रेमिट्यान्स २४.२ प्रतिशतले बढ्यो, नौ महिनामा ९ खर्ब ३ अर्ब भित्रियो

Advertisement

काठमाडौं । चालु आर्थिक वर्षको नौ महिनामा विप्रेषण (रेमिट्यान्स) २४.२ प्रतिशतले बृद्धि भएको छ । 

राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आव २०७९/८० को नौ महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी प्रतिवेदनमा रेमिट्यान्स २४.२ प्रतिशतले वृद्धि भई रु.९०३ अर्ब ३९ करोड पुगेको छ । अघिल्लो वर्षकोसोही अवधिमा विप्रेषण आप्रवाह ०.२ प्रतिशतले घटेको थियो । 

Advertisement

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.९ प्रतिशतले वृद्धि भई ६ अर्ब ९२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १.८ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ५१.५ प्रतिशतले वृद्धि भई ३,८७,८३९ पुगेको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ५.५ प्रतिशतले वृद्धि भई २,१७,९५९ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १९९.९ प्रतिशतले बढेको थियो।

समीक्षा अवधिमा खुद ट्रान्सफर २२.८ प्रतिशतले वृद्धि भई रु.९९६ अर्ब ८८ करोड पुगेको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ०.४ प्रतिशतले घटेको थियो ।

Advertisement