आइएमई पेका उपभोक्ताले पाउँदैछन् ब्याज, मर्चेन्ट र एजेन्टलाई मनग्य कमिसन

Advertisement

काठमाडौं । ‘सात लाख एप डाउनलोड, २२ हजार पोइन्ट अफ सेल्स (सेल्स एजेन्ट) र १५ हजार मर्चेन्ट, दैनिक ७० हजार कारोबार ।’– यो आँकडा हो आईएमई पेको । आक्रामक बजार विस्तार गरिरहेको यस भुक्तानी सेवा प्रदायकले आईएमई ग्रुपको सहायक कम्पनी आइएमई डिजिटल सोलुसन्स लिमिटेडमार्फत सेवा दिँदै आएको छ ।

अहिले देशभर २२ हजार पीओएस छन् । यिनले उपभोक्तालाई रिचार्ज गरिदिने, बत्ति तथा पानीको बिल तिरिदिने लगायतका काम गरिरहेका छन् । आइएमई पेको हालसम्म सात लाख एप डाउनलोड भइसकेको छ । त्यस्तै, नगदको सट्टा ई–पेमेन्ट लिने मर्चेन्ट अर्थात रेष्टुरेन्ट, मार्टहरुको संख्या १५ सय पुगिसकेको छ । त्यति मात्रै होइन, आइएमई पेबाट दैनिक ६० देखि ७० हजार वटासम्म कारोबार भइरहेको छ ।

आईएमई ग्रुपका कार्यकारी निर्देशक हेमराज ढकालले यसको नेतृत्व गरिरहेका छन् भने विगत सात महिनादेखि विकास नहाटाले प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालिरहेका छन् ।  ‘हिजो पसल खोल्दा छिमेकी पसलहरुसँग प्रतिष्पर्धा हुन्थ्यो । तर अहिले डिजिटल बिजनेशमा ग्लोबल कम्पिटिसनको अवस्था छ । हामीले जसका लागि बिजनेश गर्न लागेको हो, उसकै बारेमा गहन अध्ययन गरेनौं भने डुब्नुको विकल्पै हुन्न’, आइएमई डिजिटल सोलुसन्सका अध्यक्ष हेमराज ढकालले भन्छन् । बजारको राम्रो अध्ययन र यथेष्ठ पूर्वाधारसहित कारोबार आरम्भ गरेकाले आइएमई पेको सफलतालाई कसैलाई रोक्न नसक्ने उनको निष्कर्ष छ ।

दश लाख एप डाउनलोड हुने र त्यसको ४० प्रतिशत कारोबारमा सक्रिय भइदिए ई पेमेन्टको व्यवसाय सहज हुने आइएमई ग्रुपका सञ्चार तथा जनसम्पर्क प्रमुख राजु पौडेल बताउँछन् ।

कसलाई कति लाभ ?
कम्पनीले अहिले बिल तिरिदिने, रिचार्ज गरिदिने टपअप सर्भिसमा एजेन्टहरुलाई चार प्रतिशत कमिसनको व्यवस्था गरेको छ । आफैं एप डाउनलोड गरेर कारोबार गर्ने उपभोक्ताहरुले दुई प्रतिशत क्यासब्याक पाउँछन् । त्यस्तै, रेष्टुरेन्ट र मार्टहरुले तीन दशमलव पाँच प्रतिशत कमिसन पाईरहेका छन् ।

डिजिटल पेमेन्टको बिजनेशलाई स साना थोपा जम्मा गरेर समुद्र बनाउने अर्थात थोरै नाफा लिने तर धेरै कारोबार गर्ने व्यवसायका रुपमा लिइन्छ । मर्चेन्ट र एजेन्टभन्दा पनि एप डाउनलोड गरेर कारोबार गर्ने उपभोक्ताहरुको संख्या जति बढाउन सक्यो, त्यति नै व्यवसाय विस्तार हुने र दिगोपन पनि आउने उनीहरुको विश्वास छ ।

यद्यपी आजका दिनमा एजेन्टहरुको संख्या बढाउनुको विकल्प नभएको निष्कर्षमा पनि कम्पनी पुगेको छ । किनकी नेपालमा अहिलेसम्म एजेन्ट बिनै डिजिटल बिजनेश चलाउन कल्पनासम्म पनि गर्न मुस्किल छ । ‘नागरिकहरुले मासिक ७० हजार रुपियाँ आम्दानी गर्ने हैसियत बनाएको दिन डिजिटल बिजनेशबाट राम्रो नाफा कमाउन सकिन्छ । अहिलेको अवस्थामा नाफा घाटा बराबर बनाउन पनि मुस्किल छ । तर एक दिन डिजिटल बिजनेशले मालामाल गराउने कुरा भने सत्य हो’, पौडेल भन्छन् ।

डिजिटल बिजनेशका लागि युवा पुस्ता अनिवार्य सर्त हुन् । उनीहरु हरेक कुराको अर्ली एडप्टर (पहिलो ग्रहण कर्ता) हुन् । ‘तर आज देशमा युवा छैनन् । त्यसकारण पनि चाँडै नाफा कमाउन मुस्किल नै छ’, उनी भन्छन् । त्यसैले फेसबुक र युट्युबमा भाइरल बने जस्तो डिजिटल बिजनेशमा सफलता हासिल हुन्न ।

रोजगारी कति ?
कम्पनीमा हाल तीन सय जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । तीमध्ये एक सय जना इञ्जिनियर छन भने त्यसपछि बिजनेश डेपलपर, प्रशासन र कल सेन्टरमा काम गर्नेहरु छन् ।

सजिलो छैन डिजिटल पेमेन्टको व्यवसाय
एउटा कोठामा चार पाँच जना आइटीका विद्यार्थी साथी बसेर डिजिटल बिजनेश गर्ने प्रयास भइरहेको देखिन्छ । ई–पेमेन्टको बजार अनुसन्धान नै नगरि यो व्यवसायमा धेरैले हात हालेका छन् । पौडेल भन्छन्, ‘चार–पाँच जना आइटी पढेका साथी मिलेर पाँच पाँच लाख उठाएर कम्पनी खोल्यो, सम्भावित बजारको आँकडा तयार पार्यो । अध्ययन नै नगरि यति मान्छेमध्ये यतिले मोबाइल चलाउँछन् । यतिले पसल चलाउँछन् । उनीहरुमध्ये यति प्रतिशतले हाम्रो सेवा लिन्छन र हामी यति कमाउँछौं भन्ने टप डाउन अप्रोचमा बिजनेश योजना बनाएर लगानी गर्यो । अनि अहिले कतिपय यस्ता लगानीकर्ता पुर्पुरोमा हात लगाएर बस्न बाध्य भइरहेका छन् । अझै केही त्यसरी नै डुब्ने अवस्थामा पुग्दैछन् ।’

डिजिटल पेमेन्टको व्यवसाय सञ्चालन गर्न आफ्नै विशाल नेटवर्क, यथेष्ठ स्रोत साधन, ब्राण्ड इमेज र पूर्वाधार चाहिने आइएमई पेको भनाई छ । उपभोक्ताले विश्वाससमेत गर्न सक्नेगरी यी आवश्यक सबै पूर्वसर्त आफूहरुले पूरा गरिसकेकोले आफूहरुले सहजै व्यवसायीक सफलता हात पार्ने आईएमई पेका अधिकारीहरुको दावी छ ।

ब्याज पनि पाइने
आइएमई पेले केही समयभित्रै आफ्ना ग्राहकहरुलाई ब्याज समेत दिने तयारी गरेको छ । अध्यक्ष हेमराज ढकाल भन्छन्, ‘हामीले वालेटमा पैसा राख्दा त्यसको केही प्रतिशत ब्याज दिने तयारी गरिरहेका छौं । नेपाल राष्ट्र बैंकबाट अनुमति पनि पाईसकेका छौं । हाम्रा उपभोक्ताले आइएमई पेको एकाउन्टमा पैसा राखे भने त्यसको केही प्रतिशत ब्याज प्राप्त हुन्छ ।’

त्यति मात्रै नभएर, वालेटमा राखिएको पैसाबाट फेरि नगद चाहियो भने पनि एजेन्टहरुमार्फत नगद लिने व्यवस्था पनि कम्पनीले गर्दैछ । त्यसका लागि आइएमई पेले कार्ड पनि ल्याउने योजना बनाएको छ । एजेन्ट र मर्चेन्टले त्यही कार्डका आधारमा सेवा र नगद भुक्तानी समेत दिन सक्छन् ।

Advertisement

Advertisement

Advertisement