प्रबलीकरणपछि प्रधानमन्त्री कार्यालय सिंहदरबार सार्ने तयारी

Advertisement

काठमाडौँ । भूकम्पले क्षतिग्रस्त सिंहदरबारको मुख्य प्रशासनिक भवनअन्तर्गतको पूर्वी मोहडा (उत्तरी, पूर्वी र दक्षिणी भाग)को प्रबलीकरण सम्पन्न भएको छ । यो पहिलो चरणको प्रबलीकरण हो । प्रबलीकरण सम्पन्न भएको सो भवनमा यसै महिनाभित्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्थानान्तरण हुने भएको छ ।

पश्चिमी मोहडाको प्रबलीकरण तीव्र गतिमा भइरहेको छ । सिंहदरबारस्थित ११७ वर्ष पुरानो मुख्य भवनको प्रबलीकरण पूर्वी र पश्चिमी मोहडा गरी दुई भागमा भइरहेको छ । विसं १९६० मा सिंहदरबार निर्माण गरिएको थियो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन)का प्रमुख श्यामकिशोर सिंहले सिंहदरबारको मुख्य प्रशासनिक भवन (प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रहने भवन)को पहिलो चरणको प्रबलीकरण सम्पन्न भएको जानकारी दिए ।

Advertisement

अहिले दोस्रो चरणमा सूचना प्रविधिसँग सम्बन्धित काम, मेटेनिकल, इलेक्ट्रोनिक र प्लम्बिङ (एमईपी)को काम, आधुनिक फर्निचर, इन्टेरियर डेकोरेसन, सुरक्षासँग सम्बन्धित उपकरण, फायर फाइटिङ जडान, बगैँचा निर्माणलगायतका कार्य अन्तिम चरणमा पुगेको बताउँदै उहाँले यसै महिनाभित्र प्रबलीकरणसम्बन्धी सम्पूर्ण काम सम्पन्न हुने जानकारी दिए  ।

गोरखापत्र दैनिकबाट ।

Advertisement

Advertisement