काठमाडौं । नेपालमा पछिल्लो समय महिलाहरु आत्मनिर्भर हुने क्रम बढ्दो छ । बिहान बेलुका घरधन्दामा व्यस्त हुने उनीहरु दिउसो भने उद्यमशीलताको बाटो रोज्न थालेका छन् ।
हाल पुरुषको दाँजोमा साना महिला उद्यमीहरुको संख्या ठूलो बनिसकेको छ । स्थानीय तहदेखि विभिन्न खाले संघसंस्थाहरुले पनि महिलाहरुलाई सीप सिकाउने र तालिम दिने क्रम बढ्दा महिलाहरु आर्थिक क्रियाकलापमा बढी सक्रिय हुन थालेका हुन् ।
यसरी नै उद्यमशीलतामा लागेको महिलाहरुको एउटा समूह हो काभ्रेस्थलीको सात जनाको महिला समूह । स्थानीय तहबाट तालिम पाएपछि मखमल र ढाकाको जुत्ता चप्पल उत्पादनलाई व्यवसायिक रुपले सञ्चालनमा ल्याएका उनीहरुले अहिले राम्रो सफलता पनि पाउँदै गएका छन् ।
समूहकी एक सदस्य अस्मिता अर्यालले महिलाहरु घरभित्रको काममा मात्रै सीमित भएर घरव्यवहार चल्ने अवस्था नरहेकाले आफूहरु मिलेर ‘कालीदेवी लघुउद्योग’ सञ्चालनमा ल्याएको बताइन् । उनीहरुले उद्योग सञ्चालन गर्न थालेको एक बर्ष भयो ।
उद्योगमा महिलाहरुले हातले नै बुनेर विभिन्न खाले जुत्ता चप्पल बनाउँछन् । मेसिन प्रयोग नगरी उत्पादन हुने सामग्री बलियो र टिकाउ पनि हुने भन्दै अर्यालले यस्ता जुत्ता चप्पल कम आकर्षण देखिए पनि गुणस्तरीय हुने बताइन् ।
तर अहिले मानिसहरुले बढी आकर्षण खोज्ने भएकाले आफूहरुले हातले बनाएका उत्पादन कम बिक्री हुने समस्या रहेको उनको गुनासो छ । अब मेशिन खरीद गरी उत्पादन बढाउँदै लैजाने आफूहरुको योजना रहेको अर्यालले जानकारी दिइन् ।
कालीदेवी लघुउद्योगका उत्पादन स्थानीय उपभोक्तामा नै खपत हुने गरेको छ । केही मात्रामा साना पसलहरुबाट पनि बिक्री हुने गरेको बताउँदै उनले अब ग्राहकहरुको मागअनुसार नयाँ डिजाइनका जुत्ता चप्पल बनाउँदै जाने बताइन् ।
महिला समूहको उद्योगले एक जोर जुत्ता चप्पलको २५० देखि छ सय रुपियाँसम्ममा बिक्री गर्दै आएको छ । बिक्री भएका जुत्ता चप्पलबाट आएको पैसा अझै पनि उद्योग विस्तार र पूर्वाधार निर्माणमा खर्च भइरहेको सुनाउँदै उद्यमी अर्यालले उद्योगमा एक लाख रुपियाँभन्दा बढी लगानी भइसकेको सुनाइन् ।
उनले भनिन्, ‘महिनामा त्यस्तै चार हजारदेखि ४० हजार रुपियाँसम्मको जुत्ता चप्पल बिकेको छ । अहिले त आर्थिक मन्दीले होला, बिक्री नै कम छ । माग नै कम छ । उत्पादन कम भएको छ ।’ जुत्ता चप्पल जसले पनि बनाउँछु भनेर हुने कुरा होइन् भन्दै अर्यालले यसका लागि निकै समय खटिनुपर्ने, मेहनत चाहिने बताइन् ।
खटिएअनुसारको प्रतिफल पाउन निकै गाह्रो रहेको उनको अनुभव छ र अर्यालले भनिन्, ‘श्रमअनुसार उत्पादनले उचित मूल्य पाउँदैन् । बजार खोज्न सहज छैन् । सुरुमा नै निकै चुनौति भयो सामान बिक्री गर्न ।’