राजधानी काठमाडौंमा भेला, जुलुस, जात्रा गर्न निषेध, अरु के के गर्न नपाइने ?

Advertisement

काठमाडौं । कोरोना भाइरस (कोभिड १९)को संक्रमण बढेसँगै देशको मुख्य राजधानी काठमाडौंमा भेला, जुलुस, जात्रा आदि गर्न फेरि रोक लगाइएको छ । यसअघि लकडाउन लम्बिदा अर्थतन्त्र चौपटक भएको र जनजीवन कष्टकर बन्दै गएको भन्दै चौतर्फी विरोध जनाएपछि लकडाउन हटाएको सरकारले संक्रमण बढेपछि काठमाडौंमा फेरि कडाई गरेको हो । 

काठमाडौंका तीन जिल्लाहरु काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको शुक्रबारको बैठकले भीडभाडजन्य गतिविधिहरुमा कडाई गर्ने निर्णय गरेको छ । सुरक्षा बैठकले तीन दर्जनभन्दा बढी सेवा र व्यापार तथा व्यवसाय सञ्चालनमा अर्को निर्णय नभएसम्म रोक लगाएको छ । 

Advertisement

बैठकले खुल्ला स्थानमा मानिस भेला हुन वा जम्मा हुन, भीडभाड गर्न, सभा तथा जुलुस गर्न, जात्रा महोत्सव सञ्चालन गर्न नपाइने निर्णय गरेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनक दाहालका अनुसार दैनिक नित्य पूजाबाहेक अरु सम्पूर्ण धार्मिक गतिविधिमा रोक लगाइएको छ । भीडभाड हुन नदिन धार्मिक तथा सांँस्कृतिक कार्य सम्बन्धी जमघटमा निषेध गरिनुका साथै सबै प्रकारका सभा तथा गोष्ठी, तालिम, सेमिनार, हल तथा पार्टी प्यालेस, मनोरञ्जनस्थल, शैलुन, ब्युटीपार्लर, स्पा, स्वीमिङपुल, जीमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय सञ्चालनमा पनि रोक लगाइएको छ । 

सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरुसहितको बैठकले संग्रहालय, चिडियाखाना, फुटपाथ तथा खुल्ला ठाउँ र ठेलागाडा तथा साइकलबाट सञ्चालित व्यापार तथा व्यवसाय, कवाडी संकलन, स्वास्थ्य मापदण्ड विपरित श्रमिक तथा कामदार ओसारपसार तथा टेकवेबाहेक होटल तथा रेस्टुरामा पनि जमघट गर्न नपाइने निर्णय गरेको छ । 

निर्णय कार्यान्वयन भए नभएको अनुगमन गर्न आवश्यकता अनुसार प्रशासनको टोली अनुगमनमा खटिने छन् । पछिल्ला दिनमा काठमाडौंमा कोरोना संक्रमण तीब्र बन्दै गएको छ भने मृत्यु दर पनि बढेर गएको छ । 

Advertisement

Advertisement