काठमाडौं । पछिल्लो समय हवाई भाडा दर निकै महंगो भएको भन्दै यात्रुहरुबाट निकै गुनासो आउने गरेको छ । हवाई यात्रुहरु बढ्ने क्रम जारी रहेको बेला भाडामा सहुलियत दर गर्नुपर्नेमा वायुसेवा सञ्चालकहरुले यात्रुमाथि ठगी गरेको उनीहरुको आरोप छ ।
तर यो आरोप वायुसेवा सञ्चालकहरुले भने अस्वीकार गर्छन् । विशेषगरी हवाई इन्धनको भाउ निकै चर्को भएकोले त्यसको प्रत्यक्ष मार आफूहरुसँगै यात्रुहरुले पनि खेप्नु परेको श्री एयरलाइन्सका कर्पोरेट प्रवन्धक अनिल मानन्धर बताउँछन् ।
उनले नियामक निकाय नागरिक उड्डयन प्राधिकरणले समेत इन्धनमा भएको ठूलो मूल्यवृद्धिलाई कम गरेर हवाई भाडादर कमी गर्नसक्ने अवस्थामा नरहेको बताए । मानन्धरले भने, ‘अहिले जहाजको भाडा दरमा समस्या आएको कुरा यही यो । तर यो समस्या अन्य कारणले भनाई नेपाल आयल निगमबाटै इन्धन किन्दा मूल्य चर्को भएकाले हो । त्यसको असर हवाई भाडादर सँगै हाम्रो विजनेशमा समेत देखिन थालेको हो ।’
तर कतिपयले हवाई भाडा दर चर्को हुनुमा प्राधिकरणका अधिकारीहरुको समेत संलग्नताको आशंका गर्छन् । मानन्धर थप्छन्,
‘यहाँ एक पक्षीय रुपमा हवाई जहाजले भाडा महंलो लियो भन्ने छन् । कसैले क्यान (प्राधिकरण)माथि शंका गर्ने छन् । यसमा सबैले वास्तविकता बुझ्नु जरुरी छ । इन्धनको भाउ घटेको बेला भाडा कम भएको कुरा पनि बिर्सिनु भएन । इन्धनको भाउ अहिले घट्यो भने तत्कालै भाडा दर समायोजन हुन्छ । तर पहिला इन्धनको भाउ घटाउनु पर्यो सरकारले ।’
भाडा दरको समस्या अन्तर्राष्ट्रिय उडानमा पनि रहेको तर समस्या भने आन्तरिक उडानमा बढी देखिने गरेको स्वीकार गरे । आयल निगमले हवाई इन्धनमा प्रतिलिटर २५ रुपियाँ नाफा लिएको कुरा उसले नै स्वीकार गर्दै आएको बताउँदै आम मानिसले प्रयोग गर्न थालेको हवाई सेवाको भाडा दर प्रभावित हुनेगरी आयल निगमले इन्धनमा बढी पैसा लिनु उचित नभएको बताए ।
मानन्धरले भने, ‘सरकारले चाहिं इन्धनको भाउ घटाउने कुरा नगर्ने । यता यात्रुले चाहिं पहिलेको भाडा दर हेरेर अहिलेधेरै लियो, हामीलाई ठग्यो भन्न मिल्दैन् । सबैभन्दा पहिले अहिलेको स्थिति के छ ? सबैले बुझ्नुपर्छ । इन्धनको मूल्यवृद्धिको मार यात्रुलाई परेको सबैले थाहा हुन्छ । हामीलाई परेको कसैलाई पनि थाहा हुन्न । जहाज कम्पनीले सित्तैमा जहाज उडाओस जस्तो कसैले पनि गर्न हुँदैन् ।
यात्रुको भाडा दरमा कार्टेलिङ गरेको गुनासोमा पनि सत्यता नरहेको मानन्धरको जिकिर छ । उनले भने, ‘किन होइन भने अहिले प्रतिस्पर्धा गर्ने वातावरण नै छैन् । १९० रुपियाँ लिटरको इन्धन हामीले किनेका छौं । केही समयअघि कोरोना महामारीको समयमा जम्मा ६५ रुपियाँ कायम थियो । यो अन्तर सबैले हेर्नुपर्छ ।’