काठमाडौं । सहरका मुख्य भागका सरकारी जमिन भाडामा लिएर व्यवसाय गर्न सफल यती समूहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको जग्गा होटल खोल्न भाडामा दिने तयारी गरिएको छ। सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधारको गुरुयोजना बनाएर उक्त जग्गा होटल बनाउन यती समूहलाई दिने तयारी गरेको हो।
पर्यटन मन्त्रालयका एक अधिकारीका अनुसार यतीलाई जग्गा दिने गरी मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने तयारी भइरहेको छ। विगतमा यतीलाई जग्गा भाडामा दिने प्रयास पटकपटक असफल भएकोमा अहिले पर्यटनमन्त्रीमा भानुभक्त ढकाल आएपछि फेरि प्रयास सुरु भएको हो।
यती समूहले एयरपोर्टको सिनामंगलस्थित ९२ रोपनीभन्दा बढी जग्गा २०७२ सालमै भाडामा लिने प्रयास गरेको थियो। तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको पालाका पर्यटनमन्त्री कृपासुर शेर्पाले यती समूहलाई यो जग्गामा होटल खोल्न दिने प्रस्ताव मन्त्रिपरिषद्मा पुर्याएका थिए। तर प्रधानमन्त्री कोइराला र मुख्य सचिव सोमलाल सुवेदीले रोकेपछि प्रयास असफल भएको थियो। अहिले फेरि यो समूहलाई जग्गा भाडामा दिनेगरी सरकारले तयारी गरेको हो।
सुरक्षा संवेदनशीलताका कारण यो जग्गा होटल वा अन्य जुनसुकै प्रयोजनका लागि पनि भाडामा दिन नहुने सरोकारवाला सबैको धारणा छ।
नागरिक दैनिकबाट ।