कानुनी बाटो खुलेको दुई वर्ष बित्यो, तर पुँजीबजारमा एनआरएनको लगानी अझै आएन्

Advertisement

काठमाडौं । नेपालको पुँजी बजारमा विदेशी लगानी भित्र्याउने कुरा चल्दै आएको धेरै बर्ष भयो । दुई वर्ष अगाडीबाट ऐन नै संशोधन गरेर गैरआवासीय नेपाली (एनआरएन)ले लगानी गर्नसक्ने व्यवस्था पनि गरियो । तर, अहिलेसम्म पनि पुँजी बजारमा एनआरएनको लगानी भित्रिन सकेको छैन् । 

पुँजी बजार विकास र विस्तारका लागि विदेशी लगानी भित्राउनु जरुरी रहेको आवाज उठेपछि तत्कालिन अर्थमन्त्री युवराज खतिवडाले दुई बर्षअघि सार्वजनिक कार्यक्रममा त्यस्तो लगानीका लागि बाटो खोल्ने प्रतिवद्धता जनाएका थिए । विदेशी लगानीकर्ता तथा गैरआवासीय नेपालीमार्फत पुँजी बजारमा लगानी भित्राएर पुँजी बजारमा वित्तीय र मौद्रिक उपकरणको विस्तार गर्नुपर्ने खतिवडाको भनाई थियो । 

Advertisement

त्यसको केही समयपछि सरकारले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०४९ लाई संशोधन गर्यो र पुँजी बजारमा संस्थागत विदेशी लगानीको बाटो खुला गर्यो । २०७५ चैत्र १३ गते आएको संशोधित ऐनको परिच्छेद २ को दफा ९ ले पुँजी बजारमा संस्थागत विदेशी लगानीलाई खुला गरेको छ । 

पुँजी बजारमा एनआरएनको लगानी ल्याउन किन समस्या ? 
पुँजी बजारमा एनआरएनको लगानी भित्र्याउनको लागि मुख्य समस्या भनेको दोस्रो बजारमा कारोबार हो । एनआरएनले दोस्रो बजारमा लगानी गर्ने रकम डलरमा हुन्छ । यसलाई कसरी भित्र्याउने र कसरी विदेश पठाउने ? भन्ने समस्या रहेको नेपाल धितोपत्र दलाल संघका निर्वतमान अध्यक्ष भरत रानाभाट बताउँछन् । उदाहरण दिँदै उनी भन्छन्, ‘गत आर्थिक वर्षको अन्यसम्मका १५ खर्ब रुपियाँको हाराहारीमा रहेको सेयर बजारको पुँजीकरण अहिले लगभग ३५ खर्ब रुपियाँ माथि पुगेको छ । मानौं त्यो लगानी एनआरएनको हो । तर, हामी कहाँ यति ठूलो पुँजी विदेश पठाउने विदेशी विनिमय संचिति छैन् । यसकारण त्यो पुँजीलाई कसरी दोहोरो कारोबारमा ल्याउने ? भन्ने समस्या रहेको छ ।’

पुँजी बजारमा विदेशी लगानी भित्राउनको लागि केही प्रक्रियाहरू अगाडी बढिसकेको नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुँगाना बताउँछन् । नेपालको पुँजी बजारमा मर्चेट बैंकको पोर्टफोलियोमार्फत कोही एनआरएन आउछन् भने उनीहरूलाई लगानी गर्ने वातावरणको सिर्जना भइसेको उनको जिकिर छ । यस्तै, कुनै पनि विदेश लगानीकर्ता विदेशी प्राईभेट इक्विटी भेन्चरको माध्यमबाट पुँजी बजारमा लगानी गर्न चाहान्छन भने त्यसको लागि पनि बाटो खुला गरिएको ढुँगानाले बताए । 

यता नेपाली नागरिकता भएका विदेशस्थित नेपाली लगानीकर्तालाई लगानी गर्न कुनै समस्या नै नभएको बताउँदै ढुँगाना भन्छन्, ‘पुँजी बजारमा विदेशी लगानी भित्राउन सबै खालका प्रक्रिया अगाडि बढिसकेको छ । कतिपय काम पनि भइसकेका छन् । अब बजारमा विदेशी लगानीकर्तालाई प्रोत्साहन गर्न एउटा मात्र समस्याको समाधान गर्न आवश्यक रहेको मैले देखेको छु । त्यो समस्या हो । दोस्रो बजारमा विदेशी लगानीकर्ताले कारोबार गरेर यहाँ नाफा कमाएको पुँजी बाहिर लानसक्ने बाताबरणको सिर्जना गर्नु । त्यसलाई पनि सहज बनाउनको लागि हामीले एक जना विज्ञलाई अनुसन्धानको जिम्मा दिएका छौं ।’ 

अध्यक्ष ढुँगानाले यस्तो लगानीलाई सहज गर्ने सम्वन्धमा एनआरएनका अगुवाहरूसँग पनि कुरा भइरहेको जानकारी दिए । एनआएनबाट सुझाव पाउना साथै आफूहरुले सरकारलाई यसरी लगानी भित्राउन सकिन्छ भनेर स्पस्ट पार्ने उनले बताए । 

ढुँगाना थप्छन्, ‘एनआरएन भन्ने बित्तिकै दुई प्रकारका हुन्छन् । एउटा एनआरएन भनेको नेपाली नागारिकता भएका विदेशमा गएर बसेका नेपाली भए । त्यस्ता लगानीकर्ता अहिले पनि सेयर बजारमा छन् । अर्का एनआरएन भनेको बिदेशी नागारिकता भएका नागरिक । यस्ता नागरिकलाई चाहीं नेपाली पुँजी बजारमा कारोबार गर्नको लागि समस्या भएको हो । 

एनआरएनलाई नेपालमा लगानी गर्नको लागि सहज गराउन हामीले अनुसन्धान थालिसकेका छौं । यसलाई सहज गर्न दुई वटा कुराको प्रक्रिया अगाडी बढाईसकेका छौं । नेपाली पुँजी बजारमा विदेशी लगानीकर्ता भित्राउन सजिलो छ । तर, लगानीकर्तालाई उनीहरूको लगानीको प्रतिफल लैजानसक्ने कुराको सुनिश्चितता गर्नसक्नुपर्ने हुन्छ ।’ 

नेपालको सेयर बजारमा विदेशी लगानी भित्राउने सम्पूर्ण आधार तयार भइसकेको पूर्वबैंकर एवं सेयर बजार विश्लेषक डा. अनलराज भट्टराई बताउँछन् । उनी भन्छन्, ‘अन्य क्षेत्रमा एनआरएनको उपस्थित पहिलेदेखि नै छ । उदारणको लागि बैंकिङ क्षेत्रमा स्टान्डर्ड चार्टर्ड बैंकमा बिदेशी कै लगानी रहेको छ । यस्तै जलबिद्युत क्षेत्रमा पनि विदेशी संस्थाहरूले लगानी गरेर नाफा कमाएर लगिरहेकै छन् । नेपालको पुँजी बजारमा हेर्दा मर्चेट बैंकको पोर्टफोलियोमार्फत एनआरएनले लगानी गरिरहेका छन् । यस्तै, कुनै पनि विदेश लगानीकर्ता विदेशी प्राईभेट इक्विटी भेन्चरको माध्यमबाट पुँजी बजारमा केही मात्रामा विदेशी लगानी गरिरहेका छन् ।’

उनले  नेपाल गैरआवासीय  संघले अघि बढाएको एनआरएन डेभलपमेन्ट फण्डको अवधारणा पुँजी बजारमा विदेशी लगानी भित्राउने योजनाअनुसार नै हो भन्दै यसमा झण्डै १३ लाख प्रवासी नेपालीले १० अर्ब रुपियाँ लगानी गर्ने बताए । अबको एक दुई हप्ताभित्र के कसरी एनआरएनलाई पुँजी बजारमा भित्राउने ? भन्ने बिषयमा निर्णय हुने उनले दाबी पनि गरे । 

Advertisement

Advertisement