काठमाडौं । कोरोना बीमाको दाबी भुक्तानीमा प्रक्रियागत झन्झट देखिए पनि हालसम्म कोरोना बीमा भने सञ्चालनमै छ । कोरोना बीमा गराउन चाहने नयाँ बीमितले अहिले पनि कोरोना बीमा गराउन सक्छन् । कोरोना बीमा टर्म पोलिसि हो । सोही कारण दुई पटक कोरोना बीमा गराउन मिल्दैन । तर अहिले पनि विगतमा कोरोना बीमा नै नगरेका नागरिकले भने यस योजनामा सहभागी हुनसक्ने कम्पनीहरू बताउँछन् ।
अहिले कोरोना बीमा गराउँदा सो बीमाको म्याद आगामी असार मसान्तसम्म हुन्छ । असार मसान्तपछि भने कोरोना बीमाको अवधि पूर्णरुपमा सकिन्छ । असार मसान्तसम्म कोरोना पोजेटिभ देखिएको अवस्थामा बीमितले अझै पनि दाबी भुक्तानी पाउन सक्छन् । तर एक पटक कोरोना बीमा गरेका बीमितको हकमा भने कोरोना पोजेटिभ देखिए पनि वा नदेखिए पनि कोरोना बीमा भने दोहोर्यर नगर्ने निर्णय गरिएको छ । कोरोना बीमाको बारेमा पूर्ण जानकारी नपाउँदा बीमितमा केही अन्योलता सिर्जना भएको छ । बीमा कम्पनीहरूले विगतको तुलनामा कोरोना बीमा गराउने बीमितको संख्या अत्यन्तै न्यून रहेको बताएका छन् ।
अहिले नयाँ भ्यारियन्ट सहितको कोरोना महामारीको संक्रमण फैलिरहेकोले कोरोना बीमा गर्न मिल्छ कि मिल्दैन ? भन्ने नागरिकको चासो बन्दै आएको छ । कोरोना बीमा गरेका सबैले दाबी भुक्तानी नपाएको अवस्थामा बीमा कम्पनीहरूले भने कोरोना बीमाको दाबी भुक्तानी सरकारको हातमा रहेको र बीमितहरूले ढुक्कसँग बस्नुपर्ने बताउने गरेका छन् । अहिले कोरोना बीमाको दाबी भुक्तानी नपाउनेलाई मात्र हेर्नुभन्दा पनि कोरोना बीमा गरेर लाभ लिने समय बाँकी रहेकोले त्यसबाट लाभ लिन बीमा कम्पनीहरूको सुझाव छ ।
कोरोना बीमा चालु आर्थिक वर्ष २००७७–७८ को बजेटमा समावेश पनि भएको छ । कोरोना बीमाको दाबी भुक्तानीमा समस्या रहे पनि बीमा कम्पनीहरूले अझै पनि छोटो सयमको लागि कोरोना बीमा सञ्चालनमा रहने बताएका छन् । सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चंकी क्षेत्रीका अनुसार कोरोना बीमा छोटो समयको लागि ल्याइएको भए पनि अझै कोरोना बीमा गराउन मिल्छ ।
‘यही असारबाट कोरोना बीमाको म्याद सकिँदैछ तर अझै पनि नागरिकले कोरोना बीमा चाहीं गर्न सक्नुहुन्छ । पहिले कोरोना बीमा नगरेका बीमितले यो योजना सहभागी हुन सक्नुहुन्छ । हामीले कोरोना बीमा सामाजिक उत्तरदायित्व अन्तर्गत ल्याएका थियौं’, सीईओ क्षेत्रले कर्पोरेट नेपालसँग भने । उनले कोरोना बीमाको दाबी भुक्तानीका लागि सरकारको समेत साथ रहेकाले सबै बीमितले पाउनुपर्ने पैसाको सन्दर्भमा ढुक्क बस्न आग्रह गरे ।
त्यस्तै, अजोड इन्स्योरेन्स कम्पनीका सीईओ कुमारबहादुर खत्रीले अहिले कोरोना बीमा गराउने बीमितको संख्या न्यून रहे पनि कोरोना बीमा गराउने अवधि भने कायमै रहेको बताए । उनले भने, ‘कोरोना बीमाको म्याद त अब सकिनै लागेको छ, त्यही पनि कोरोना बीमा गर्न चाहनेले अझै पनि गराउन सक्नहुन्छ ।’
कोरोना पोजेटिभ देखिएको अवस्थामा अहिले बीमितले २५ हजार नगद तथा ७५ हजार रुपियाँ बराबर अस्पतालका सुविधा पाउन सक्छन् । यसको मतलब कोरोना बीमाको बीमांक भने एक लाख रुपियाँ नै रहेको छ ।
के हो कोरोना बीमा ?
कोरोना बीमा अन्य बीमाभन्दा फरक मोडलले सञ्चालन गरिएको बीमा कार्यक्रम हो । बीमा क्षेत्रका कतिपय जानकारहरूले यसलाई बीमा नै होइन समेत भनेका छन् । त्यस्तो भन्नुका पछाडि विश्व बजारमा कहिल्यै पनि महामारीको बीमा नहुनु हो। तर नेपालमा कोरोना महामारीको समयमा परीक्षणको रुपमा बीमा सुरु गरिएको थियो ।
कतिपय सीईओहरूले कोरोना बीमा एक्चुरीको विज्ञताबाटभन्दा पनि दुई तीन जना बीमा क्षेत्रका अधिकारीहरूको सहमतिबाट मात्र आएको आरोप समेत लगाएका छन् । सुरुमा कोरोना बीमा आउँदा जीवन वा निर्जीवन कुन कम्पनीले गर्ने हो ? भन्नेमा स्पष्ट भएको थिएन् । हाल कोरोना बीमा निर्जीवन बीमा कम्पनीमार्फत सञ्चालित छ । जीवन बीमा कम्पनीहरूले कोरोना प्रोडक्ट जीवन बीमामा समावेश नभएको भन्दै खुशी व्यक्त गर्ने गरेका छन् ।
तर निर्जीवन बीमा कम्पनीका सीईओहरूले अहिले कोरोना महामारीको प्रभावबारे प्रश्न सोध्दा झोक्किने गर्छन् । केही सीईओहरूले कोरोना बीमा गराउने बीमित बढ्दा पहिले जति खुशी भए पनि पछि हैरान भएको अनुभव सुनाउँछन् ।
गत वर्ष वैशाख पहिलो साता कोरोना बीमा व्यक्तिगत रुपमा समेत सञ्चालित थियो । कोरोना महामारी नेपालमा बढेसँगै कोरोना बीमाको समेत मोडल परिवर्तन हुनपुग्यो । गत भदौ २८ गतेबाट कोरोना बीमाको मोडालिटि परिवर्तन गरिएको थियो ।
अन्य बीमा गराउन हिच्किचाउनेहरू पनि कोरोना बीमा गर्न लालयित हुँदै आएका छन् । जम्मा छ सय रुपियाँ बुझाउँदा एक लाख रुपियाँ दाबी भुक्तानी गर्न सकिने भएकाले पनि यसतर्फ बढि आकर्षण देखिएको हो । तर अनपेक्षितरुपमा धेरैले कोरोना बीमा गरेर दाबी गर्न आउन थालेपछि बीमा कम्पनीहरू आत्तिएर सरकारको सरणमा पुगेका थिए ।
अहिले कोरोना बीमाको कुरा गर्दा अधिकांश बीमा कम्पनी हच्किने गरेका छन् । सरकारले समेत दाबी रकमको निश्चित रकम व्यहोर्न तयार भएपछि कम्पनीहरूलाई राहत भएको थियो । यद्यपि कम्पनीहरूले कोरोना बीमा गरेर ढिलो–चाडो लाभ मिल्ने आवश्वासन अझै पनि बाँड्दै आएका छन् ।
यस्तो छ बीमा दाबी भुक्तानीको अवस्था
बीमा समितिले कोरोना बीमाको तथ्यांक दुई साताअघि आफ्नो वेभसाइटमार्फत सार्वजनिक गरेको छ । तथ्यांक अनुसार हालसम्म कोरोना बीमाका ९१ हजार ५७३ फाइल पूरा भईसकेका छन् । साठी हजार ५७० जनाको पाँच अर्ब ८५ करोड १५ लाख बराबरको भुक्तानी भइसकेको छ । त्यस्तै, १८ हजार ८५९ जनाको फाइल टेकुस्थित ईसीसीडीमा स्वीकृतीका लागि रोकिएको अवस्थामा छ ।