काठमाडौं । बीमा कम्पनीहरूले कोरोनाले भयावह रुप लिए पनि आफूहरूले बीमितले पाउने सेवा नरोक्ने जनाएका छन् । दुःखमा काम लाग्ने एक मात्र साथी बीमा भएकाले महामारीमा बीमा सेवा जारी रहने बीमा कम्पनीका सीईओहरु बताउँछन् ।
जीवन बीमा कम्पनी प्राईम लाइफ इन्स्योरेन्सका (सीईओ) मनोजकुमार भट्टराई भन्छन्, ‘सुरुमा कोरोना महामारी आउँदा के–कस्तो होला ? भनेर सबैमा अन्यौल नै सिर्जना भएको थियो, तर अहिले रोगको डर एकातिर भएपनि कोराना महामारी जति फैलिदै जान्छ हामी पनि त्यति नै बलियो व्यवस्थापनमा जुट्दै जानेछौं ।’ उनले कोरोना महामारी फैलिए पनि आफूहरूले सकेसम्म बीमितलाई दिने सेवामा कुनै पनि कसुर बाँकी नराख्ने बताए ।
‘विगतमा पास नपाउँदा सीइओहरूलाई निकै सास्ती भएको, डिजिटल्ली काम गर्न पनि कर्मचारी अभ्यस्त नभएको स्थिती रहे पनि अब भने आफूहरू पनि केही अनुभवी भइसकेकाले बीमितहरु ढुक्क भए हुन्छ’–उनले भने ।
त्यस्तै, अजोड इन्स्योरेन्स कम्पनीमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) कुमारबहादुर खत्रीले कर्पोरेट नेपालसँग भने, ‘अहिले नै सेवा रोक्ने बेला आएको छैन, भोलिको दिनमा जोखिम धेरै बढ्न सक्ला, त्यसरी जोखिम नै बढ्यो भने पनि हामीले बीमा सेवा रोक्ने होइन, अनेक उपाय अपनाएर भए पनि बीमितले पाउने सुविधा हामीले दिनेछौं ।’ बीमा समितिबाट निर्देशन आउनु पूर्व नै आफूहरूले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर काम गरिरहेको (सीईओ) खत्रीको भनाई छ ।
बिहीबार बीमा समितिले कम्पनीहरूलाई स्वास्थ्य सेवा अपनाउन तथा सकेसम्म डिजिटल्ली काम गर्न निर्देशन दिएको छ । कम्पनीहरूले पहिलो पटक कोरोना महामारी आउँदा आफूहरूलाई अन्यौल सिर्जना भएको स्मरण गरेका छन् । तर अब एक पटक व्यवस्थापन भईसकेकाले अब कोरोना महामारीले विकराल रुप लिए पनि आफूहरू सकेसम्म बीमितलाई दिने सेवा नरोक्ने बताएका हुन् ।
अहिले छिमेकी राष्ट्र भारतमा कोरोना महामारी डरलाग्दो रुपमा फैलिदै छ भने मृत्युदर पनि बढ्दो छ । ठीक यही अवस्थामा नेपाल पनि सरकारले अत्यावश्यक कामका लागि मात्र बाहिर निस्किन नागरिकमा अनुरोध गरिरहेको अवस्था छ ।
गत वर्षबाट सुरु भएको कोरोना महामारी (कोभिड–१९) को प्रभाव विश्वभरी नै परेको छ । कतिपय देशमा कोरोना निकै हदसम्म नियन्त्रण भईसकेको छ भने कतिपय देशमा उक्त महामारी झम्टी–झम्टी जाग्न थालेको छ । नेपालको सन्दर्भमा हेर्दा केही समय अघि कोरोनाको त्रासबाट नागरिकहरू निकै हदसम्म मुक्त भएका थिए । तर पछिल्लो समय कोरोना महामारीले पुनः सताइरहेको छ ।