स्वास्थ्य र अर्थतन्त्र दुबै जोगाऔंः व्यवसायी

Advertisement

काठमाडौं । कोरोना संक्रमणको जोखिम निरन्तर बढिरहेको भए पनि उद्योगी व्यवसायीहरुले भने लकडाउन गर्न नहुने मतलाई थप बलियो बनाउँदै लगेका छन् । उनीहरुले यस अघि गरिएको जस्तो पूर्ण लकडाउन गर्नै नहुने अडानलाई बलियो बनाउँदै लगेका हुन् । त्यसका लागि उद्योगी व्यवसायीहरुले लबिङ पनि गरिरहेका छन् । केहि दिन अघि मात्रै नेपाल उद्योग परिसंघको नेतृत्वले उद्योग मन्त्री लेखराज भट्टलाई भेटेर पुनः लकडाउन गर्न नहुने सुझाव दिएको थियो । 

नेपाल उद्योग बाणिज्य महासंघका नेताहरुले पनि बिभिन्न माध्यमबाट लकडाउनका विपक्षमा आफ्ना विचार राखिरहेका छन् । महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले स्वास्थ्य र अर्थतन्त्र दुबै जोगाउनुपर्ने धारणा राखेका छन् । आफ्नो ट्वीटर एकाउन्टमा उनले लेखेका छन्–‘नेपालमा ७२ प्रतिशत संक्रमित निको भएका छन । यो विश्व औषत भन्दा बढी हो । तर जोखिम बढ्दैछ । स्वास्थ्य पूर्वाधार अपर्याप्त हुन सक्ने आँकलन छ । पूर्वाधार थपौं । पर्याप्त सजगकताका साथ व्यवसाय गरौं । स्वास्थ्य र अर्थतन्त्र दुबै जोगाऔं ।’

महासंघका अर्का उपाध्यक्ष उमेशलाल श्रेष्ठ तथा केन्द्रिय कार्य समिति सदस्य कृष्ण प्रसाद दुलालले पनि पुनः लकडाउन गरि अर्थतन्त्र नै वर्वाद हुने चेतावानी दिईसकेका छन् । 
नेपाल उद्योग परिसंघका प्रवक्ता कृष्ण प्रसाद अधिकारीले पनि लकडाउन गर्न नहुने बताए । उनले अहिले लकडाउन गर्दा देशले धान्नै नसक्ने भएकाले त्यता तर्फ सोच्न नसकिने स्पष्ट पारे । 

अधिकारीका अनुसार अहिले सरकार पनि लकडाउन गर्ने मनस्थितिमा छैन् । बरु जहाँ जहाँ संक्रमणको उच्च जोखिम छ, ति क्षेत्रलाई स्थानीय प्रशासन मार्फत शिल गरेर अघि बढ्ने योजना सरकारले अख्तियार गरेको छ । ‘सरकारले पनि पूर्ण लकडाउन गर्ने सोँच बनाएको छैन जस्तो लाग्छ, उच्च जोखिममा रहेका कतिपय जिल्लाहरुमा अहिले पनि निषेधाज्ञा जारी गरिएको छ, जहाँ जोखिम छ त्यहाँ जे गर्नुपर्ने हो गरौं तर जोखिम कम भएका क्षेत्रमा आर्थिक गतिबिधी चलाउनुपर्छ, नत्र देशले धान्न सक्दैन’, परिसंघका प्रवक्ता अधिकारीले कर्पाेरेट नेपालसँग भने ।

उच्च जोखिममा रहेका उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयहरुले आफ्ना अधिकांश सेवा स्थगन गरिसकेका छन् । जिल्ला प्रशासन कार्यालयहरुले नै अधिकांश सेवा स्थगन गरेपछि नागरिकमा थप सजगता आउन विश्वास गरिएको छ । प्रहरी प्रशासनले पनि जोर बिजोर प्रणालीलाई थप कडाईका साथ पालना गराउने, मास्क प्रयोगलाई अनिवार्य बनाउने लगायतका काम गरिरहेका छन् । अर्थशास्त्रीहरुले पनि लकडाउन गर्न नहुने अडान दोहोर्याईरहेका छन् । 
 

Advertisement

Advertisement

Advertisement