महालेखा भन्छ– विद्युत प्राधिकरणको नाफा घट्यो, चुहावट बढ्यो, बक्यौता बढ्यो

Advertisement

काठमाडौं । महालेखापरीक्षकको कार्यालयको आर्थिक बर्ष २०७७–७८ को बार्षिक प्रतिवेदनले नेपाल विद्युत प्राधिकरणको नाफा घट्नुका साथै चुहावट बढेको देखाएको छ । प्राधिकरणले आफ्नो नाफा बढेको र चुहावट घटेको दावी गर्दै आएको बेला महालेखाको बुधबार सार्वजनिक ५१औं प्रतिवेदनले विवरण नकारात्मक देखाएको हो । 

प्रतिवेदनअनुसार आर्थिक बर्ष २०७७–७८ मा विद्युत चुहावट १.१९ प्रतिशतले बढेर १७.१८ प्रतिशत पुगेको छ । आर्थिक बर्ष २०७६–७७ मा १५.९९ प्रतिशत रहेको विद्युत चुहावट आर्थिक बर्ष २०७७–७८ मा १३.५० प्रतिशतमा झार्ने लक्ष्य राखिएको थियो । महालेखाले चुहावट वृद्धि भएको हुँदा यसको कारण पत्ता लगाई तेस्रो पक्षबाट स्वतन्त्र मूल्यांकन गराउनुपर्ने औंल्याइए पनि समस्या यतावत रहेको बताएको छ । 

Advertisement

प्राधिकरणको नाफामा पनि गिरावट आएको छ । आर्थिक बर्ष २०७६–७७ मा १० अर्ब ५ करोड २ लाख रुपियाँ नाफा देखाएको प्राधिकरणले आर्थिक बर्ष २०७७–७८ सात अर्ब ६८ करोडमा खुम्चिएको छ । आर्थिक बर्ष २०७६–७७ मा ३५ अर्ब १२ करोड रुपियाँ बराबरको बिजुली खरिद गरेको प्राधिकरणले आर्थिक बर्ष २०७७–७८ मा ४० अर्ब ८५ करोड रुपियाँको बिजुली किनेको छ । प्राधिकरणले विद्युत उत्पादन बढेको दावी गर्दै आए पनि महालेखाले आन्तरिक उत्पादनमा कमी तथा आयातमा वृद्धि हुँदा समष्टिगत खरिद वृद्धि भएको औंल्याएको छ । 

साथै, प्राधिकरणले असुलउपर गर्नुपर्ने बक्यौता पनि बढेर गएको छ । आर्थिक बर्ष २०७६–७७ को तुलनामा यस्तो बक्यौता १३.१७ प्रतिशत बढेर ३६ अर्ब ४३ करोड पुगेको छ । यसमा डेडिकेटेड तथा ट्रंक लाइनका ग्राहकबाट लिन बाँकी रकम १७ अर्ब १५ अर्ब पुगेको प्रतिवेदनमा उल्लेख छ । त्यसबाहेक सडक बत्तिको चार अर्ब ३२ करोड रुपियाँ प्राधिकरणले उठाउन नसकेको प्रतिवेदनमा उल्लेख छ । 

प्राधिकरणले दाताबाट लिएको ऋण सरकारी हिसाबसँग भिडान नगरेको, भाका नाघेको र ननाघेको साँवा तथा ब्याज रकम देखिने गरी हिसाब नराखेको र सरकारलाई नियमित भुक्तानी गर्नुपर्ने ऋण भुक्तान नगरेको, वित्तीय विवरणमा उल्लेख गरेको आसामी एक अर्ब ५४ करोड रुपियाँको विस्तृत अभिलेख आय लेखांकन सफ्टवेयरमा नराखेको, सफ्टवेयरमा लेखांकन गरिएको एक अर्ब ९८ करोड रुपियाँ वित्तीय विवरणमा समावेश नगरेको जस्ता कैफियत महालेखाले औंल्याएको छ । 

Advertisement

Advertisement