राष्ट्रिय सहकारी बैंकले बाँडफाँट गर्यो संरक्षित पूँजी फिर्ता कोषबाट सदस्यहरुले पाउने रकम

Advertisement

काठमाडौँ । राष्ट्रिय सहकारी बैंकले सहकारी ऐन २०७४ तथा नियमावली २०७५ को प्रावधान अनुरूप आर्थिक वर्ष २०७६/७७ को संरक्षित पूँजी फिर्ता कोषबाट सदस्यहरुले पाउने रकमको बाँडफाँट कार्य सम्पन्न गरेको छ । 

बैंकले संरक्षित पूँजी फिर्ता कोषबाट प्राप्त हुने रकम यस सहकारी बैंकमा नियमित कारोबार गर्ने संघ÷संस्थाको खातामा जम्मा गर्ने व्यवस्था मिलाएको छ । सदस्य संघ÷सस्थाले जम्मा गरेको बचत रकमको लागी ४० प्रतिशत र कर्जामा तिरेको ब्याजको लागि ६० प्रतिशत भारको आधारमा संरक्षित पूँजी फिर्ता कोषको रकम बाँडफाँट गरेको हो ।

Advertisement

बचत र कर्जा कारोबार गर्ने १२,०४६ सम्पूर्ण संघ/संस्थाहरु आव २०७६/७७ को संरक्षित पूँजी फिर्ता कोषबाट लाभान्वित भएका छन् । बचत र कर्जामा उच्च कारोबार गरी योगदान गरेवापत सबैभन्दा बढी रकम फिर्ता पाउने सदस्यले बचत तर्फ रु ४३,०४,०००/– सम्म र कर्जा तर्फ रु. १२,१८,०००/– सम्म प्राप्त गर्न सफल भएका छन् । रु. ५०,००० भन्दा बढी संरक्षित पूँजी फिर्ता कोष रकम प्राप्त गर्ने सहकारी संघ/संस्थाहरु ५४९ रहेका छन् ।

यस अघि बैंकले आफ्ना सदस्य सहकारी संघ/संस्थाहरुलाई आ.व. २०७६/७७ को लागि बैंकको १७ औं साधारण सभाबाट पारित गरि १५ प्रतिशत लाभांश वितरण गरिसकेको छ । बैंकले नियमित बचत तथा कर्जाको कारोबार गर्ने र संरक्षित पूँजी फिर्ता कोषबाट रकम पाउने सम्पूर्ण सहकारी संघ/संस्थाहरुलाई हार्दिक बधाई व्यक्त गर्दै आगामी दिनहरुमा समेत सहकारी बैंकमा कारोबार गरी संरक्षित पूँजी फिर्ता कोषबाट लाभ लिन अनुरोध समेत गरेको बैंकका सूचना अधिकारी किशोरप्रसाद बिमलीले जनाएका छन् । 
 

Advertisement

Advertisement