काठमाडौं । बीमा समितिले आउँदो साउन १ गतेदेखि नै सेन्ट्रल डाटा बैंक ल्याउने भएको छ । डाटा बैंक सञ्चालनमा ल्याएसँगै बीमा कम्पनीका विवरणहरूमा एकरूपता कायम हुने समितिले आशा लिएको छ ।
समितिका अध्यक्ष सूर्य सिलवालका अनुसार अहिले बीमा कम्पनीहरूको डाटालाई सेन्ट्रल डाटा बैकको मोडेलमा राख्न अति आवश्यक छ । उनले कर्पोरेट नेपालसँग भने, ‘हामीले गरेनौ भने काम हुँदैन । तर गर्दै गयौं भने यस्ता सेन्ट्रल डाटा राख्ने जस्ता काम पनि सम्भव हुन्छ । यसले बीमा कम्पनीलाई समयमा तथ्यांक पठाउन र सही तथ्यांक पठाउन बाध्यता पनि सिर्जना गर्छ । सही काम हुँदै जाँदा बीमामा बीमितको विश्वास पनि बढ्दै जान्छ ।’
यही कामलाई मद्दत पुग्योस भनेर आफूहरूले सफ्टवयरसमेत तयार गरिरहेको सिलवालले बताए । उनले भने, ‘मलाई लाग्छ यही साउन १ गतेबाटै हामीले यो सिस्टम सुरुवात गर्छौं । सुरुवात भईसकेपछि सबै बीमा कम्पनीका सिईओलाई बोलाउँछौं । समितिको तर्फबाट पनि प्राविधिकहरू राख्छौं । सबैजना मिलेर छलफल गर्छौं ।’
अध्यक्ष सिलवालले एकल निर्णय गरेर समितिले जर्बजस्ती रूपमा डाटा बैंक चलाउनेभन्दा पनि जीवन बीमा र निर्जीवन बीमा दुवै क्षेत्रसँगको छलफलपछि यसलाई कुन मोडलमा र कहिलेसम्म कसरी अघि बढाउने ? भन्ने लगायतको निचोड निकाल्ने बताए ।
उनले थपे, ‘हामी बीमा समिति एक्लैले मात्रै त काम गर्ने होइन नी । त्यसैले हामी बीमा कम्पनीसँग पनि घुलमिल गर्दै उहाँहरूको राय सल्लाह लिँदै सेन्ट्रल डाटाको काम अघि बढाउछौं ।’
एलआईसी नेपालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लक्ष्मीप्रसाद (एलपी) दासले सेन्ट्रल डाटा बैंकको अभ्यास सूरू गर्नु भनेको बीमा क्षत्रेकै लागि राम्रो कुरा हो भने । उनले यो सिस्टम निकै अगाडि सञ्चालन हुनुपथ्र्यो भने ।
उनका अनुसार सेन्ट्रल डाटा बैंकले बीमा क्षेत्रका तथ्यांक राख्ने मात्रै काम गर्दैन । यसबाट राखिएका तथ्यांकको क्षेत्रगतरूपमा कुनको अवस्था के–कस्तो छ ? भन्ने पनि जानकारी लिन मद्दत पुग्छ । सिङ्गल प्रिमियम पोलिसि, नन सिङ्गल प्रिमियम पोलिसि, ग्रुप इन्स्योरेन्स लगायतको जानकारी समितिकै वेभसाइटमा उपलब्ध हुँदा यसले क्षेत्रगत रूपमा पनि तथ्यांक दिने दासको भनाई छ ।
उनले केन्द्रीय बैंकमा तथ्यांक राख्दा यसले भिन्दा–भिन्दै शीर्षकमा गरिएका बीमालाई एकै ठाउँमा मिसाउन नहुने र सो कुरा केही चुनौती पूर्ण हुनसक्ने बताए ।