक्षण चाही.... कुरा बुझ्नु भयो नि।’

आफ्नो पार्टी भित्रको अनुशासन विस्तारै खस्कँदै गएको प्रचण्डको भनाई थियो । उनले हिजोभन्दा आज कम्युनिष्टको अनुशासनको स्तर गिर्दै गएको भन्दै पछिल्लो समय सामूहिकताभन्दा पनि व्यक्तिगत निर्णयतर्फ केन्द्रित भएको महसुस भइरहेको टिप्पणी गरे ।

्रप्रचण्डले भने, ‘हिजो हामी निकै अनुशासित थियौँ, आत्म अनुशासनबाट मात्र हामी अहिलेको अवस्थामा आइपुगेका हौं, आज अनुशासनको स्तर गिरेर जसलाई जे मन लाग्यो बोल्ने, सामूहिक हितलाई बेवास्ता गर्ने प्रवृत्ति बढेको छ । यसलाई परिवर्तन गर्नुपर्छ ।’

कम्युनिष्टहरु सत्तामा नपुग्दासम्म जनताको पक्षमा लाग्ने भए पनि सत्तामा पुगेपछि त्यसलाई बिर्सदै जाने प्रवृत्ति देखिएको प्रचण्डले बताए । उनले जनता सार्वभौमसत्ता सम्पन्न हुने गरी यो अवस्थासम्म आइपुग्न वर्ग सङ्घर्षको ठूलो भूमिका रहेको बताए ।

Advertisement

Advertisement

Advertisement