काठमाडौं । लामो समयदेखि विवादित बनेको कोरोना बीमाको दाबी भुक्तानीलाई पूर्णता दिन अझै समय लाग्ने देखिएको छ । यस क्षेत्रको नियामक निकाय बीमा समितिले नै कोरोना बीमाको दाबी भुक्तानीले कहिले पूर्णता पाउँछ ? भन्ने विषयमा अनविज्ञता प्रकट गरेको छ ।
आम जनताले प्रत्यक्ष सरोकार राख्ने कोरोना बीमाको दाबी भुक्तानीमा भइरहेको ढिलाईले बीमाप्रति नै उनीहरूमा नकारात्मक धारणा बढ्ने देखिएको छ । विवादका बीच बीमितहरूले दावी भुक्तानी पाउने क्रम ढिलै भए पनि जारी रहेको छ । तर बीमितहरूको ठूलो हिस्साले अझै पनि भुक्तानी नपाएको भन्दै गुनासो गर्दै आएका छन् ।
सरकारको लगानी रहेको राष्ट्रिय बीमा कम्पनीले नै सबैभन्दा धेरै बीमा दावी भुक्तानी नगरी बसेको छ । अहिले अधिकांश ठाउँमा कोरोना बीमाकै चर्चा सुनिने गर्छ । ठूलो रकमको जीवन बीमा गर्ने बीमितले पनि बीमालाई कोरोना बीमासँग तुलना गरेर हेर्ने गरेको देखिएको छ ।
यता नेपाल बीमक संघका पदाधिकारीले नै कोरोना बीमाको समस्या नसुल्झिँदा आफूहरूलाई व्यवसाय सञ्चालन गर्न समस्या परेको बताएका छन् । उनीहरूले कोरोना बीमाले बजारीकरणमा प्रभावित हुने जोखिम रहेको गुनासो सुनाएका छ ।
कोरोना बीमाको बाँकी भुक्तानी सल्टाउन आफूले निकै प्रयास गरे पनि पूर्णता पाउन नसकेको समितिका अध्यक्ष सूर्य सिलवाल बताउँछन् । कोरोना बीमा नै विवादित विषय रहेछ भन्दै सिलवाल भन्छन्ः
बीमा समिति सकेसम्म कोरोना बीमाको सबै दाबी–भुक्तानी सल्टाउनुपर्छ भनेर प्रयास गरिरहेको छ । कसको जिम्मेवारी कहाँ छ ? र क–कसले के गर्नुपर्छ ? भन्ने सन्दर्भमा बीमा समितिले अहिले पनि आवश्यक ठाउँमा कागज पत्र पठाईरहेको छ । यसको मतलब आन्तरिक काम भईरहेको छ ।
अब कुरा आयो सबै भुक्तानी एकै पटकमा हुन्छ कि हुँदैन ? भन्ने । त्यो त थाहा छैन् । अर्थ सचिव शिशिर ढुंगानाले केही पैसा अहिले नै दिने हो र यसरी नै निरन्तरता दिएर कोरोना बीमाको भुक्तानी सक्ने योजना रहेको मलाई जानकारी दिनुभएको छ ।
कोरोना बीमाको दावी भुक्तानी कहिले सकिन्छ ? ठ्याक्कै त अहिले नै भन्न सकिने अवस्था छैन । यसरी ठ्याक्कै भन्न सकिने अवस्था किन रहेन भने मैले त पहिले जारी भइसकेको बीमा पोलिसि त अहिले परिवर्तन गर्न सक्दिन नि । कोरोना बीमा ल्याउन हुन्थ्यो कि हुँदैन्थ्यो ? यो त आँफैमा एउटा विवादको विषय हो । विश्वमा नै नभएको बीमा नेपालमा ल्याउन हुन्थ्यो कि हुँदैन्थ्यो ? तर यहाँ त राजनीतिक रूपमा हाइलाईट हुन कोरोना बीमा ल्याइएको रहेछ । तै पनि त्यसमा सबैको दायित्व चाहीं तोकिएको छ ।
बीमा समितिले पनि एक अर्ब रूपियाँ हाल्नुपर्ने थियो । समितिले उक्त रकम हालिसकेको अवस्था छ । त्यस्तै, हामीले निर्देशन दिएर हाल्न लगाउनुपर्ने रकम चाहीं नेपाल पुनर्बीमा कम्पनीको थियो । हामीले त्यो रकम पनि हाल्न लगाईसकेका छौं । पचास करोड रूपियाँ बराबरको पैसा बीमा पुलबाट हाल्नुपथ्र्यो । हामीले त्यो पनि हालिसकेको अवस्था छ । त्यस्तै बीमितबाट उठेको बीमाशुल्कको पैसा पनि भुक्तानी भई नै सकेको छ ।
४५–४६ हजार नागरिकको कोरोना बीमाको दाबी भुक्तानी भइसक्यो । उनीहरूलाई साढे चार अर्ब रूपियाँ बराबरको भुक्तानी गरिसकिएको छ । अब यसलाई भुक्तानी भएकै छैन् भन्न त मिल्दैन नि । कोरोना बीमाको छ अर्ब रूपियाँभन्दा धेरै पैसा हामीले भुक्तानी गर्न बाँकी छ ।
अब त्यो पैसा पनि अर्थ मन्त्रालयबाट आउने हो । बीमा गरेपछि पैसा पाउनै पर्छ । पैसा पाउने कुरामा कुनै शंका नै छ्रैन । हामीले पाउनै पर्छ भनिरहेका मात्रै पनि छैनौं सँगसँगै भुक्तानी गरिरहेका पनि छौं । बाँकी रकम पनि भुक्तानी हुनुपर्यो भनेर हामीले त्यसमै होमवर्क पनि गरिरहेकै छौं ।
बीमा समितिले त सबै बीमा दाबीको समयमै भुक्तानी हुनुपर्छ भनेर काम गर्ने हो । त्यसैले हामीले कोरोना बीमाको पनि समयमा नै भुक्तानी हुनुपर्छ भनेर काम गर्दै आएका छौं । कोरोना बीमा दायित्व हो । सरकारले दिने भनेपछि हामीले विश्वास गर्नुपर्छ । सरकारले त झुटो बोल्दैन भनेर जनताले विश्वास गर्ने हो ।
सरकारले दिनुपर्ने रकम अर्थमन्त्रालयले दिने भइसकेको छ । तर सरकारबाट आएको पैसाले कतिलाई भुक्तानी गर्न पुग्छ ? त्यो चाहीं हामीले भन्न सक्ने अवस्था छैन् । सरकारले दिएको पैसाले पुगेन भने हामीले फेरि सरकारसँगै माग्ने हो । दुई पटक मागिसकेका छौं । कोरोना बीमाको दाबी भुक्तानी क्रमशः हुन्छ । सबै भुक्तानी नहुन्जेलसम्म हामीले मागिरहने हो । हाम्रो माग जारी रहन्छ ।
सरकारका पनि केही बाध्यता होलान्, त्यो आफ्नो ठाउँमा छ । तर सकेसम्म भुक्तानी चाडै हुनुपर्छ भन्ने पक्षमा हामी पनि छौं ।
कसरी सुरु भयो कोरोना बीमा ?
बीमा समितिले गत वर्ष बैशाख पहिलो साता कोरोना बीमा पोलिसि जारी गरेको थियो । त्यतिबेला बीमितले दुई मोडलमा कोरोना बीमा गर्न मिल्थ्यो । तर बीमितको संख्या र उक्त बीमाको दाबीमा अप्रत्यासित वृद्धिसँगै कोरोना बीमा एउटा मोडलबाट मात्रै गर्न मिल्ने बनाइयो । गत वर्ष भदौ २८ गतेदेखि कोरोना बीमा एउटै मोडेलमा आएको हो ।
तर छिमेकी मुलुक भारतमा कोरोना संक्रमण बढ्नु र नेपालसँगको खुला सिमानाबाट भारत र नेपालको आवत जावतले कोरोना संक्रमण पनि ह्वातै बढेको थियो । त्यसको असर सिधा बीमा कम्पनीमा पर्यो । बीमा कम्पनीले कोरोना बीमा अन्य बीमा पोलिसिमा जस्तै बीमितको सामान्य सहभागीता रहने र नेपालमा कोरोनाका संक्रमित दर पनि कम हुने आँकलनका साथ ल्याएको बीमा क्षेत्रका जानकारहरू बताउँछन् ।
तर वास्तविकता त्यस्तो भएन । कोरोना बीमा गर्नेको संख्या र यसको दाबीको संख्या निरन्तर उकालो लागिरह्यो । गत वर्ष भदौ २८ गते अगाडि गरेका बीमितका कागजपत्रमा समस्या देखिन थाल्यो । अस्पतालले बनाएका कोरोना कतिपय रिर्पोटमा गडबडी हुन थाल्यो । सोही कारण कोरोनाका वास्तविक पीडितले पैसा पाएनन् । कोरोना बीमामा अन्तिम दायित्व आफूले व्यहोर्ने सरकारले नीति अघि सार्यो ।
कोरोना बीमा यही असार महिनाबाट सक्किँदैछ । भन्नाले अब कोरोना बीमा गर्न मिल्दैन् । तर कोरोना बीमाको भुक्तानी भने बाँकी नै छ । बीमितले सो भुक्तानी पाउन अनेक सास्ती खेपिरहेका छन् । यो समस्या सकेसम्म चाँडै समाधान गरे मात्र बीमाप्रति बीमितको विश्वास बढ्ने र बीमाप्रति टुटन लागेको जनताको विश्वास बढेर जाने देखिन्छ ।