कारोबार रोक्का भएको विशाल बजारको कारवाही फुकुवा गर्ने तयारी, यस्तो छ वित्तीय अवस्था

Advertisement

काठमाडौं । विशाल बजार कम्पनी लिमिटेडको गत माघ १८ गतेदेखि रोक्का भएको सेयर कारोबार आगामी साताबाट खुल्ने संकेत देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले माग गरेको अनअडिटेट वित्तीय विवरण विशाल बजार कम्पनीले तयार गरेसँगै सो संकेत देखिएको हो ।

विशाल बजार कम्पनीका वरिष्ठ इन्जिनियर तथा प्रशासन प्रमुख विष्णुबाबु केसीका अनुसार आफूहरूले वित्तीय विवरण नेप्सेमा पठाईसकेको र आगामी साता आईतबारबाटै रोक्का भएको सेयर कारोबार सञ्चालनमा आउँने छ । 

Advertisement

कम्पनीका वरिष्ठ इन्जिनियर तथा प्रशासन प्रमुख केसीले कर्पोरेट नेपालसँग भने, ‘हामीले नेप्सेबाट माग भए अनुुसारको विवरण पठाईसकेका छौं । अझै पनि हाम्रो सेयर कारोबार रोक्का गर्नुपर्ने खास कारण छैन् । आगामी साता आईतबारबाट हाम्रो कारोबार फुकुवा हुनसक्छ ।’

यस्तै, नेप्सेका प्रवक्ता मुराहरि पराजुलीका अनुसार नेप्सेले मागेअनुरुप काजगपत्र आईपुगेमा विशाल बजार कम्पनीको सेयर कारोबार फुकुवा गर्न कुनै समस्या छैन् ।
‘हामीले विशाल बजार कम्पनीलाई वित्तिय अवस्था लिखित रुपमा नै पेश गर्न भनेका छौं, वित्तिय अवस्थाको तयारी कम्पनीले अन्तिम चरणमा पुर्याएको हामीले जानकारी पाएका छौं, लेखा परिक्षण नगरिएकै वित्तिय विवरण भए पनि हामीलाई प्राप्त भएमा सेयर कारोबार सम्भवत खुल्छ’, उनले भने ।

यस्तो छ कम्पनीको वित्तीय अवस्था 
विशाल बजार कम्पनीले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७३–७४ देखि कम्पनीले आफ्नो अडिटेड वित्तीय विवरण तयार गर्न सकेको छैन् । सो आर्थिक वर्षको वित्तीय विवरण अडिटको अन्तिम तयारीमा छ । यस्तै, कम्पनीले आर्थिक वर्ष २०७४–७५ को वित्तीय विवरण पनि अडिट गर्ने तयारीमा छ । तर, कम्पनीले चालु आर्थिक वर्षको पुस मसान्तसम्मको अनअडिटेड विवरण भने तयार गरिसकेको छ । 

साधारण सभा
विशाल बजार कम्पनीले सम्पन्न गर्न खोजेको आर्थिक वर्ष २०७०–७१ र २०७१–७२ को साधारण सभा विगतमा सेयरधनीको विरोधका कारण सफल हुन पाएको थिएन् । सर्वसाधारण सेयरधनीहरूले विरोध जनाएपछि स्थगित भएको कम्पनीको ३४ औं वार्षिक साधारण सभा हालसम्म पनि सम्पन्न हुन सकेको छैन ।

विशाल बजार कम्पनीले आफ्नो जग्गा १२ रोपनी ४ आना रहेको बताउँदै आएको छ । सरकारले ८ रोपनी जग्गाको मूल्यांकन गरी सेयरमा परिणत गर्ने निर्णय गरेसँगै सर्वसाधारण सेयरधनीले आपत्ति जनाएका थिए । सोही लगानीकर्ताकै आपत्तिका कारण कम्पनीको साधारण सभा रोक्का भएको थियो । कम्पनीको जग्गाको तत्कालिन बजार मूल्यअनुसार तीन करोड १७ लाख नेपाल सरकारको नाममा जाने भनेसँगै सेयरधनीले आफ्नो जग्गाको समेत मूल्यांकन हुनुपर्ने माग गरेका थिए ।

विशाल बजारको सेयरमा लगानीकर्ताले किन लगाउँछन् आखाँ ?

विशाल बजार कम्पनीले आर्थिक वर्ष २०६६–६७ देखि लगानीकर्तालाई लाभांश बाँडेको छैन । कम्पनीले एक दशकभन्दा लामो समयदेखि आफ्ना लगानीकर्तालाई लाभांश बाँड्न बाँकी छ । 

सोही लाभांश बाँड्न बाँकी रहेकै कारण पनि कम्पनीको संचित नाफा बढ्दो छ । आगामी दिनमा कम्पनीले उचित प्रतिफल दिन्छ भन्दै लगानीकर्ता आकर्षित हुने गरेको जानकारहरू बताउँछन्  । 

नाफाको अवस्था
विशाल बजार कम्पनीले दिएको जानकारी अनुसार कम्पनीले एक आर्थिक वर्षमा कम्तीमा पाँच करोड रुपियाँ नाफा आर्जन गर्छ । यस्तै, कम्पनीको हालसम्म संचित नाफा ७७ करोड ७७ लाख रुपियाँ पुगेको छ । कम्पनीले आफ्नो अनअडिटेड वित्तीय विवरणलाई आधार बनाई सो तथ्यांक तयार पारेको हो ।

सेयर मूल्यमा आकर्षण किन ?
विशाल बजार कम्पनीको सेयर मूल्यमा लगानीकर्ताको राम्रो आकर्षण रहदै आएको छ । कम्पनीको सेयर मूल्य विगतमा प्रतिकित्ता ४ हजार रुपियाँ नाघेको थियो भने पछिल्लो समयप्रति कित्ता २८ सय २८ रुपियाँ कायम छ ।

विशाल बजार कम्पनीका एक कर्मचारीले कर्पोरेट नेपाल डटकमसँग भने, ‘कम्पनीले लामो समयदेखि लाभांश वितरण नगरेकै कारण विशाल बजारसँग लगानीकर्ताको आशा धेरै रहेको हुनसक्छ ।’

यस्तै, सेयर लगानीकर्ताले अहिले केही विवाद देखिए पनि विशाल बजार कम्पनी राजधानीको मुटुमा रहेको तथा भोलिका दिनमा पनि सो कम्पनी चल्ने कुरामा कुनै शंका नरहेकाले लगानीकर्ता आकिर्षत रहेको बताएका छन् ।

वेभसाईट हेर्नबाटै लगानीकर्ता वञ्चित 
सूचीकृत पब्लिक लिमिटेड कम्पनीहरूले प्रत्येक तीन महिनामा आफ्नो वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार अन्य कम्पनीहरूले आफ्नो वेभसाईटमा वित्तीय विवरण राख्ने गर्छन् । तर विशाल बजार कम्पनीको भने अवस्था फरक छ । विशाल बजार कम्पनीले वित्तीय विवरण राख्नु त परको कुरा कम्पनीको आफ्नो वेभसाइट समेत छैन्।

विश्वमै अहिलेको खुल्ला अर्थतन्त्र र वित्तीय सुशासनका नीतिहरू कडाईका साथ अघि बढिरहेका छ । यस्तो अवस्थामा विशाल बजार कम्पनीेले भने आफ्नो वेव साइट सञ्चालनमै लापरबाही गरिरहेको छ । विशाल बजार कम्पनीको वेभसाईट खोज्दा ‘अन्डर कन्सट्रक्सन’ देखाउँने गर्छ । वेभसाईटमा विशाल बजार कम्पनीको अवस्था हेर्न नपाउँदा सर्वसाधारण सेयरधनीहरू कम्पनीको वित्तीय अवस्था थाहा पाउनबाट वञ्चित छन् ।

यता, विशाल बजार कम्पनीले भने प्राविधिकहरूको खोजी भईरहेको र छिट्टै आफ्नो वेभसाईट सञ्चालनमा आउने जानकारी दिएको छ ।

विशाल बजार कम्पनीलाई छिट्टै प्रविधि मैत्री बनाउनु पर्ने र उक्त कुरामा निकै बिलम्ब  भएको भन्ने सोही कम्पनीमा कार्यरत कर्मचारीहरूले गुनासो गरेका छन् ।

साथै, पछिल्लो समय नेप्सेले विशाल बजार कम्पनीलाई किन कडाई गर्यो भन्ने प्रश्न कम्पनीका कर्मचारीहरूले उठाएका छन् । विगतमै नेप्सेले वित्तीय विवरण माग गरेको भए थप सान्दर्भिक हुने कर्मचारीहरूको आँकलन रहेको छ ।

तर वर्षोदेखिको लेखापरीक्षण नेप्सेले अहिले एकै पटक माग गरेको छ । विगतका दिनमा वित्तिय विवरण खोज्ने कुरामा नेप्से किन सुस्ताएको थियो होला ? सो विषयले बारम्बार आफूहरूमा दुविधा सिर्जना गरेको विशाल बजारका कर्मचारीहरूले जानकारी दिएका छन् ।

Advertisement

Advertisement