काठमाडौं । ठूला आयोजना हात पार्न राजनीतिक बिचौलियाको काम गर्ने, हात पारिसकेपछि अलपत्र पार्ने र निर्माणाधीन आयोजनाको लागत बढाई अनियमितता गर्ने गरेको आरोप लागेका व्यापारिक घरानाका व्यक्तिलाई नै सरकारले लगानी बोर्डको नेतृत्व दिने तयारी गरेको छ ।
प्रधानमन्त्री केपी ओलीले केही व्यक्तिसँग गरेको परामर्श र हालसम्म अपनाइएका प्रक्रियाअनुसार बोर्डको रिक्त प्रमुख कार्यकारी अधिकृत ९सीईओ० मा सुशील भट्टलाई नियुक्त गर्ने निश्चित जस्तै छ ।
अर्थमन्त्री युवराज खतिवडा नेतृत्वको सिफारिस समितिले भट्टसहित तीन जनाको नाम सिफारिस गरी मन्त्रिपरिषद्मा पेस गर्ने निर्णय गरिसकेको छ । ‘कानुनअनुसार सिफारिस गर्दा तीन जना हुनुपर्ने भएकाले भट्ट, विद्युत् नियमन आयोगका पूर्वसदस्य रामकृष्ण खतिवडा र प्रदेश १ लगानी प्राधिकरणका सीईओ सरोज कोइरालाको नाम सिफारिस हुने भएको हो,’ स्रोतले भन्यो, ‘तीन जना सिफारिस भए पनि भट्ट नै बोर्डको सीईओ हुने निश्चित भइसकेको छ ।’
सुशील र उनका भाइ दीपक भट्टले विदेशी कम्पनीको एजेन्ट भई यहाँका राजनीतिक दललाई प्रभावमा पारेर ठूला आयोजना निर्माणको ठेक्का हात पार्ने गरेका छन् । प्रधानमन्त्री ओलीकै जोडबलमा योजना आयोगका सदस्यसमेत भएका सुशीलका भाइ दीपकको सबैजसो राजनीतिक दलका नेतृत्वसँग पहुँच छ । हाल प्रधानमन्त्री ओलीसँग दीपक अति निकट छन् । ‘हिजोआज मन्त्रीहरूभन्दा दीपकको आउजाउ बालुवाटारमा बाक्लो छ,’ सरकारका एक मन्त्रीले भने, ‘त्यसकारण पनि सुशील नै बोर्डको सीईओ हुनेछन् ।’
प्रधानमन्त्री ओली सुशील भट्टलाई सीईओ बनाउने पक्षमा छन् । सिफारिस समितिका एक सदस्यका अनुसार ओलीले २ जनासँग सुशील भट्टलाई बोर्डको सीईओ नियुक्त गर्नेबारे मुख खोलिसकेका छन् । ओलीले जानकारी गराइसकेका एक व्यक्ति राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सीईओ सुशील ज्ञवाली हुन् । ‘हामीसँग कुरा भएअनुसार ज्ञवालीले प्रधानमन्त्रीसँग सल्लाह गरेरै बोर्डको सीईओ पदका लागि दरखास्त पेस गरेका थिए,’ सिफारिस समितिका ती सदस्यले भने, ‘पाँच जनाको सूचीमा ज्ञवालीको नाम एक नम्बरमा थियो ।’ लगत्तै प्रधानमन्त्री ओलीले ज्ञवालीलाई बोलाएर ‘तपाईं पुनर्निर्माणमै काम गरिरहनुपर्ने भयो, धेरै काम बाँकी छन्’ भनेको स्रोतको दाबी छ । ‘त्यसपछि गत शुक्रबारको कार्यसम्पादनसम्बन्धी प्रस्तुति र अन्तर्वार्तामा ज्ञवाली सहभागी नै भएनन्,’ ती सदस्यले भने । ज्ञवालीले भने प्रधानमन्त्रीसँगको कुराकानीबारे बताउन चाहेनन् । अन्तर्वार्तामा नजानुको कारणबारे ज्ञवालीले भने, ‘पहिले सल्लाह भएरै दरखास्त दिएको हुँ । पछि फेरि पुनर्निर्माणका धेरै काम अपूरो छाडेर नहिँडूँ भन्ने भयो ।’
ज्ञवालीपछि ओलीले भट्टलाई सीईओ नियुक्त गर्नुपर्ने विषयमा सिफारिस समितिका संयोजक खतिवडासँग कुराकानी गरेको अनुमान गरिएको छ ।
कान्तिपुर दैनिकबाट ।