श्रम बैंक सञ्चालनमा आयो, रोजगारदाताले एकीकृत सुचना पाउने

Advertisement

काठमाडौं । श्रमिक र रोजगारदाताको यथार्थ सूचना राखेर रोजगारी उपलब्ध गराउने उद्देश्यसाथ आइतबार श्रमिक सूचना बैङ्क सञ्चालनमा आएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आयोजना गरेको भर्चुअल कार्यक्रम मार्फत श्रम मन्त्री रामेश्वरराय यादवले श्रमिक सूचना बैङ्कको उद्घाटन गरे ।

मन्त्री यादवले बेरोजगार युवाको विवरण सङ्कलन गर्ने, उनीहरूलाई आवश्यक प्रशिक्षण दिने र रोजगारदाताको आवश्यकता अनुसार काममा लगाउन सहयोग पुर्याउने बैङ्कको उद्देश्य रहेको बताए । उनले बैङ्कमा श्रमिक र रोजगारदातासँगै बजारमा भएको काम र अवसरको समेत जानकारी हुने भएकाले श्रमिक र रोजगारदातालाई जोड्न सजिलो हुने पनि बताए ।

Advertisement

मन्त्रालयका अनुसार श्रम बैङ्कमार्फत कृषि, उद्योग, होटल लगायत श्रम आर्जन गर्नसक्ने जनशक्ति के–कति सङ्ख्यामा रहेका छन्, के–कस्ता ज्ञान, सीप हासिल गरेका रहेछन्, कुन क्षेत्रमा कति जनशक्ति देशमा कार्यरत छन् र कति वैदेशिक रोजगारीमा रहेका छन् भन्नेबारे एकीकृत रूपमा सूचना प्राप्त हुनेछ ।

देशका विभिन्न क्षेत्र, पेसा वा व्यवसायमा संलग्न हुन चाहने वा हाल कार्यरत श्रमिकको विवरण तथा वैदेशिक रोजगारीमा गएका वा फर्किएका जनशक्तिमा रहेको सीप तथा योग्यताको समेत अद्यावधिक विवरणसमेत समेटिने बताइएको छ ।

गोरखापत्र दैनिकबाट ।

Advertisement

Advertisement