विदेशी स्यानेटरी प्याडको दबदबा तोड्न सक्रिय महिला उद्यमी गोमा खनाल

Advertisement

काठमाडौ । नेपाललाई स्यानेटरी प्याडमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ महिला उद्यमी गोमा खनाल यतिबेला सक्रिय छन् । विदेशी स्यानेटरी प्याड नेपाली बजारमा हावी भइरहेको बेला यसलाई न्यूनीकरण गर्न खनाल सक्रिय छिन् । 

उनले सरकारले नेपाली प्राथमिकता दिएको खण्डमा स्यानेटरी प्याड उत्पादनमा नेपाल चाँडै नै आत्मनिर्भर हुने विश्वास व्यक्त गर्छिन् । खनालले विगत दुई वर्षदेखि सहयोगी स्यानेटरी प्याड उद्योग सञ्चालन गर्दै आएकी छन् । 

Advertisement

इजरायलबाट आठ वर्षको लामो बसाई र अनुभवपछि स्वदेश फर्किएकी उनी नेपाललाई स्यानेटरी प्याडमा आत्मनिर्भर बनाएर एउटा सफल उद्यमीको पहिचान बनाउन चाहान्छिन् । 

पाँच वर्ष स्यानेटरी प्याड कम्पनीमा काम गरेर अनुभव संगालेकी खनाल भन्छिन्, ‘मैले पैसा कमाउने उद्देश्यले मात्रै यो उद्योग सुरु गरेको होइन् । सामाजिक दायित्व निर्वाह गर्न पनि गरेको हो । प्रत्येक घरका हरेक महिलालाई आवश्यक पर्ने प्याड उत्पादन सर्वसुलभ हुनु जरुरी छ । यस्तो अत्यावश्यक वस्तुको सहज उपलब्धता गराउन सहयोग गर्नु राज्यको पनि दायित्व हो ।’

भारतमा एक हप्ताको तालिम गरिसकेपछि पाँच जना मिलेर ४० लाख रुपियाँ लगानीमा सहयोगी स्यानेटरी प्याड उद्योग सुरु गरेकी थिइन् । खनालले भनिन्, ‘सुरुका दिनमा बनाएका प्याडहरु घाटा खाएर भए पनि पालिकाहरु र विद्यालयहरुलाई निःशुल्क बितरण गर्यौं ।’ 

आफूहरुले स्वास्थ्य मापदण्ड पूरा गरि गुणस्तरीय स्यानेटरी प्याड बजारमा ल्याएको दावी गर्दै उनले आफूहरुले उत्पादन गरेको वस्तु प्रयोग गर्दा कुनै समस्या नआउने बताइन् । कागेश्वरीमा रहेको खनालको उद्योगका उत्पादन नयाँ बानेश्वरस्थित थोक पसलबाट बिक्री गर्ने गरिएको छ । 

खनाल घरेलु महिला उद्यमी संघको केन्द्रीय सदस्य पनि हुन् । उनी भन्छिन्, ‘कोही पनि महिना अवसरको अभावका कारण विदेशिन बाध्य नहुन भनेर सीपमूलक तालिम पनि दिँदै आएका छौं । यसले उनीहरुलाई आत्मनिर्भर हुन सहयोग पुगेको छ । 

सुरुका दिनमा आफूहरुले बनाएको स्वदेशी ब्राण्ड बिक्री गर्न पसल पसलमा पुग्दा विदेशी कम्पनीका सप्लायर र पसलेबाट हप्की र धम्की सहनुपरेको सुनाउँदै खनालले अहिले भने कुनै दिन २० लाख पिसको अर्डर पुर्याउन मुस्किल हुने गरेको सुनाइन् । 

उनले भनिन्, ‘नेपालमा नै स्यानेटरी प्याड उद्योग खेलेर बजारसम्म पुर्याउन सके आयात घट्ने भएकाले सम्बन्धित् निकायमा गएर मानिसहरुलाई भेट्यौं । मेसिन खरीद गर्न आर्थिक सहयोग कतैबाट भएन् । ऋण पनि कसैले दिएन् । मेशिनको मूल्य दुई करोड थियो । कोरोना महामारीका कारण दुई बर्ष लगाएर सानो मेसिन ल्याउन सकियो ।’ 

सबै पालिकाहरुका विद्यालयका लागि सरकारले स्यानेटरी प्याडका लागि बजेट छुट्टाउने गरेको छ । नगरपालिकाहरुले विद्यालयका लागि ३० लाख रुपियाँ र काठमाडौं महानगरपालिका विद्यालयमा छ करोड बजेट विनियोजन गरेको भए पनि सम्पूर्ण विद्यालयमा निःशुल्क प्याड सुविधा नपुगेको खनालले बताइन् । अहिले नेपालमा विदेशी बहुर्राष्ट्रिय कम्पनीका प्याडको डोमिनेशन हुँदा स्वदेशी प्याडलाई बजार लिन निकै संघर्ष गर्नुपर्ने अवस्था छ । 

Advertisement

Advertisement