मैले सीमा विवाद गम्भीररुपमा राखें, मोदीले पनि स्पष्ट विचार राख्नुभयोः दाहाल

Advertisement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले नेपाल–भारतबीचको सीमासम्बन्धी विषयलाई स्थापित कूटनीतिक संयन्त्रमार्फत् समाधान गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई गम्भीर ढंगले आग्रह गरेको दावी गरेका छन् । 

सोमबार प्रतिनिधिसभा बैठकमा आफ्नो भारतको चार दिने औंपचारिक भ्रमणबारे जानकारी गराउँदै उनले दुई मुलुकबीचको सीमालगायतका थाँती रहेका सबै समस्याहरुको समाधान गरिनेछ भनेर भारतीय प्रधानमन्त्री मोदीले सीमासम्बन्धी हालसम्मका स्पष्ट विचार राखेको पहिलो पटक भएको दावी समेत गरे । 

Advertisement

उनले भारतीय प्रधानमन्त्री मोदीद्धारा संयुक्त पत्रकार सम्मेलनमा व्यक्त सीमासम्बन्धी समस्या समाधान गर्ने अभिव्यक्तीलाई आफूले सकारात्मक अभिव्यक्तिको रुपमा लिएको पनि बताए । दाहालले आफूले भारतीय प्रधानमन्त्री मोदीसँग गम्भीर रुपले सीमा समस्या समाधानका विषयमा कुरा गरेको जिकीर समेत गरे । 

उनले भने, ‘भेटवार्तामा सीमासम्बन्धी विषयहरुमा गम्भीर रुपले छलफल भएको छ । सीमासम्बन्धी विषयलाई स्थापित कूटनीतिक संयन्त्रमार्फत् समाधान गर्न भारतका प्रधानमन्त्रीलाई मैले गम्भीर ढंगले आग्रह गरेको छु । यहाँहरुलाई थाहा नै छ । प्रधानमन्त्री मोदीजीले पनि संयुक्त प्रेस मिटको अवसरमा सीमालगायतका थाँती रहेका सबै समस्या समाधान गरिनेछ भन्ने कुरा स्पष्ट शब्दमा राख्नु भएको छ । लामो समयपछि भारतीय प्रधानमन्त्रीबाट सीमा सम्बन्धि विषयमा स्पष्ट विचार आएको यो पहिलो र सकारात्मक अभिव्यक्ति हो ।’

प्रधानमन्त्री दाहालले भारतीय प्रधानमन्त्री मोदीले सीमा समस्या समाधानका लागि आफू गम्भिर भएर लागिपर्ने बताउनु भएको पनि संसदलाई जानकारी गराए । 

Advertisement