सहकारी अभियान भूमरीमा पर्यो, अर्थतन्त्रको एउटा खम्बामा धमिरा लाग्योः दुवाडी

Advertisement

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले अर्थतन्त्रको एउटा महत्वपूर्ण खम्बामा धमिरा लागेको टिप्पणी गरेका छन् । 

सहकारीसम्वन्धी एक कार्यक्रममा मंगलबार उनले सहकारी अभियान भूमरीमा परेको बताए । दुवाडीले भने, ‘सहकारीहरुले के कस्तो काम गरेका छन् ? के कस्तो कमी कमजोरी छन् ? आत्म समीक्षा गर्नै बेला भएको छ । अर्थतन्त्रमा ठूलो योगदान पुर्याएको क्षेत्र अहिले आफैं ठूलो समस्यामा छ । यसले अर्थतन्त्रमै ठूलो असर पुर्याउनसक्छ । यस विषयमा हामी सबै सजग बन्नुपर्छ ।’

Advertisement

सदस्यहरुले पनि आफ्नो भूमिका निर्वाह गर्नुपर्ने दुवाडीको सुझाव छ । उनले सहकारी क्षेत्रमा लामो समयदेखि समस्या रहेको बताउँदै विगतका अभ्यासहरुबाट पाठ सिकेर पनि अगाडि बढ्नुपर्ने बताए । दुवाडीले भने, ‘अहिले सबैलाई समस्या छैन । आफूले आफूप्रति विश्वास गरौं । यो गम्भीर सवाल हो । अर्थतन्त्रको उतारचढावले पनि असलमा पनि खराब मनसाय सिर्जना हुनसक्छ । संस्थाले राम्रो भनेको कर्जा पनि खराब निस्कन सक्छ । त्यसैले हरेक विषयममा गम्भीर भएर निर्णय लिनुपर्छ । धेरै आन्तरिक समस्या छन् ।’

उनले थपे, ‘सहकारीमा मुद्दती निक्षेप राख्ने छैन, तर हामीले डबल पैसा दिन्छौं भनेर पैसा ल्याऔं । ब्याजको लोभमा फसाउँदै गयौं । तीन वर्षमा पैसा डबल दिने संस्था संसारमै कतै भेटिन्छन् ? यो अवस्था आउनुमा दोष कस्को ?’

सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरेले सहकारीको खोल ओडेर बदमासी गर्नेलाई कानुनी कारबाही गरेर छाड्ने बताए । उनले सहकारीको प्रभावकारी नियमनका लागि  बैशाख मसान्तभित्रै ऐनको मस्यौदा सार्वजनिक गर्ने बताउँदै अब सहकारी देखाएर गलत गर्नेलाई कारवाही गरेरै छाड्ने बताए  । 

घिमिरेले यस्ता कार्यक्रमले सहकारीको वर्तमान सकसलाई समाधान गर्न भूमिका खेल्ने उनको भनाई छ । ‘जनताको बचत जे सर्तमा राखेका थियौं, सोही शर्त बमोजिम फिर्ता गर्नु पर्ने हाम्रो दायित्व हो, त्यो दायित्व राज्यको पनि हो, बचत फिर्ता गर्न सकेनौं भने ठूलो समस्या सिर्जना हुन्छ, सहकारीप्रतिको विश्वास टुट्छ, त्यसैले बचत फिर्ताका लागि पहल गर्नुपर्छ,’ उनले भने । 

घिमिरेले अहिले सहकारीमा प्रणालीगत समस्या र अर्को गैरप्रणाली समस्या रहेको बताउँदै सहकारी ऐन र मूल्य मान्यताका अनुसार सहकारीमा समस्या नआउनु पर्ने भएपनि कसरी यो समस्या आयो भन्नेतर्फ केन्द्रीत भएर अगाडि बढ्नुपर्ने बताए । 

उनले भने, ‘सबैले मम गर्नु पर्ने हुन्छ, नियामक निकायको कमजोरीले पनि भन्ने गरिन्छ, त्यसमा केही सत्यता भए पनि समस्या सिर्जना कसरी भयो भन्ने विषयको मनन् गर्नुपर्छ ।’

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष ओमदेवी मल्लले सहकारीमा सदस्यले पनि आफ्नो भूमिका निर्वाह नगर्दा पनि सस्या सिर्जना हुनुको एउटा कारण रहेको बताइन् । उनले सहकारीसँगै सहकारीका सदस्यले पनि सहकारप्रति अनरसिप महसुस गर्नुपर्ने धारणा राखिन् ।

त्यस्तै, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले आफू बिरामी भएर भारत गएको समयमा भागेको भनेर गलत प्रचार भएको गुनासो गरे । उनले आफ्नो महत्वपूर्ण समय सहकारीमै बिताएको र सहकारीको समस्या समाधानका लागि काम गरिरहने धारणा राख्दै आफूमाथि राजनीति भएको पनि जानकारी गराए । 

नेफ्स्कुनका वरिष्ठ उपाध्यक्ष दामोदर अधिकारीले यो गोष्ठीले सहकारीको स्वनियमनका लागि प्रभावकारी प्लेटफर्म बन्न सक्ने विश्वास व्यक्त गरे । उनले सहकारी लोकन्तत्रको पाठशाला भएको र लेखासुपरिवेक्षण समिति सहकारीको आँखा रुपमा हेरिएको चित्रण गरे ।

उनले भने, ‘सहकारीका सदस्यको बचतको सुरक्षाको प्रत्याभूति गराउनका लागि सुपरिवेक्षण समितिको भूमिका महत्वपूर्ण हुन्छ, त्यसका लागि पनि यो गोष्ठी आयोजना गरिएको हो, यो गोष्ठीले सहकारीको लेखा सुपरिवेक्षण समितिलाई थप बलियो बनाउन भूमिका खेल्नेछ ।’

Advertisement

Advertisement