विकासमा चीनसँग सहकार्य गर्नसकिन्छः कोइराला, बीआरआईबाट लाभ लिनुपर्छः पोखरेल

Advertisement

काठमाडौं । नेपाली काँग्रेसका नेता शशांक कोईरालाले नेपालले विकासको क्षेत्रमा चीनसँग सहकार्य गर्न चाहेको बताएका छन् । आइतवार राजधानीमा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हाइयानसहितको टिमसँगको अन्तरक्रियामा उनले चीनले विकासको क्षेत्रमा नमूना काम गरेको बताए । 

नेपाली काँग्रेस पनि चीनसँग विकासको सहकार्य अघि बढाउन इच्छुक रहेको बताउँदै कोइरालाले चीनको आर्थिक विकास पनि प्रशंसायोग्य रहेको बताए । उनले भने, ‘नेपाल र चीन नजिकका मित्र हुन् । नेपालमा चीनले विकास, पुनःनिर्माण, शिक्षा, स्वास्थ्यको क्षेत्रमा उल्लेख्य सहयोग गर्दै आएको छ । चीनसँग हामी विकासको सहकार्य गर्न इच्छुक रहेका छौँ । तपाइँहरुले पाउनुभएको अनुभवबाट हामीले सिकेर कामहरु अघि बढाउन आवश्यक छ । नेपालमा कोभिड १९ र भूकम्प जाँदा चीन सरकारले गरेको सहयोगका लागि धन्यवाद दिन चाहन्छु । कोरोना कालमा चीन सरकारले स्वास्थ्य सामग्रीहरु धेरै नै उपलब्ध गराएको थियो । नेपाल चीनसँग सहकार्य र सम्बन्ध अझै बिस्तार गर्न चाहन्छ ।’

Advertisement

नेता कोइरालाले चीनसँग जोडिएका परियोजना अघि बढाउन सरकारले प्राथमिकतामा राखेर जानुपर्ने बताए । 

यस्तै, नेकपा एमालेका महासचिव शंकर पोखरेलले बीआरआई अन्तर्गतका परियोजनाहरु छिटोभन्दा छिटो कार्यान्वयन गर्न सरकार तत्पर हुनुपर्ने बताए । चिनियाँ कम्युनिष्ट पार्टी र नेपाली कम्युनिष्ट पार्टीहरुबीचको छलफलका क्रममा उनले बीआरआईका सन्दर्भमा नेपालले गरेको सहमतिअनुसार परियोजना पहिचान गर्नेकुरामा आफूहरु पछि परेको उनले बताए । 

पोखरेलले परियोजना पहिचानको विषय सरकारले प्राथमिकतामा राख्नुपर्ने बताए । उनले नेपाल र चीनका बीचमा उच्चस्तरमा भएका भ्रमणले दुई पक्षीय सम्बन्धलाई बलियो बनाएको बताए । पोखरेलले विकासको चरणमा रहेको नेपालले बीआरआईबाट लाभ लिनसक्ने प्रशस्त सम्भावना रहेको रहेको जिकिर गरे । 

बीआरआईले नेपाल र चीनलाई सडक, रेल, हवाई तथा सञ्चार प्रविधिबाट जोड्ने उद्देश्य राखेको बताउँदै पोखरेलले ठूला पूर्वाधार विकासको जग हाल्दै गरेको नेपालका लागि हिमालय वारपार बहुपक्षीय सम्पर्क सञ्जाललाई प्राथमिकतामा राखेर अघि बढाउनुपर्ने बताए । उनले कोभिड १९ का बेलामा बन्द भएका उत्तरी सीमानाकाहरु नियमित सुचारु गर्न पनि आग्रह गरे । 

पोखरेलले भने, ‘खासगरी बीआरआईका सन्दर्भमा नेपालले गरेको सहमतिकै सन्दर्भमा परियोजना पहिचान गर्नेकुराहरुमा हामी पछाडि परेका छौँ । सरकारले पनि यो विषयलाई प्राथमिकताका साथ अघि बढाउनुपर्दछ । नेपाल र चीनका बीचमा उच्चस्तरमा भएका भ्रमणहरुको आदानप्रदानले दुई पक्षीय सम्बन्धलाई बलियो बनाएको छ । चिनियाँ विकास परियोजना बेल्ट एण्ड रोड इन्सेटिभको अंग भइसकेको सन्दर्भमा त्यसअन्तर्गतका परियोजनाहरु छिटो भन्दा छिटो कार्यान्वयन गर्न सरकार तत्पर हुनुपर्दछ ।’ 

उनले थपे, ‘विकासको चरणमा रहेको नेपालले बिआरआईबाट लाभ लिनसक्ने प्रशस्त सम्भावना रहेको छ । यसमा विलम्व नगरीकन परियोजनाहरुको छनोट, तिनको शिघ्र कार्यान्वयन गर्दै अगाडि बढ्न आवश्यक छ । बिआरआईले नेपाल र चीनलाई सडक, रेल, हवाई तथा सञ्चार प्रविधिबाट जोड्ने उद्देश्य राखेको छ । आजको प्रविधि र विकासको युगमा अति नै महत्वपूर्ण छ । ठूला पूर्वाधार विकासको जग हाल्दै गरेको नेपालका लागि यो हिमालय वारपार बहुपक्षिय सम्पर्क सञ्जाललाई प्राथमिकतामा राखेर अघि बढाउनुपर्छ । कोभिड १९ का बेलामा बन्द भएका उत्तरी सीमानाकाहरु नियमित सुचारु गर्न म महामहिम उपमन्त्रीज्युमार्फत चीन सरकारलाई आग्रह गर्न चाहन्छु ।’

महासचिव पोखरेलले नेपाल र चीन बीचको भूगोललाई चुनौति नभइ अवसरका रुपमा लिएर अघि बढ्न, सबै नाकालाई आवागमन र व्यापारका लागि सहज बनाउनसके दुई पक्षीय सम्बन्धलाई फाराकिलो बनाउने बताए । उनले चिनियाँ प्रतिवद्धताका कार्यक्रमहरु छिटो कार्यान्वयन भएको आफूहरुले हेर्न चाहेको बताए । 

Advertisement

Advertisement