आयात घट्दा पनि १० महिनामा रु.  १२ खर्ब चार अर्ब व्यापार घाटा, निर्यात पनि घट्यो

Advertisement

काठमाडौं । चालु आर्थिक बर्षको पहिलो १० महिना (वैशाखसम्म)मा व्यापार घाटा १२ खर्ब चार अर्ब ४२ करोड रुपियाँ रहेको छ । यद्यपि यो गत आर्थिक बर्षको सोही अवधिको तुलनामा १५.९ प्रतिशत कम हो । 

अघिल्लो बर्ष पहिलो १० महिनामा व्यापार घाटा २४.९ प्रतिशतले बढे पनि यस पटक भने बाह्य क्षेत्रको प्रभाव र आर्थिक मन्दीले गर्दा व्यापार घाटा कम देखिएको हो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ९.८ प्रतिशत पुगेको छ । 

Advertisement

यस बर्ष वैशाखसम्म कुल वस्तु निर्यात २४.५ प्रतिशतले घटेर एक खर्ब ३० अर्ब ९० करोड रुपियाँको निर्यात भएको छ भने कुल वस्तु आयात १६.८ प्रतिशतले घटेर १३ खर्ब ३५ अर्ब ३२ करोड रुपियाँ रहेको छ । निर्याततर्फ सबैभन्दा ठूलो हिस्सा भारतमा ३३.६ प्रतिशतले निर्यात घटेको छ । निर्यात बढेका वस्तुमा जिंक सिट, पार्टिकल बोर्ड, अलैंची, ऊनी गलैंचा, पोलिष्टर धागो छन् भने घटेका वस्तुमा सोयाविन तेल, पाम तेल, पिना, लत्ताकपडा, सुनचाँदी छन् । 

समीक्षा अवधिमा भारततर्फ १५.१ प्रतिशतले आयात घटेको छ भने चीनतर्फ २१ प्रतिशतले घटेको छ । बाँकी मुलुकमा भने १८.६ प्रतिशतले आयात घटेको छ । आयात बढेका वस्तुमा रासायनिक मल, स्पोन्ज आइरन, सुन, पेट्रोलियम पदार्थ, कागजलगायत छन् । सवारी साधन खर यसको पार्टपुर्जा, एमएस बिलेट, औषधि र अन्य मेशिनरी साधनको आयात भने घटेको छ ।  

Advertisement