अरुण– ४ कै मोडलमै बनाउनेगरी फुकोट–कर्णाली पनि भारतले लियो

Advertisement

काठमाडौं । अरुण–४ जलविद्युत आयोजना जस्तै मोडलमा फुकोट–कर्णाली जलविद्युत आयोजना पनि भारतले बनाउने भएको छ । 

अर्धजलाशययुक्त यो आयोजनामा लगानी गर्न बिहीबार नयाँ दिल्लीमा सम्झौता भएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मादी र नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालको रोहबरमा सम्झौतापत्रमा हस्ताक्षर र पत्र आदानप्रदान भयो । दाहाल अहिले चार दिने भारत भ्रमणका क्रममा दिल्लीमा छन् । 

Advertisement

भारत सरकारको स्वामित्वमा रहेको एनएचपीसी इण्डिया लिमिटेडले लगानी गर्ने यो आयोजना निर्माणका क्रममा बनाइने कम्पनीमा ५१ प्रतिशत भारतीय पक्षको स्वामित्व रहने छ । पश्चिम सेती र सेती नदी ६ जलविद्युत आयोजना बनाउन भन्दै यसअघि नेपालमा आएको एनएचपीसी ती आयोजना बनाउन असफल भए पनि अहिले फुकोट–कर्णाली बनाउन आउन लागेको हो । 

गत फागुनमा भारतमा भएको नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठकमा फुकोट कर्णाली भारतीय कम्पनीलाई बनाउन दिन नेपाली पक्ष तयार भएको थियो । समझदारीपत्रअनुसार आयोजनाबाट नेपालले मासिक रुपमा २१.९ प्रतिशत निःशुल्क ऊर्जा पाउनेछ । तर आयोजनाबाट उत्पादन हुने बिजुलीको बजार र आयोजना बनाउन आवश्यक ऋणको प्रबन्ध भने एनएचपीसीले नै गर्नुपर्ने छ । 

आयोजनाको बिजुली नेपालमै खपत गर्न प्राथमिकता दिइने, खपत नगरेको अवस्थामा मात्रै निर्यात गर्न सकिने फकोट कर्णालीमा आयोजनाको लाइसेन्स खर्च र अध्ययन र पहुँचमार्ग लगायतमा भएको खर्च आयोजना निर्माण गर्न खोलिने कम्पनीमा विद्युत उत्पादन कम्पनीको शेयर लगानीमा पूँजीकरण गर्न गरिने छ ।

फुकोट कर्णाली जलविद्युत् आयोजना कालीकोटको सान्नीत्रिवेणी गाउँपालिका–१ मा निर्माण हुन लागेको ४८० मेगावाट परियोजना हो । अहिले आयोजनाले सम्भाव्यता अध्ययनको काम अन्तिम चरणमा रहेको जनाइएको छ । 

सिस्नेगडामा १८० मिटर अग्लो बाँध बनाएर १२ किलोमिटरको सुरुङबाट भौतेगडामा बन्ने विद्युतगृहमा खसालिने यो आयोजनामा करिब ९२ अर्ब रुपियाँ लगानी हुने अनुमान गरिएको छ भने पाँच बर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।  
 

Advertisement