पाँचतारे होटलका हलमा सामान हराउँदा ग्राहकले किन पाउँदैनन् फिर्ता ?

Advertisement

काठमाडौं । म कार्यरत कर्पोरेट नेपालको गत चैत २१ गते बेलुकी नागपोखरीस्थित होटल मेरियटमा दसौं वार्षिकोत्सव समारोह थियो । आफू कार्यरत संस्थाको वार्षिकोत्सव भएकाले निर्धारित समयभन्दा एक घण्टाअघि नै म कार्यक्रमस्थल पुगिसकेको थिएँ । 

कार्यक्रममा व्यस्त हुनुपर्ने भएकाले मैले तीन सय अष्ट्रेलियन डलर र कालो चस्मासमेत भएको झोला होटलको ठूला हलको राउण्ड टेबलमा राखेको थिएँ । कार्यक्रम सुरु हुनुअघिसम्म रहेको उक्त रकम र चस्मा कार्यक्रम सम्पन्न भएर बाहिरिएर हेर्दा चोरी भइसकेको रहेछ । 

Advertisement

सुरक्षा उपकरण जडिट यति ठूलो सुविधासम्पन्न होटलमा पैसा चोरी होला भन्ने कुरा कमै मानिसले कल्पना गरेको हुन्छ । अन्तर्राष्ट्रिय चेन होटल भएकाले मैले पनि सुरक्षाको प्रत्याभूति होला भन्ने विश्वास गरेर आफ्नो झोला टेबुलमा नै छोडेको हुँ । पाँचतारे होटलको कार्यक्रममा सहभागी हुन आउने आमन्त्रित व्यक्तिदेखि होटलका कर्मचारीसम्मबाट चोरी हुन्न होला भनेर विश्वास गर्नु मेरो कमजोरी हुन सक्ला, तर गल्ती होइन । 

अष्ट्रेलियन डलर विशेष प्रयोजनका लागि सोही दिन वैधानिक रूपमा नै साटेर मैले लिएको थिएँ । तर कार्यक्रम सम्पन्न भएर घर फर्किने क्रममा चौरी भएको चाल पाएँ । भोलिपल्ट आएर होटलका सुरक्षाकर्मीलाई सबै कुरा बताएँ । एक महिला सुरक्षा अधिकृतले ग्राहकको व्यक्तिगत गोपनीयताका लागि हलभित्र सीसीटीभी क्यामरा जडान नहुने, हल बाहिर हो भने कार्यक्रम अवधिको सीसीटीभी फुटेज हेर्न सकिने आश्वासन दिइन् । जबकि उनको दाबी होटल संघ नेपाल (हान) सहित थुप्रै होटल व्यवसायी अस्वीकार गर्छन् । होटलका रुपमा क्यामरा जडान नभए पनि सभा तथा बैठक हलमा भने क्यामरा जडान भएको हुन्छ ।  

मेरो सानो रकम चोरी हुने कुराभन्दा पनि सुविधासम्पन्न भनिएका ठूलो तारे होटलमा ग्राहकको सामानको सुरक्षा मूल प्रश्न हो । यही प्रवृत्ति विशिष्ट पाउना तथा विदेशी पर्यटकमा पनि देखियो भने नेपालका होटलहरूप्रति उनीहरुको विश्वासनीयता कम हुँदै जान्छ । हुनसक्छ होटलले आफ्नो प्रतिष्ठाका आँच आउन सक्ने डरले यो विषय बाहिर ल्याउन चाहेन ।  होटलका सुरक्षाका कर्मचारीले चेकजाँच गर्ने आश्वासन दिएपछि मैले पनि यस विषय सामाजिक सञ्जालमा लेख्न हतार गर्न हुन्न भन्ने लाग्यो ।

पैसा हराएको रात मेरियट होटलजस्तो प्रतिष्ठित होटलमा पैसा खसे पनि वा चोरी भए पनि फिर्ता होला भन्ने लागेको थियो । भोलिपल्ट गुनासो गर्न जाने क्रममा नै हराएको पैसा र चस्मा फिर्ता होला भन्ने मलाई थियो । तर मैले सोचेजस्तो भएन । सीसीटीभी फुटेज हेर्दा नै चोरी गर्ने व्यक्ति सहजै पहिचान हुने मलाई लागेको थियो । त्यो सबै कुराको सम्भावना कम हुँदै गएपछि आज आफ्नो अनुभव लेख्न बाध्य भएको हुँ । 

पाँचतारे सुविधासम्पन्न होटलका सभा हलमा ग्राहकको गोपनियताका नाममा सीसीटीभी जडान हुँदैन् वा गरिदैन भन्नु तर्कसंगत कुरा होइन । यस्ता सभाहलमा हुनसक्ने जुनसुकै खालका घटनाको निगरानी गर्न पनि सीसीटीभी जरुरी हुन्छ । होटल संघ नेपाल (हान)का एक पदाधिकारीका अनुसार पाँचतारे होटलमा सीसीटीभी क्यामरा जडान गरिएको हुन्छ । यद्यपि त्यो बाहिर देखिने गरी राखिएको हुँदैन र विशेष अवस्थामा मात्रै त्यसको फुटेज सार्वजनिक गरिन्छ । अन्यथा गरिन्न । कुनै ठूलै घटना घट्दा मात्रै प्रहरीलाई सो कुरा उपलब्ध गराइन्छ । 

पर्यटन विभागले पनि पाँचतारे होटलहरूको सभाहल बैठक कक्ष, लबीसहितका अधिकांश स्थानमा सीसीटीभी क्यामरा जडान अनिवार्य गर्नुपर्ने हुन्छ । तर होटलका कोठाहरूमा भने राखिएको हुँदैन । होटलमा जडान गरिएका यस्ता सीसीटीभी क्यामराको डेटा छ महिनासम्म होटलले सुरक्षित राख्नुपर्ने हुन्छ । यदि होटलभित्र ग्राहकको कुनै लगेज, झोला वा अरु बहुमूल्य सामान हराएमा वा चोरी भएमा होटल नै जिम्मेवार हुनुपर्छ ।

तर,  होटल मेरियटबाट हराएको मेरो रकम र चस्मा सुरक्षित रूपमा फिर्ता मिल्ने कुनै संकेत देखिएको छैन । 

 

Advertisement

Advertisement